विमानस्थल विस्तारको बाटो खुल्योः पहिलो किस्ता २ करोड निकासा

मुआब्जा दिन चाहिने ४८ करोड,माग ४० करोड,विनियोजन १० करोड,निकासा २ करोड

जुम्ला । कर्णाली प्रदेशको सबैभन्दा बढी यात्रुको चाप हुने जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । वर्षौदेखि स्तरोन्नति हुने भनिएपनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो । चालु आर्थिक वर्षभित्र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको थियो । विगतमा पनि बजेट विनियोजन नभएका होईनन् । कार्यान्वयन नभएपछि एयरपोर्ट विस्तार हुन्छ भन्ने कुरा जुम्लाबासीले आसै मारिसकेका थिए ।

तर सरकारले जग्गा अधिग्रहणका लागि पहिलो किस्ता बापत दुई करोड रुपैयाँ निकासा दिएसंगै विमानस्थल विस्तारको बाटो खुलेको प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले बताईन् । चन्दननाथ नगरपालिकाको मेयर हुदैँ देखी विमानस्थल विस्तारका लागि जुटेकी सांसद सेजुवालले वर्षौपछि जग्गा अधिग्रहण गर्न पहिलो किस्ता २ करोड निकासा भएकोमा खुसी व्यक्त गरिन् ।

उनले भनिन,‘विमानस्थल विस्तारका लागि अन्य राजनीति दलका प्रतिनिधिको पनि पहल छ । तर मेरो २०७४ देखिको संघर्ष छ । ढिलै भएपनि स्तरोन्नतिको सुखद सुरुवात भएको छ । गत वैशाख ९ गतेनै अर्थबाट निकासा भईसकेको रहेछ । विनियोजन भएको भन्दा निकासा कम भएको थाहा पाएपछि अर्थ र नागरिक उड्यन प्राधिरकणमा पदाधिकारीबीच चर्काचर्की समेत भयो । तर विनियोजित बजेट जसरी पनि आउँछ ।’

चालु आवका लागि विनियोजन भएको १० करोड एकै मुष्ठ पठाउने भनिएको थियो । तर सबै ठाउँका विमानस्थलमा निकासा दिनुपर्ने भएकोले पहिलो किस्ता २ करोड निकासा भएको र बाँकी बजेट एक डेढ महिनाभित्रै निकासा हुने समेत सांसद सेजुवालले उल्लेख गरिन् ।

यो महिनाभित्र बाँकी ८ करोड निकासा गर्नका लागि सबै पक्षसंग छलफल भईसकेको छ र क्यानले विवरण पठाउन भनिसकेकोले क्यानबाट बजेटको मागको पत्र अर्थमा पठाउने तयारी छ ।

विमानस्थल विस्तारको विषय लामो समयदेखि चर्चामा रहेपनि परिणाम नदेखिएपछि नागरिकले विश्वासनै गर्न छाडेका थिए । बजेट विनियोजन हुँदा,केही प्रक्रिया पुरा हुँदा जुम्लाका सांसदहरुले श्रय लिन गर्ने होडबाजीले नागरिक आजित भईसकेका छन् । तर नेकपा माओबादी केन्द्रकी सांसद छिरिङ ल्यामु लामाले पनि आफु सांसद भएदेखीनै पहल थालेको दाबी गरेकी छन् । जसले पहल गरेपनि विमानस्थल स्तरोन्नति हुनु सुखद पक्ष भएकोले श्रय लिन तर्फ नभई परिणाममुखी काम गर्नतर्फ ध्यान दिन जुम्लाबासीको सुझाब छ ।

१८३ रोपनी जग्गा अधिग्रहण हुने
२०५१ सालमा निर्माण भएको जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ टर्मिनल भवन निर्माण तथा धावन मार्ग विस्तार लगायतका पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गरिने छ । विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहणका गर्न एक अर्बको लागत अनुमान गरिएको छ । जसमा मुअब्जाका लागि ४८ करोड आबश्यक पर्ने अनुमान छ ।

तर सांसद कान्तिका सेजुवाल लगायतका नेताहरुले चालु आवमा ४० करोड बजेट विनियोजन गर्न माग गरिएको थियो । तर अर्थ मन्त्रालयले भने चालु आर्थिक वर्षमा कार्यान्वयन हुने गरी जुम्ला विमानस्थलका लागि १० करोड स्रोत सुनिश्चित गरेको थियो ।
तर अर्थले वैशाख ९ गते अर्थले सिधै नागरिक उड्यन प्राधिकरण जुम्लाको खाता जाने गरी दुई करोड निकासा गरेको छ ।

सांसद सेजुवालले भनिन,‘बाँकी ८ करोड बजेट विनियोजन गर्न लगाउन म लागि परेकी छु । विनियोजन पनि हुन्छ । हाम्रो लामो समयको पहल र प्रयासपछि माथिल्लो कर्णालीको जनजीवन र पर्यटनको आधार मानिएको जुम्ला विमानस्थल विस्तार अघि बढेको हो ।’

जुम्ला विमानस्थल विस्तारका लागि सांसद कान्तिका सेजुवालसंगै ज्ञानेन्द्र बहादुर शाही,छिरिङ ल्हामु लामा,विनिता कठायत लगायतका सरोकारवालाको प्रयास रहेको छ । ६७० मिटर लामो धावन मार्गलाई १ हजार ५० मिटरसम्म लम्बाई बढाउने लक्ष्य राखिएको छ । जसका लागि धावनमार्गको पूर्वपट्टी १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ ।

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो । पहिलो किस्तामा आएसंगै जग्गा अधिग्रहणको काम सुरु हुने छ । केही समय अघिनै नापी मालपोतबाट अधिग्रहण गर्ने जग्गाको कित्ता काँट भईसकेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस