
जुम्ला– नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुस्थित रारा ताल र हुम्लाको मानसरोवर घुम्न आउने पर्यटक बढ्दै गएका छन् । दशैं–तिहारको अवसरमा रारा ताल र मानसरोवर अवलोकन गर्ने पर्यटक बढ्दै गएका हुन् ।
असहज सडक, होटल बासको असुविधा लगायतका समस्याका बीच पनि कर्णालीमा पर्यटक बढ्दै गएका हुन् । रारा आउने पर्यटक स्थलमार्ग हँुदै आउने गरेका छन् । हुम्लाको मानसरोवरमा भने हवाई यात्रामार्फत पुग्ने गरेका छन् । मानसरोवर भ्रमण अवलोकनका लागि भारतीय तीर्थयात्री बढी आउने गरेका छन् । रारा तालमा दशैं र तिहार लक्षित आन्तरिक पर्यटक बढेको रारा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौमा गरी ३ सय ४७ जना पर्यटक रारा ताल पुगेका छन् । जसमा पुरुष २ सय २७ जना र महिला १ सय २० जना रहेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख महेश न्यौपानेले बताए । असहज कर्णाली राजमार्ग, होटल बासको प्रभावकारी व्यवस्थापन नहुँदा पनि राराको सौन्दर्य हेर्न पर्यटकको घुइँचो लाग्ने गरेको प्रमुख न्यौपानेको भनाइ छ ।
उनले भने, ‘रारा ताल समृद्व कर्णालीको आधार हो । यहाँ पर्याप्त पूर्वाधार निर्माणमा राज्यले ध्यान दिन आवश्यक छ । रारा आउने हरेक पर्यटकलाई कर्णालीमा घुम्ने समय लम्ब्याउन, खर्च बढाउनतर्फ अतिथि सत्कारदेखि सञ्चार, पूर्वाधार, खानेपानी र प्रचारमा जोड दिनुपर्छ ।’ निकुञ्ज स्थापनायता गत आवमा सबैभन्दा बढी आम्दानी भएको प्रमुख न्यौपानेले जानकारी दिए ।

रारा तालमा गत आवमा हालसम्मकै बढी १९ हजार १०२ जना पर्यटकले भ्रमण गरेका छन् । जसमा पुरुष १२ हजार ६३३ र महिला ६ हजार १७१ जना रहेका थिए । रारामा पर्यटकको बसाइ लम्ब्याउन आवश्यक पूर्वाधार निर्माणसँगै सडक यात्रा सहज बनाउनुपर्ने रारा घुम्न आएकी पर्यटक बिना रानाले बताइन् । पूर्वबाट कर्णाली घुम्न आएकी रानाले भनिन्, ‘राराको सुन्दरता हेरौं–हेरौं लाग्नेछ । तर, सडक निकै कठिन छ । रारामा राम्रो होटल बास छैन । पर्याप्त बजेट छुट्याएर पर्यटकको बसाइ लम्ब्याउन तिर ध्यान जरुरी छ ।’ एक पटक आएको पर्यटकलाई फेरि फेरि आउने गरी वातावरण बनाउनुपर्नेमा रारा पुग्ने सबै पर्यटकको माग छ ।
मानसरोवर जाने तीर्थयात्री बढी
हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्री उल्लेखनीय रुपमा आउने गरेका छन् । यस वर्षको मानसरोवर यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको हो ।
काठमाडौं, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना संक्रमणपछि भारतीय तीर्थयात्रीको धेरै संख्यामा हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए । एउटा होटलले १० लाखभन्दा बढी कमाइ गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एक–दुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ ।
त्यसैगरी चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि ६ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला पुगेका छन् । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने करिब ६ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
उनले भने, ‘अन्य देशका चार सय ५० जनासहित हुम्लामा ६ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।’
भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट एक हजार १ सय राजस्व संकलन हुँदै आएको छ भने अन्य देशका पर्यटकबाट एक हजार शुल्क लिने गरिएको छ । मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका पाँच हजार ९५७ जनाबाट ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार राजस्व संकलन भएको छ ।