ठेकेदारले बैंक ग्यारेण्टी नबुझाउँदा एकीकृत भवन सञ्चालनमा ढिलाई, भाडाकै घरमा कार्यालय

जुम्ला । जुम्लामा निर्माण भएको कर्णाली प्रदेशकै पहिलो एकीकृत भवन सञ्चालनमा आउन सकेको छैन । जिल्लाका चार वटा कार्यालय एकै भवनबाट सञ्चालन गर्ने लक्ष्यसहित भवन निर्माण गरिएपनि अझै सञ्चालनमा नआएको हो । सदरमुकाममा बनेको पाँच तले पक्की भवन निर्माण सकिए पनि सञ्चालनमा नआउँदा कार्यालयहरु भाडाकै साँघुरा घरबाट सेवा दिन बाध्य छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलगायत चार वटा कार्यालय एकीकृत भवनबाट सञ्चालन गर्ने भनिएको थियो । साथै भवनको पाँचौ तलामा कर्मचारी आवास सञ्चालन गरिने भनिएपनि निर्माण भएको सञ्चालनमा नआएपछि कार्यालयहरुले लाखौं रकम भाडामै खर्च गरिरहेका छन् । करिब चार वर्ष लगाएर निर्माण सम्पन्न भएपनि भवन सञ्चालनमा विलम्ब भएको छ ।

सदरमुकामको सेन्टरमा एकीकृत भवन निर्माण भएकाले भौगोलिक रुपमा अग्लो स्थानमा भएका नापी र मालपोत कार्यालयलाई एकीकृत भवनमा सार्नुपर्ने कुरा चलेको थियो । डाँडामा भएको नापी मालपोत कार्यालयमा वृद्ववृद्वालाई असहज हुने भएकाले एकीकृत भवनमा सार्ने र भाडाका कार्यालयलाई नापी र मालपोतमा सार्ने विषय पनि चर्चामा आएको थियो ।

तर अहिलेसम्म भवन सञ्चालन नहुँदा ती कार्यालय स्थानान्तरणको प्रक्रिया नै सुरु भएको छैन । एकीकृत भवन सञ्चालनमा नआउँदा भाडामा बसेका कार्यालयहरुलाई सेवा प्रवाहमा समस्या भएको छ । सात करोड २४ लाख ३२ हजार लागतमा भवन निर्माण भएको हो । नौ करोड ६८ लाख स्टमेट गरिए पनि निर्माण कम्पनीले ७ करोड २४ लाख ३२ हजार ६५७ रुपैयाँमा ठेक्का लिएको थियो ।

म्याद थपसहित भवन निर्माण सम्पन्न भएपनि निर्माण कम्पनीले बैंक ग्यारेन्टी नबुझाउँदा भवन हस्तान्तरण नभएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

उनले भने, ‘भवनको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । निर्माण व्यवसायीले बैंक ग्यारेन्टी नबुझाउँदा भवन हस्तान्तरण भएको छैन । बैंक ग्यारेन्टी बुझाउन पटक पटक अनुरोध गरेका छौं । तर डाँफे द क्याराभान जेभीले बजेट अभावका कारण बैंकिङ प्रक्रिया पूरा गर्न नसकेको भन्ने बुझिएको छ । हामी चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं ।’

एकीकृत भवन बनेको जग्गा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयकै भएकाले उद्योग तथा उपभोक्ता कार्यालयसहित चार वटा कार्यालय राख्ने भनिएपनि कुन कुन कार्यालय उक्त भवनमा रहने भन्ने टुंगो लाग्न बाँकी छ । निर्माण कम्पनीले बैंक ग्यारेन्टी बुझाउने वित्तिकै कार्यालय सञ्चालनमा आउने खड्काले जानकारी दिए ।

भाडाकै घरबाट सेवा दिन समस्याउद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले एकीकत भवन सञ्चालन नआउँँदा कार्यालयको सेवा प्रवाहमा समस्या भएको बताए । संंघीयता अघि साना घरेलु उद्योग कार्यालय हुँदा आफ्नै भवनमा रहेपनि संघीयता कार्यान्वयनसँगै भाडाको घरबाट कार्यालय सञ्चालन भएको उल्लेख गरे ।

उनले भने, ‘आठ वर्षदेखि हामी भाडाकै घरबाट सेवा दिइरहेका छौं । एकीकृत भवनबाट सेवा दिने कुराले उत्साहित थियौ । साँघुरो कार्यालय भवनबाट सेवा दिँदा असहज भइरहेको छ । भाडामै लाखौं खर्च भइरहेको छ । तर एकीकत भवन सञ्चालनको टुंगो छैन ।’

भाडाको घरमा पर्याप्त कोठा नहुँदा एकै कोठामा ४/५ जना कुर्सी जोडेर बस्नुपर्ने बाध्यता रहेको प्रमुख योगीले उल्लेख गरे । भाडामा बसेका अन्य कार्यालयले पनि एकीकत भवन छिटो सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिएका छन् । निर्माण भएको एकीकत भवन सञ्चालनमा नआउने, भाडाका लागि राज्यको लाखौं रकम खर्च भइरहनु राम्रो नभएको स्थानीयको भनाइ छ

प्रकाशित मिति : २०८२ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस