जुम्ला । स्वदेशमा रोजगारी छैन् भन्दै खाडी मुलुक जाने यूवाको संख्या दैनिक बढीरहेको छ । संघीयता कार्यान्वयनपछि स्थानीय सरकारले उपयुक्त रोजगारी सृजना गर्न नसकेपछि कर्णालीबाट कालापहाड (भारत) र खाडी मुलुक जाने यूवाको संख्या बढ्दै गएको छ । राष्ट्यि जनगणना २०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशबाट मात्रै ९४ हजार यूवायूवती विदेशीएका छन् । भने भारत जानको तथ्यांक सरकारसंग छैन् ।
यूवाहरुको विदेश मोह बढीरहेको अबस्थामा जुम्लाका एक यूवाले भने सुविधा सम्पन्न मुलुक जापानको भिसानै त्यागेर व्यवसायीक तरकारी खेतीमा जुटेका छन् । चन्दननाथ नगरपालिका वडा नं.६ छिना गाउँका यूवा सुशील रावल स्वदेशमा सम्भावना छैन, भन्ने तमाम यूवाहरुको बीचमा सुशीलले उदाहरणीय रुपमा गाउँमै व्यवसायीक तरकारी खेती गरेका छन् ।
सुशीलले २०७७ सालमा जापान जाने तयारी गरेका थिए । भाषा सिकेर सबै प्रक्रिया पूरा गरी सकेपछि भिसा प्रक्रिया समेत अघि बढेको थियो । तर एकाएक उनले जापान जाने सोचनै त्यागेर गाउँ फर्किए । गाउँ फर्किएर उनले आफ्नो अध्ययनको सिप र दक्षता सबै व्यवसायीक तरकारी खेतीमा लगाएका छन् ।
चन्दननाथ–६ को छिना ज्यूलोको १२ रोपनी जग्गा लिजमा लिएर व्यवसायीक तरकारी खेती गरेको सुशीलले आफू मात्र आत्मनिर्भर भएका छैनन् । गाउँमा काम विहिन रहेका थप १० जना यूवालाई समेत रोजगारी प्रदान गरेका छन् । जापानको सपना त्यागेर गाउँमै कृषि क्रान्ति गरेका सुशिलको कर्मले सबैलाई हर्षित संगै स्वदेशमै सम्भावना देखाएको छ ।

उनले मौसमी तथा बेमौसमी रुपमा कुरिलो, ब्रो काउली, स्कुस, भेडे खुर्सानी, अकबरे खुर्सानी, डेजिरे, काँख्रा,खुमल सेतो र लोक जातको आलु र टमाटर लगायतका अर्गानिक तरकारी उत्पादन गरिरहेका छन् । भने ओखर र स्याउका ग्राफ्टिङ बिरुवा पनि उत्पादन गर्दै आएका छन् । सुशीलले सुरुमा १० हजार रुपैयाँ लगानी गरी ओखरको बिरुवा उत्पादन सुरु गरेका थिए । अहिले वार्षिक १५ लाख बढीको कारोबार गर्दै आएका छन् । सुशिल व्यावसायिक कृषि कर्ममा जुटेको अहिले सात वर्ष बितिसकेको छ ।
जापानको भिसा त्यागेर गाउँमै व्यवसायीक तरकारी खेती गरिरहेका सुशिलको लोभलाग्दो कृषि कर्मप्रति जुम्लाका सरकारी निकायदेखी सबै उत्साहित छन् । यूवालाई गाउँमै आर्कषित गर्न र उत्पादन संग यूवालाई जोड्न सुशिलले गरेको प्रयास सरानिय रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । उनको व्यवसायीक तरकारी खेतीको विस्तार,उत्पादित तरकारीको बजारीकरणमा सरोकारवालाले सहयोग गर्नुपर्ने उल्लेख गरे ।
१० जनालाई रोजगारी,वार्षिक मनग्य आम्दानी
जापानको भिषा त्यागेर गाउँ फर्किएर व्यवसायीक तरकारी खेतीमा होमिएका सुशिलले गाउँका १० जनालाई रोजगारी दिएका छन् । विगतमा फुर्सदिला भएका ती यूवाहरु दैनिक तरकारी खेतीको मलजल गर्दै रेखदेख गर्दै निकै बेफुर्सदिला बनेका छन् ।
सुशिल भन्छन,‘जापान जाने अन्तिम तयारी थियो । तर अर्काको देशमा श्रम र सिप खर्चिनु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ भनेर गाउँ फर्किए । १२ रोपनी जग्गा लिजमा लिएर स्याउ ओखरका ग्राफ्टिङ विरुवा उत्पादन सुरु गरियो । पछि व्यवसायीक तरकारी खेती थाल्यौ । अहिले आम्दानी राम्रै छ । उत्पादनले बजार लिईरहेको छ ।’
वार्षिक करिब १५ लाख भन्दा बढीको कारोबार भईरहेका छ । उनको कृषि फर्म बाहै्रमास हरियाली देखिन्छ । धेरै प्रजातिका तरकारी लटरम्म फलिरहेका हुन्छन् । उनले मौसमी र बेमौसमी दुवै किसिमको तरकारी खेती गर्दै आएका छन् । प्रेरणाको स्रोत बनेका सुशील र उनका सहयोगी साथीहरू दिनरात कृषि फर्ममै काम गरिरहेका देखिन्छन् ।

सुशील भन्छन्,‘नेपाललाई कृषि प्रधान देश भन्छौँ, तर हाम्रो जस्तो मुलुकमा यो पेसाप्रति समर्पित व्यक्तिलाई सम्मान गरिँदैन । अरूले पनि अनुसरण गरून् भन्ने उद्देश्यका साथ कृषि पेसामा हामी आबद्ध भएका हौँ ।’ सुरुवात आफैँबाट गरौँ, परिवर्तन सम्भव छ भन्ने सोचका साथ कृषि पेसामा लागेको अनुभव सुनाउँछन् । तरकारी उत्पादन गर्न सके बजार व्यवस्थापनको समस्या नहुने उनको बुझाइ छ ।
बजार लिदै तरकारी
सुशिलको फर्ममा उत्पादित तरकारीले बजार लिएको छ । जुम्लाको सबै होटल देखी मण्डीमा तरकारी जाने गरेको छ । हाम्रो उत्पादन बाह्रमै महिना हुन्छ । हिउँदमा टनेल भित्र सबै प्रकारका तरकारी फलाउँछौ ।
उनले भने,‘मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने भएकोले हाम्रो उत्पादनलाई अहिले बजारको समस्या छैन् । सिजनमा राम्रै उत्पादन गरेर माग अनुसारको पुर्ति गर्दै आएका छौ । यदपी, बेमौसमी सिजनमा भने मागनुसारको तरकारी पूराउन मुस्किल हुन्छ ।’

वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गरेर आम्दानी संगै घरखर्च जुटाउन सकिने भएकोले विदेश जार्ने पर्ने बाध्यता नरहेको उनिहरुको कर्मले सन्देश दिएको छ । विदेश जान लगानी गर्ने पैसाले कृषि क्षेत्रमा लगानी गर्न सकेको घरमै बसीबसी मनग्य आम्दानी गर्न सक्ने जुम्लामा प्रशस्त सम्भावना रहेको समेत यूवा रावलको भनाई छ । यूवा केन्द्रित
नीतिको माग
विदेश गएर फर्केका,गाउँमै कृषि उद्यम गर्न चाहने यूवालाई निरब्याजी तथा सहुलियत कर्जा प्रदान गर्नेदेखी विकास निर्माणका योजनामा समेत यूवालाई प्रथामिकता दिने नीति ल्याएका विदेशीने यूवालाई रोक्न सकिने सम्भावना रहेको छ । यदपी वास्तविक कृषि गर्नेहरु सरकारी सेवा सुविधाबाट बन्चित हुने समस्याले पनि निरासा छाएको यूवाहरुको दुखेसो छ ।
स्थानीय सरकारले करोडौको बजेट ल्याईरहँदा यूवालाई पूर्ण रुपमा उपेक्षा गरिएको छ । सुशिलले भने,‘चालु आर्थिक वर्षका लागि मात्रै जुम्लाका आठ स्थानीतहले झण्डै ३ अर्बको बजेट ल्याएका छन् । कृषि,पर्यटन,पूर्वाधार विकासलाई जोड दिएर नीति ल्याएका छन् । तर यूवाका सवाललाई उपेक्षा गरिएको छैन् । नत उत्पादन नत विकास संग यूवालाई जोड्ने नीति छ । कसरी यूवा गाउँमै बस्छन् ?’
स्वदेशमा सम्भावना नदेख्ने,कालापहाड र खाडीकै मुख ताक्ने प्रबृत्तिले यूवा मात्र पलायन भएका छैनन्, देशनै परनिर्भर बनेकोले तीनै तहका सरकारले यूवा केन्द्रित उत्पादनमुखी नीति तथा बजेट ल्याउनु पर्नेमा उनिहरुको जोड छ ।
सुशीलले कृषि विकास कार्यालय जुम्लाको एक लाख अनुदान र आफ्नो एक लाख गरी दुई लाख लगानीमा तरकारी क्षेत्र विस्तार गरेका हुन् । त्यस्तै कृषि प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाबाट स्याउका नर्सरी रुट स्टक बिरुवा उत्पादनका लागि एक लाख ७५ हजार अनुदान प्राप्त गरेका छन् ।



