जुम्ला । कर्णाली प्रदेशको सुर्खेतपछि यात्रु चाप हुने जुम्ला विमानस्थल स्तरोन्नतिको लागि वर्षेनि बजेट निकासा भएपनि काममा विलम्ब हुदैँ गएको छ । जग्गा अधिग्रहण,मुआब्जा वितरणका लागि सांसदहरुको पहलमा बजेट निकासा भएपनि क्यानकै ढिला सुस्तीले काम परिणामुखी हुन सकेको छैन् ।
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा अन्य पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण गर्न कूल ५० करोड लागत लाग्ने अनुमान गरिएको छ । काम सुरु गर्न जत्तिनै ढिला गर्यो,उतिनै जग्गा अधिग्रहण तथा मुआब्जा रकम बढ्दै जाने देखिन्छ । वर्षौदेखी विमानस्थल विस्तारका नाममा बजेट निकासा हुदैँ आएपनि काम भने हुन सकेको छैन् ।
यदपी बजेट निकासा हुने क्रम भने चलिरहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा सबै गरी १० करोड विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि पुनः ४ करोड निकासा भएको प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले बताईन् । २०७४ को निर्वाचनपछि चन्दननाथ नगरपालिकाको मेयर हुदा देखीनै विमानस्थल विस्तारका लागि जुटेकी सेजुवा अहिले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य छन् ।
सांसद भएदेखीनै निरन्तर पहल गरिरहेकी सेजुवाल भन्छन,‘वर्षौदेखी विमानस्थल विस्तारका कुरा मात्रै उठ्ने काम नहुने समस्या देखिएपनि अब आगामी आवबाट काम सुरु हुन्छ । तेस्रो किस्ता सम्म गरेर १४ करोड विनियोजन भईसकेको छ । अब जग्गा अधिग्रहण र मुआब्जा वितरणको कामले गति लिने अपेक्षा छ ।’
चालू आर्थिक वर्षभित्र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको थियो । आगामी आवका लागि ४ करोड विनियोजन भएको छ । जुन बजेट पछिल्ला वर्षमा विस्तार हुने देशभरीका एयरपोर्ट मध्य बढी हो ।
जुम्ला विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा वितरणको बाँकी प्रक्रिया केही दिनमा प्रगतिशील रूपमा अघि बढेको छ । सबैगरेर १४ करोड रुपैयाँ निकासा हुने प्रक्रियामा छ । यदपी कुल अनुमानित लागत भने ५० करोड रुपैयाँ रहेको छ ।

सांसद सेजुवालले थपिन,‘निकासा भएको १४ करोडबाट सम्पूर्ण मुआब्जा एकैचोटि वितरण गर्ने कि किस्ताबन्दीमा दिने भन्ने विषयमा छलफल जारी छ । साथै बाँकी रहेको रकमको व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड बैठकको प्रतीक्षामा छौ । अब क्यानले पनि विशेष प्रथामिकता दिएर काम गर्ने भनेकोले विमानस्थल विस्तारले गति लिने आशा पलाएको छ ।’
१८३ रोपनी जग्गा अधिग्रहण हुने
२०५१ मा निर्माण भएको जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ टर्मिनल भवन निर्माण तथा धावनमार्ग विस्तार लगायत पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । विमानस्थल विस्तारको चर्चा २०७४ यतादेखी चलेपनि अहिले सम्म काम भने हुन सकेको छैन् । तर बजेट भने आईरहेको छ ।
विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । विमानस्थल विस्तार तथा पूर्वाधार निर्माणका १८३.८० रोपनी जग्गा अधिग्रहण गर्न एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा मुआब्जा वितरण मात्रै ५० करोड गर्नुपर्ने छ । पहिलो चरणमा मुआब्जा दिएर जग्गा अधिग्रहण नगरी काम अघि बढ्ने अबस्था छैन् ।
त्यसैले जग्गा अधिग्रहणको प्रक्रिया संगै मुआब्जा रकम व्यवस्थापनका लागि सांसद सेजुवाल लगायत अन्य सांसदहरु खटिरहेका छन् । यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले माननीय कान्तिका सेजुवालको अथक प्रयासले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले भने,‘बाङ्गो टिंङ्गो कुरा लगाउने केही मित्रहरुले तर्क विर्तक गरेको देखिन्छ । जसले जे अर्थ लगाएपनि जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुग्दै छ । आगामी श्रावण दोस्रो हप्ताबाट बाँकि प्रक्रिया अगाडि बढाउने तिर पनि जिल्लाका सरोकारवाला लागि परेका छौ ।’
माथिल्लो कर्णालीको जनजीवन र पर्यटनको आधार मानिएको जुम्ला विमानस्थल विस्तारमा सबैको हातेमालो हुन जरुरी रहेको छ । हाल ६७० मिटर लामो धावनमार्ग लाई एक हजार ५० मिटर लम्बाइको बनाउने लक्ष्य छ । त्यसका लागि धावनमार्गको पूर्वपट्टि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो ।



