जुम्ला । मुगुको खत्याड गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महादेव मष्टा नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । गाउँपालिकाभरीबाट सहभागी १२ वटा विद्यालय मध्यबाट उत्कृष्ट खेल प्रर्दशन गर्दै महादेव मष्टा नमुना माध्यमिक विद्यालय प्रथम भएको हो ।
प्रथम हुने विद्यालयले स्वर्ण पदक ८ वटा,रजत ५ वटा र कास्य २ वटा पदक गरी प्रथम हुन सफल भएको महादेव मष्टा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रतन बहादुर शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता जेठ १५ र १६ गते संचालन भएको थियो ।

प्रधानाध्यापक शाहीको नेतृत्वमा गएको महादेव मष्टा नमुना माध्यमिक विद्यालयले सांस्कृति तथा खेलकुदमा पालिकाकै उत्कृष्ट प्रर्दशन गरेको हो । महादेव मष्टा नमुना माध्यमिक विद्यालय शाहीलाई प्रअका रुपमा पाएपछि विभिन्न रचनात्मक गतिविधि समेत संचालन हुदैँ आएका छन् ।
यस्तै प्रतियोगितामा लोकप्रिय माध्यमिक विद्यालय गम्फा दोस्रो,महादेव मावि ह्याङ्घलु तेस्रो भएको छ । पालिकामा नयाँ खेलाडीको उत्पादन तथा सम्भावनाको उजागर गर्न नियमित रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले बताए । त्यसैगरी प्रतियोगितामा सरिता रोकाया,प्रमुख प्रशासकीय अधिकृत चेतन खत्री लगायतको सहभागिता रहेको थियो ।



