जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यमा रहेको मालिका आधारभुत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना गरिएको छ । कला घर जुम्लाको सहजीकरणमा स्थापना भएको यो पुस्तकालयले बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।
विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतले विद्यालयमा पुस्तकालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै यसले समाजमा असल ज्ञान र सीप सिकाउन मद्दत गर्ने बताए । उनले पुस्तकालय निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा चन्दननाथ नगरपालिका जुम्लाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले ज्ञान हासिल गर्न पुस्तकालय अपरिहार्य भएको उल्लेख गर्दै यसले विद्यार्थीमा पढ्ने बानी विकास गर्ने बताए ।
वडा नम्बर १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले पुस्तकालयलाई अझ राम्रो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले विद्यालयमा आउने कुनै पनि कार्यबोझ हटाउन तयार रहेको र शिक्षा तथा स्वास्थ्य सफल हुनु जरुरी रहेको धारणा राखे ।
नगर उपप्रमुख रामदेवी खडकाले युवाहरूले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै पुस्तकालयलाई दीर्घकालसम्म टिकाइ राख्न सहयोग गर्ने आश्वासन दिइन्। उनले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने बताए ।
नगर प्रमुख राजुसिंह कठायतले पुस्तकालयले शिक्षाको ज्योति बाल्न मद्दत गर्ने भन्दै स्वस्थ बालबालिका सुपोषित हुनुपर्नेमा जोड दिए । स्थानीयस्तरमा यस्तो पुस्तकालय स्थापना हुनु ज्ञान, सीप र अध्ययन संस्कृतिको विकासका लागि महत्वपूर्ण मानिएको छ ।



