खेल क्षेत्रलाई नियाेजित रुपमा उपेक्षा गरे अब चुप लागेर बस्दैनाै: अभियान्ता खड्का

जुम्ला । अन्तर्राष्ट्रिय खेलाडी तथा युवा अभियन्ता प्रकाश खड्काले कर्णाली प्रदेश सरकारले खेलकुद क्षेत्रलाई नियोजित रूपमा सिध्याउने खेल खेलेको आरोप लगाउँदै अब युवाहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साेमबार कर्णाली युथ सोसाइटीले सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरेको “समृद्ध कर्णालीका लागि युवा” विषयक प्रादेशिक बहसमा बोल्दै खड्काले प्रदेश सरकार खेलकुद र युवाप्रति गैरजिम्मेवार बनेको बताए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषयलाई उल्लेख गर्दै उनले भने, “कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भनेर थुप्रै तयारी सुरु गरियो र तीन-चारपटक मिति तय गर्दा पनि प्रतियोगिता सफल बनाउन सकिएन । तर खेलकुदको विषयलाई लिएर समग्र कर्णालीको इज्जतमाथि धावा बोल्ने, दाग लगाउने खेल खेलिँदैछ ।”

उनले यसलाई राजनीतिक खेलको संज्ञा दिँदै थपे, “यो राजनीतिक खेल मात्र होइन, यो कर्णालीको खेलकुदको हत्याको रूपमा हामी खेलकुदकर्मीहरूले बुझेका छौँ ।”

खड्काले प्रदेशमा युवा बेरोजगारी र उद्योगधन्दाको अभावप्रति पनि आक्रोश व्यक्त गरे । “यसरी नै खेलकुदलाई हत्या गरिरहने हो भने, कर्णालीका हरेक युवालाई यसरी नै बेरोजगार राखिरहने हो भने, कर्णालीमा अझै एउटा पनि उद्योग कलकारखाना नखोल्ने हो भने अब युवा चुप लागेर बस्ने छैनन्,” उनले भने ।

उनले प्रदेशको पुनर्संरचना प्रतिवेदनमा प्रदेश खेलकुद परिषद् खारेज गर्ने प्रस्ताव गरिएको भन्दै आपत्ति जनाए । “कर्णाली प्रदेशको पुनर्संरचनाको प्रतिवेदनलाई हेर्ने हो भने प्रस्ट रूपमा प्रदेश खेलकुद परिषद्लाई खारेज गर्नुपर्छ र त्यसको सट्टा निजी क्षेत्रको सहलगानीमा यसलाई सञ्चालन गरिनेछ भनेर लेखिएको छ,” खड्काले भने, “खेलकुदकर्मीको हैसियतले म मुख्यमन्त्री र खेलकुद मन्त्रीलाई सचेत गराउन चाहन्छु ।”

त्यस्तै उनले युवाहरू आफ्नो अधिकारका लागि सडकमा आउन तयार रहेको चेतावनी समेत दिए । “अब युवाहरूले आफ्नो अधिकार, न्याय र सहअस्तित्वको लागि भेला सम्मेलन होइन, सडकमा आउन पनि पछि पर्ने छैनन्,” उनले भने ।

‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा कर्णालीका युवाहरूको अवस्था, अवसर र चुनौतीका विषयमा बहस भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस