जुम्ला । वर्षातका कारण कर्णाली राजमार्ग उच्च जोखिममा रहेको छ । राजमार्गको दैलेख खिड्की जिउलादेखि कालीकोटको तिलागुफा नगरपालिकाको गाल्जे बजारसम्म उच्च जोखिममा छ । राजमार्ग उच्च जोखिममा रहेकाले सचेतपूर्ण तरिकाले यात्रा गर्न सुरक्षा निकायाले सुझाव दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले सूचना प्रकाशित गर्दै राजमार्गको खाँडाचक्र नगरपालिका– ३ को गल्लीमा पहिरो झरिरहेकाले सावधानीपूर्ण यात्रा गर्न अनुरोध गरेको छ । चट्टानी भाग पूरै फुटेकाले लगातार पहिरो झरिरहेको छ, अति आवश्यक भएमा मात्र यात्रा गर्न सुझाव दिएको छ ।
यात्राको समयमा पहिरोको अवस्था हेरेर सचेतपूर्ण तरिकाले यात्रा गर्नु जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । राजमार्गको गगने खोला, कालेखोला, हुल्म बजार, गल्ली, गाल्जे लगाएतका ठाउँमा पहिरो झर्ने गरिरहेको छ । राजमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो झर्ने गरेको छ भने सडक हिलाम्मे भएकाले पनि वर्षातको समयमा राजमार्गको यात्रा कष्टपूर्ण छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर रावतले राजमार्ग लामो समय बन्द भने हुन नदिएको बताए । ‘‘हामी निरन्तर सडक खुलाउने काममा भएकाले दिनको दुई चार घण्टा अवरोध हुन्छ त्यसपछि सडक खुलाएर यात्रुलाई गन्तव्य तर्फ पठाउने क्रम जारी रहेको छ’’ प्रमुख रावतले भने ।
सडक डिभिजन जुम्लाले पनि पहिरो पञ्छाउने उपकरण स्काभेटर रोलरसहितका साधन परिचालन गरेको छ । प्रहरीले राजमार्ग केन्द्रित गस्ती गरेको छ ।
मानवीय साहयताले सकिने काम प्रहरी र यात्रु स्वयम लागेर गर्छन् । नसकिनेमा स्र्काभेटर प्रयोग गरेर भए पनि राजमार्ग बन्द हुन नदिएको प्रहरी प्रमुखले बताए ।
दुई चार घण्टा बन्द हुनु वर्षातको समयमा पहाडी सडकको खासै अवरोध नभनौं । यस बर्ष बर्षात पनि खासै नभएकाले ठुलो पहिरो भने गएको छैन । पहिराे पन्छाउन मेसिन सहित जनशक्ति तयारी अबस्थामा राखेकाे सडक,डिभिजन जुम्लाका सूचना अधिकारी प्रदिप चाैधरीले बताए ।



