जुम्लामा साढे ७ हजार उद्योग दर्ता,१५ सय उद्योग बन्द

जुम्ला । जुम्लामा उद्योग बन्द क्रम बढ्दै गएको छ । अनुदानको लोभमा धमाधम उद्योग दर्ता गरेपनि पछि अनुदान पाउन छोडेसंगै उद्योग बन्द हुने क्रम बढेको हो ।  च्याउ जस्तै वर्षेनी दर्ता हुने उद्योगले नत प्रशोधन तथा उत्पादन गर्न सकेका छन् । नत रोजगारी सृजनामै टेवा पुराएका छन् ।

जुम्लामा निर्वाहमुखी, नाफामुखी, व्यावसायीकमैत्री र उत्पादनमुखीभन्दा अनुदानमुखी उद्योग बढी छन् ।
अनुदान लिन उद्योग दर्ता गर्ने र अनुदान सकिएसँगै उद्योग बन्द गर्ने प्रवृत्तिले नत उत्पादन वृद्धि भएको छ । नत रोजगारी सृजना बृद्धि भएको छ ।

टाँठाबाठाले उद्योग दर्ता गर्ने र राज्यको अनुदान पचाउने शिवाय अरु कुनै काम नभएको छैन् ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्यांक अनुसार हाल जुम्लामा एक हजार ५ सय ३५ वटा उद्योग बन्द अबस्थामा रहेको छ ।

हालसम्म जुम्लामा कूल ७ हजार ६८२ वटा उद्योग दर्ता रहेका छन् । जसमा उद्योग उत्पादन तर्फ ४ हजार ४१७ र बाणिज्य उद्योग तर्फ ३ हजार २६५ उद्योग दर्ता रहेका छन् ।जसमध्य हाल ६ हजार १४७ उद्योग मात्रै संचालनमा रहेका छन् ।

त्यसमा पनि उत्पादनमुखी उद्योग दर्ता भएका ४४ सय १७ उद्योगमध्य भने ३ हजार ६९ उद्योग संचालनमा हुँदा १३ सय ४८ उद्योग बन्द भएका छन् ।त्यस्तै बाणिज्य उद्योग तर्फ जम्मा दर्ता भएका ३२ सय ६५ उद्योग मध्य ३ हजार ७८ उद्योग संचालनमा छ । भने १ सय ८७ वटा उद्योग बन्द भएका छन् । यसरी हाल सम्म १५ सय ३५ उद्योग बन्द भएका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले अनुदान पाउन छोडेसंगै धमाधम उद्योग बन्द हुन थालेको बताए । उनले भने,‘विगतमा अनुदान नेता कार्यकर्ताले भनेकै भरमा पाईने भएपछि उद्योग दर्ता गरे । अहिले अनुदानमा कडाई भएको छ । अनुदान पाउन छोडेपछि उद्योगमा ताल्चा लागेका छन् । पछिल्लो समय उद्योग खारेजनै गर्ने क्रम पनि बढेको छ । त्यसको एकिन तथ्यांक निकाल्दै छौ ।’

कुल दर्ता उद्योग मध्य १५ सय बढी उद्योग उत्पादन प्रशोधनको कुनै काम नगरी अनुदान अनुदान पाउने आशमा अहिले बन्द अबस्थामा रहेका छन् । भने अनुदान पाउने आसानै नरहेका उद्योगहरु उत्पादन बिनै सरकारलाई राजश्व बुझाउनु पर्ने भएपछि धमधम बन्द गर्न थालेको प्रमुख योगीले उल्लेख गरे ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जिल्लाको उद्यमशीता विकास,उत्पादन बृद्धि र प्रशोधनलाई प्रभावकारी बनाउन बास्तविक उद्यमीलाई लगानी बढाउनु पर्ने बताए । उद्यमीका नाममा अनुदान पचाउनेलाई नियमन गर्न संयन्त्रनै खडा गर्नुपर्नेमा समेत उनले जोड दिए ।

यता उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पूरिचन्द्र देवकोटाले अनुदानमुखी उद्योगलाई नियमन गर्न अनुगमन तथा निरिक्षणलाई प्रभावकारी बनाउनु पर्ने बताए । उनले  अनुसार राम्रो गर्ने उद्योगीलाई प्रोत्साहन गर्ने र अनुदान मात्र पचाउन उद्यमी बन्नेलाई कारबाही प्रक्रियामा लिनु पर्नेमा जोड दिए ।  

प्रदेश सरकारले नविकरणमा राजश्व बृद्धि गर्नु,आर्थिक मन्दी हुनु र अनुदानमा आधारित उद्योग स्वतह बन्द हुने प्रबृत्तिले उद्योग खारेजी बढ्दै गएको छ ।तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै २०३ वटा उत्पादनमुखी उद्योग दर्ता भएका हुन् । गत वर्षमा दुई सय उद्योग दर्ता हुँदा ८१ वटा उत्पादनमुखी उद्योग खारेज भएका थिए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले विभिन्न शिर्षकमा यस वर्ष कूल एक करोड ४२ लाख ६ हजार ७२० रुपैयाँ राजश्व संकलन भएको छ । भने कार्यालयले सिलाई कटाई,उद्योग प्रर्बद्धन,हाउस वायरिङ,राडीपाखी बुनाई,आधारभूत ब्यूटिपार्लर ड्राईभ तालिम,मार्वल बिछ्याउने लगायतको तालिम संचालन गरिएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस