कर्णालीका ३५ जना कैदीबन्दी अझै सम्पर्कविहीन

जुम्ला – जेनजी आन्दोलनको क्रममा कारागारमा तोडफोड गर्दै २४ भदौँ साँझ भागेका कर्णाली प्रदेशका दुई जिल्लाका ३५ जना कैदीबन्दी अझै भेटिएका छैनन् । रुकुमपश्चिम जिल्लाको कारागारबाट ८८ जना फरार कैदीबन्दी मध्ये ६४ जना प्रहरीको सम्पर्कमा आएपनि २४ जना सम्पर्क विहीन छन् । त्यस्तै जुम्ला कारागारबाट भागेका ४१ जना कैदीबन्दी मध्ये ३० जना प्रहरीको सम्पर्कमा आएका छन् । अझै ११ जना फरार रहेका छन् ।
पाँच महिला र २० पुरुष गरी २५ जना क्षमता भएको रुकुमपश्चिम कारागारमा भदौ २४ गतेसम्म १ सय ५८ जना कैदीबन्दी रहेका थिए । त्यस्तै ८० महिला र १ सय २० जना पुरुष क्षमता भएको जुम्ला कारागारमा भदौ २४ गतेसम्म ९७ जना कैदीबन्दी रहेका थिए ।
स्थानीय प्रशासनले उनीहरुको खोजी कार्यलाई तीब्र बनाए पनि उनीहरु हालसम्म फेला परेका छैनन् । कोही कैदीबन्दीहरु आफैं प्रहरीको सम्पर्कमा आएपनि अधिकांशलाई प्रहरीले पक्राउ गरेर कारागार पठाएको छ । नागरिकलाई उनीको खोजी कार्यमा सहयोग गर्न र सम्पर्कमा आउन प्रशासनले सार्वजनिक सूचना मार्फत अपिल गरेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए ।

प्रकाशित मिति : २०८२ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस