हुम्लाका एक विरामीको गोठमा बास

गाउँले र आफन्तले कुष्टरोगको अन्धविश्वास, बेवास्थाका कारण पीडामा धनविरे कामी


हुम्ला- सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामी ६ वर्षदेखि जिउनको लागि सङ्घर्ष गर्दै आएका छन् । तर, गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण उनी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आएका छन् ।


कुष्ठरोगले उनी शारीरिक रूपले पूर्ण रूपमा अपाङ्ग बनेका छन् । उनका हात, खुट्टाका औंला बाङ्गो छन् भने शरीर जम्मा भएर हिँडडुल गर्न समेत कठिन भएको छ । गाउँलेको अन्धविश्वासका कारण उनलाई छाउगोठमा राखिएको छ, जहाँ उचित उपचार र हेरचाहको अभाव छ । उनी रातदिन चिसो, भोक र वेदनाको बीच जिउन बाध्य भएका छन् ।


परिवारमा उनी जेठो सदस्य हुन् । सबै भाइहरू छुट्टिएर बसेका छन् । उनको हेरचाहको लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका छन् । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरले टाढै छाउगोठमा राखिएको परिवारजन बताउँछन् । ६ वर्षदेखि एकल जीवन बिताइरहेका कामी रातभरि चिसो, दिनभरि घाम अनि भोको पेट, बिरामीले शिथिल भएका छन् ।
कामीले भने, “मलाई अझै आशा छ, म फेरि स्वस्थ भएर गाउँ फर्कन सक्छु । मेरो सबैभन्दा ठूलो चाहना भनेको फेरि जिउन र समाजमा स्वाभिमानका साथ बसेर जीवन बिताउनु हो ।” उनले थपे “म चाहन्छु, म जस्तो पीडित अरूलाई पनि सरकार र समाजले सहयोग गरुन्, ताकि उनीहरूको जीवन पनि उज्यालो होस् ।”


सिमकोट गाउँपालिकाका वडाध्यक्ष कमल बुढाले आफ्नो वडामा यस्ता खालका बिरामीको उपचार गर्नको लागि सरोकारवाला निकायहरूसँग आग्रह गरेको बताए । उनले भने, “हामीले यस्ता बिरामीको सकेको उपचार गरेका छौँ ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार यस विषयमा बैठकमै छलफल भएको हो । विरामीको उपचारका लागि जनस्वास्थ्य कार्यालयका मेसुलाई निर्देशन गरिएको छ । विरामीलाई जिल्ला अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको छ ।


जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार विरामीको घर मोटर बाटोदेखि एक घण्टा टाढा रहेको छ । एक घण्टाको मोटरबाटो गाडी जानेसम्म बोकेर ल्याउने र त्यसपछि गाडीमा (अस्पताल) उपचारको दायरामा ल्याउने तयारी गरेका छौँ । उनले भने अहिले कुष्टरोग हो की बाथरोगले हो । रोग पत्ता लागेको छैन । अस्पतालमा ल्याएर उपचार परीक्षण गरेपछि मात्रै रोग पत्ता लाग्ने भएको छ । गाउँमा कुष्टरोग भनेता पनि लामो समयसम्म बाथ रोगले गर्दा पनि यस्तो हुन सक्छ । तर उपचार र परीक्षणले मात्रै थाँहा हुने अवस्था छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस