जुम्ला– देशकै उत्कृष्ट पर्यटन गन्तव्य रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक अन्तरर्गत १० मध्ये पाँच वटा पक्की पुल निर्माण भई सञ्चालनमा आएका छन् । निर्माण सुरु भएको करिब पाँच वर्षमा पाँच पुल सञ्चालनमा आएपनि दुईवटा अझै अलपत्र छन् ।
२०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म अझै दुई पुल अलपत्र अवस्थामा छन् । जग्गा विवादका कारणले नाग्म–गमगडी सडकको प्रवेशद्वार बालुवा खोला र कनकासुन्दरी ६ को गोठीज्यूलामा पक्की पुल अलपत्र परेका हुन् । यी दुवै स्थान बाढी पहिरोका कारण निकै जोखिममा छन् । वर्खाको सिजनमा बालुवा खोला र गोठीज्यूला खोलाको काठेपुलमै पानी पुग्छ ।
तर ती दुई क्षेत्रमै जग्गा विवाद भएपछि पुल निर्माण कार्य चार वर्षदेखि अलपत्र छन् । सडक विभागको ३२ करोड लगानीमा नाग्म–गमगडी सडकमा १० वटा पुल निर्माण अघि बढाएको थियो । यीमध्ये हालसम्म पाँच वटा पक्की पुल निर्माण भई सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी प्रदिप चौधरीले बताए । मुगुको पिना, झयारी खोला, हिमाको बाँझगाडँ, रोकायाबाडाको खोलालगायत गरी पाँच वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
यद्दपि, सुरुवातदेखि जग्गा विवादले रोकिएको बालुवा खोला र गोठीज्युला पक्की पुलको विवाद अझै सुल्झिाएको छैन । सूचना अधिकारी चौधरीले भने, ‘बालुवा खोलामा हिमा गाउँपालिकातर्फ पिलर खडा भएको वर्षौं भइसक्यो । पिल्लरका सरियामा खिया लागिसकेको छ । कालिकोटतर्फको जग्गाधनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ्न सकेको छैन । उता गोठीज्यूलामा २५ मिटर लामो पुलको डिजाइन गरिएको थियो । पछि स्थानीयले जग्गा दिन मानेनन् । डिजाइन फेर्ने तयारी भएपनि स्थानीयले जग्गा दिने अवस्था छैन ।’
अलपत्र भएका पुलको काम अघि बढाउन पटक पटक जनप्रतिनिधि तथा जग्गा धनीसँग छलफल भएपनि निष्कर्षविहीन भनेको छ । सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार जग्गाधनीसँग पटक–पटक भएको छलफलमा मुअब्जाको माग गरेपछि कुरा नमिलेको बताए । ‘मुआब्जाको माग राखेकाले पुल निर्माण रोकिएको हो’ प्रमुख चौधरीले भने, ‘म आइसकेपछि पनि तीन पटक छलफल भइसक्यो । तर टुंगो लागेको छैन ।’
कनकासुन्दरीको गोठीज्यूलामा पुल बनाउँदा खत्याड जाने बाटो बन्द हुने र केही घर भत्काउनुपर्ने भएकाले स्थानीयले जग्गा दिन नमानेको प्रमुख चौधरीले उल्लेख गरे । चौधरीका अनुसार अब २० मिटर लामो पुलको डिजाइन फेरेर ५ मिटरमात्रै लामो हुनेगरी निर्माण गर्ने तयारी भएपनि सडक विभागले स्वीकृति दिएको छैन । कुल ३२ करोड लागतमा विभिन्न खोलामा निर्माण भइरहेका अन्य ८ मध्ये ५ वटा पुल सम्पन्न भई सञ्चालनमा आएका छन् भने तीन वटा निर्माणाधिन अवस्थामै छन् ।
पाँच वटा पक्की पुल सञ्चालन भएसँगै नाग्म–गमगडीको यात्रा सहज बन्दै गएको छ । विगतमा खोलामै गाडी चलाउनुपर्ने बाध्यता रहेपनि पाँच वटा पुल सञ्चालनले यात्रा निकै सहज भएको छ । जग्गा विवादले बालुवा खोलामा पुल निर्माण रोकिएपछि हिमा गाउँपालिकाले आफ्नै लगानीमा रारा जाने पर्यटकको राहतका लागि काठेपुल बनाएको छ ।
जसले मोटरसाइकलमार्फत रारा आउने पर्यटक र स्थानीयलाई राहत भएको छ । बालुवा खोलामा मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडानले काम अघि बढ्न नसकेको हो । रावतले गत वर्षको छलफलमा २५ लाखसम्म मुआब्जा दिनुपर्ने माग राखेका छन् । त्यो रकम निर्माण व्यवसायी र सडक डिभिजनले दिन सक्ने अवस्था छैन ।
कालिकाखेतु खोला, बाजागाडा खोला, विष्टबाडा खोला, रोकायाबाडा, पिना खोला र गमगाड खोलाको पक्की पुल निर्माण भइरहेका छन् । २०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि दुई वटा पुल अझै अलपत्र भएकाले म्याद थप्नुपर्ने स्थिति आएको छ । १० वटै पुल निर्माणको ठेक्का एउटै निर्माण कम्पन्नी ‘हिम सगरमाथा कन्स्ट्रक्सनले ३२ करोड लागतमा जिम्मा पाएको छ ।
मौसम प्रतिकुलता, जनशक्ति अभाव, निर्माण सामग्री अभाव, बजेट अभाव तथा कठिन भूगोलका बीच पनि निर्माण कार्यलाई गति दिइरहेको निर्माण कम्पनीको तर्क छ । मुख्य समस्याका रुपमा दुई पुलको जग्गा विवाद निष्कर्षमा नपुग्दा समस्या भएको निर्माण कम्पनीको भनाइ छ । ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडकका विभिन्न खण्डमा पक्की पुल बनेपछि सहज यात्राको अनुभूति गरेका छन् । ९३ किमीमध्ये हाल रोकायाबाडा गोठीज्यूलासम्म ६ किमी मात्रै कालोपत्रे छ । अन्य ८७ किमी अझै धुलाम्य सडक छ ।



