जुम्लामा भित्रिए साढे ४ करोड लगानीमा १० विद्युतीय भ्यान,वाताबरण संरक्षणमा टेवा पुग्ने आशा

जुम्लामा असार २६ गतेबाट संचालनहुने गरी भव्य स्वागत गरिएका विद्युतीय भ्यान । तस्बिरः कर्णाली मिसन

जुम्ला । जुम्लामा पहिलो पटक विद्युतीय भ्यान भित्रिएका छन् । वातावरणको संरक्षण संगै यात्रुलाई सस्तोमा सेवा उपलब्ध गराउने उदेश्यले जुम्लामा पहिलो पटक विद्युतीय सवारी साधन भित्र्याइएको हो ।

तिला कर्णाली यातायात प्रा.लीले असार २६ गतेदेखी संचालनमा ल्याउने गरी १० वटा विद्युतीय भ्यान एकैसाथ जुम्लामा भित्र्याएको हो । जुम्लामा ल्याइएका विद्युतीय भ्यानलाई विहिबार स्थानीयले बाजागाजा सहित भव्य स्वागत समेत गरेका छन् ।

करिब ३२ किमी दुरी टाढा पश्चिम नाग्म बजारबाट जुम्ला बजार सम्म विद्युतीय भ्यान (ईभि)लाई बाजा गाजा गरेर ल्याइएको छ ।
कुनै समय विद्युत अभावले क्याण्डिल बालेर आन्दोलनमा उत्रिने जुम्लामा विद्युतको विकास र विस्तारको उपलब्धी स्वरुप विद्युतीय भ्यान जुम्लामा आईपुगेका छन् । जुम्ला जस्तो कठिन भूगोलमा पनि विद्युतीय भ्यान भित्रिनुले विद्युतको विकासले फड्को मारेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।

नेपालमा विस्तारै बजार लिदै गरेको ईभि जुम्ला भित्र्याउन सफल तिला कर्णाली यातायात प्रा.लीले छोटो दुरीमा जुम्ली जनतालाइ सस्तोमा सेवा उपलब्ध गराउने बताएको छ । तिला कर्णाली यातायात प्रा.लीका अध्यक्ष पदम बहादुर भण्डारीले जुम्लामा करिब चार करोड ५९ लाख ५० हजार लगानीका १० वटा विद्युतीय भ्यान भित्र्याइएको बताएका छन् ।

जुम्लामा बढ्दो बायू प्रदुषण र नागरिकले सहजै सेवा नपाएको समस्यालाई मध्यनजर गर्दै हामीले पहिलो चरणमा १० वटा ईभि ल्याएका छौ । उनले भने,‘प्रति भ्यान ४५ लाख ९५ हजार मुल्य परेका छन् । यो हिसाबले साढे ४ करोड बढीको लगानी छ । अब जुम्लाको छोटो दुरीमा नियमित संचालन गरिने छ । भने विगतको भन्दा भाडादर उल्लेखीय रुपमा घट्ने अपेक्षा छ ।’

विगतमा चल्दै आएका इन्धनबाट चल्ने गाडि कम्पनि सँग साटफेर गरेर अपुग रकम थप गरेर विद्युुतिय भ्यान ल्याइएको छ । एक पटक पूर्ण रुपमा चार्ज गरेपछि २ सयदेखी ३ सय किलोमिटर सम्म गुड्ने क्षामता रहेको छ ।

जुम्लाको बसपार्क,नाग्म बजार, र नाग्म–गमगडी सडक अन्तरर्गत गुठिज्यूला बजारमा चार्ज स्टेशन निर्माणको तयारी भईरहेको छ । विशेषगरी पछिल्लो समय जलवायू परिवर्तनका कारण वायू प्रदुषण बढ्दै गएपछि प्रदुषणको रोकथाम तथा वाताबरणलाई स्वच्छ राख्न र नागरिकलाई आरामदायी सेवा दिन ईभि ल्याइएको छ ।

पहिलो चरणमा १० वटा ईभि ल्याएपनि छिटै्र थप १० वटा ईभि जुम्ला भित्र्याउने तयारी तिला कर्णाली यातायात प्रा.लीले गरेको छ । जुम्लामा करिब एक मेघावाट क्षामताको चुकेनी जलविद्युत आयोजना संचालनमा छ । भने २०७८ सालबाट ११ केभीएको राष्ट्यि प्रशारण लाईन जुम्लामा पुगेको छ ।

विद्युतको विस्तार संगै विद्युतीय गाडीनै जुम्लामा भित्रिनुले जुम्ला विकासको अग्रपक्ती पुगिरहेको अनुभुति भएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए दिगो कति हुन्छन्,खर्चिलो कति छ भन्ने कुराले ईभिको भविष्य निर्धारण गर्छ । उनले भने,‘मर्मत संभार जुम्लामै गर्ने प्रबन्ध गर्नु पर्छ । भने ईभिको सेवालाई भरपर्दो विश्वासिलो बाउन ध्यान दिनुपर्छ ’

जुम्लामा विद्युतीय गाडी पुगेपछि भाडा गर्ने र सहज यात्रा गर्न पाईने आशा गरिएको तातोपानी गाउँपालिका वडा नं. २ का स्थानीय हर्केश दमाईको अपेक्षा छ । उनले भने,‘कर्णालीमा चल्ने अधिकांश गाडी पुराना छन् । धूलो धुँवा धेरै फाल्छन् । कुनै समय सडक र गाडीको कल्पना नगरिएको जुम्लामा विद्युतीय सवारी पुग्नुनै रुपान्तरण र विकास हो । अब निकै सहज हुने आशामा छौ ।’

वाताबरण संरक्षणमा टेवा पुग्ने विश्वास
जुम्लामा पहिलो पटक विद्युतीय सवारी भित्रिएपछि वाताबरण संरक्षणमा थेवा पुग्ने विश्वास गरिएको छ । कर्णाली राजमार्गमा गुड्ने अधिकांश सवारी निकै पूराना भएको र ती सवारीले पाल्ने धुँवाले वाताबरण प्रदुषित हुनुका साथै खेतीपातीमा समेत प्रत्यक्ष असर गरेकाले विद्युतीय सवारी भित्रिनुलाई वाताबरण संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको हो ।

ईन्धनबाट गुड्ने सवारीबाट निस्कने धुँवाकै कारण कर्णाली राजमार्ग छेउछाउँका स्याउ बगैचा देखी तरकारी खेती नष्ट हुदै गएको छ । गाडीबाट निस्कने धुँवाले स्याउका बोट सुक्ने र तरकारी बाली सुरुपमा राम्रो लाग्ने तर बीचमै सुकेर नष्ट हुने समस्या स्थानीयले भोग्दै आएका छन् ।

यसको तथ्य अनुसन्धान नभएपनि गाडी चल्न थालेदेखी सडक छेउमा स्याउ खेतीदेखी तरकारी खेती नष्ट हुन थालेको किसानको अनुमान छ । भने स्याउ बगैचाकै कारण हराभरा हुने वाताबरण पनि सुक्दै गएको छ । पूराना थोत्रा सवारीबाट निस्कने धुवाबाट प्रदुषित बातारण संंरक्षणका लागि विद्युती भ्यानको आगमन निकै स्वागत योग्य भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी बताउँछन् ।

‘जुम्लाको वाताबरण प्रदुषित हुनु, विनास हुनुका मुख्य दुई कारण छन्–पहिलो अव्यवस्थित सडक निर्माण, दोस्रो पुराना सवारीबाट निस्कने धूँवा’,उनले भने,‘अव्यस्थित सडक निर्माण गर्न त रोकिएको छैन् । तर जुम्लामा विद्युती सवारी भित्रिनु वाताबरण संरक्षणका हिसाबले निकै महत्वपूर्ण छ । यसको दिगो संचालनमा सबैले जोड दिन जरुरी छ ।’

सवारीको चाप बढेसंगै कर्णाली राजमार्गको छेउछाउमा विगतमा हुने स्याउ खेती देखी तरकारी खेती अहिले हुनै छोडेको छ । राष्ट्यि प्रशारण लाईन विस्तार भईसकेकाले यहाँको वाताबरण जोगाउन स्थानीयतह,देखी जुम्लाका सबै यातायात व्यवसायीले विद्युत सवारी संचालन गर्नुपर्ने कृषि विज्ञ अधिकारीको जोड छ । तिला कर्णाली यातायात प्रा.लीले जुम्लादेखी मुगु, कालिकोट, नाग्म, कनकासून्दरी सम्म गुड्ने गरी विद्युतीय सवारी ल्याएको छ । यसले वाताबरण संगै भाडादर पनि केही सस्तो भएको छ ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस