जुम्ला । हिमाली जिल्ला जुम्लामा निर्माणधिन बृहत्त धौलिगाड खानेपानी आयोजनाको पहिलो प्याकेज निर्माण अलपत्र परेको छ । एक अर्ब २६ करोड लागतको बृहत्त धौलिगाड खानेपानी आयोजना निर्माणको पाँच वर्ष बितिसक्दा समेत पहिलो प्याकेजको काम अलपत्र अबस्थामा छ ।
२०६६ सालबाट निर्माण सुरु भएको उक्त आयोजना बीचमा विभिन्न कारणले अधुरो रहेको थियो । २०७८ साल चैत ५ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीद्धारा शिलान्यस गरेपछि ठेकेदारले निर्माण शुभारम्भ गरेको थियो ।
अहिले निर्माण सुरु भएको पाँच वर्ष वितिसक्दा पनि आयोजनाको पहिलो प्याकेजको काम सुरुवातदेखीनै अलपत्र अबस्थामा रहेको छ । दुई प्याकेजमा काम भईरहेको उक्त आयोजना अन्तरर्गत दोस्रो प्याकेजको धारा निर्माण गर्ने, पाईप लाईन विस्तार गर्ने, ट्यांकी निर्माण गर्ने लगायतका काम भईसकेका छन् ।
तर मुख्य मुहान क्षेत्रमा भने अहिले सम्म कुनै काम सुरु भएको छैन् । समुद्री सतहदेखी चार हजार मिटर उचाईमा अबस्थित छ,जहाँ बाह्रै महिनामा अत्यधिक चिसो हुने र मंसिर देखी चैत सम्म हिउँ जम्ने क्षेत्रमा काम नहुँदा आयोजनानै अलपत्र परेको छ ।
मुहान क्षेत्रमा ५१ सय मिटर प्रिईन्सुलेट (पानी नजम्ने) पाईप बिछ्याउने स्टमेट छ । यदपी हाल सम्म पाईप खरिदको टुंगो नलाग्दा पहिलो प्याकेजको काम हुन नसकेको निर्माण कम्पन्नीले बताएको छ ।
प्रिईन्सोलेट पाईप चीन, सिंगापुरमा मात्रै पाईने र खरिदका लागि खानेपानी विभागले स्वीकृती प्रदान गर्नुपर्ने भएपनि पटक पटक स्वीकृती माग गर्दा विभागले वास्ता नगरेपछि मुहान क्षेत्रको काम अघि नबढेको आयोजनाका साईट ईन्जिनियर डिपेश शाहले बताए । धौलिगाड खानेपानी आयोजना निर्माणको ठेक्का ‘कालिका सिएबी कनकाई जेभी’ले पाएको छ ।
निर्माण कम्पन्नीका साईट ईन्जिनियर डिपेश शाहका अनुसार हाल सम्म चार पटक विभागमा पाईप खरिको स्वीकृतीका लागि माग गरिएको छ । उनले भने,‘प्रिईन्सुलेट पाईप खरिद बीना अन्य संरचना बनाएर काम छैन् । खरिदका लागि विभागले स्वीकृती दिएको खण्डको खरिद गरेर नेपाल ल्याउन कम्तीमा ६ महिना लाग्छ । स्वीकृती नपाउँदा मुहानमा काम शुन्य भएको छ ।’
स्वीकृतीका लागि २०८० वैशाख ६ गते पहिलो पटक, २०८१ कार्तिक ६ गते दोस्रो, २०८१ मंसिर १० गते तेस्रो र २०८२ जेठ ६ गते गरी चौथो पटक सम्म स्वीकृतीका लागि विभागमा पत्र पठाइएको छ । तर विभागले कुनै चासो नदिँदा चिसोमा पानी नजम्ने प्रिइन्सुलेट पाईप खरिदमा ढिलाई भएको र पहिलो प्याकेजको काम अलपत्र भएको छ । पाईप खरिदका लागि कुल चार करोड बजेट छुटाइएको छ ।
आयोजनाबाट जुम्लाका गुठिचौर गाँउपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका झण्डै ६० हजार नागरिक लाभान्वित हुने छन् । भने नौ हजार खानेपानी धारा निर्माण हुने छन् । जस हाल सम्म ३ हजार धारा निर्माण भईसकेका छन् ।
कुल एक अर्ब २६ करोड आयोजनाको पहिलो प्याकेजको भौतिक प्रगती ८० प्रतिशत र वित्तिय प्रगती ७६ प्रतिशत भएको छ ।
भने दोस्रो प्याकेजको भौतिक प्रगती ७५ प्रतिशत र वित्तिय प्रगती ६६ प्रतिशत भएको साईट ईन्जिनियर शाहले जानकारी दिए ।
तीन वर्ष अघिबाट निर्माण सुरु भएको आयोजनाको मुहान क्षेत्रमै हाल सम्म कुनै काम भएको छैन् । पहिलो प्याकेजको आगामी फागुन १४ गते र दोस्रो प्याकेजको आगामी मंसिर ११ गते समय सकिदै छ । सम्झौता मिति सकिने समय नजिकीदै गएपनि विभागको स्वीकृती तथा बजेट अभावको कारण देखाउदँै आयोजनाले गति लिन सकेको छैन् ।
अत्यधिक चिसो हुने र बरफ जम्ने धौलिगाडको मुहान क्षेत्रमा पानी नजम्ने प्रिईन्सोलेट पाइप नहाली कुनै काम अघि नबढाउने स्थितीमा निर्माण कम्पन्नी छ । धेरै पटक जिल्लामा भएको छलफलमा मुहान क्षेत्रको काम नगरी,सुरुमै ठेक्का आह्वान गर्दा पाईप खरिद उल्लेख नगर्ने, अहिले विभागले स्वीकृती दिन ढिला गर्ने लगायतका कारणले आयोजना निर्माण अनिश्चित बनेकै भन्दै समन्वय प्रमुख गौरीनन्द आर्चायले निर्माण व्यवसायीको ध्यानर्कषण गराएका छन् ।
आयोजना मेरो पहलमा आएको हो भन्ने होडबाजी चलिरहेका बेला आयोजना अलपत्र अबस्थामा परेको र निकास दिन सबै दल, पूर्व माननीयहरु बेखवर देखिएका छन् । जसका कारण आयोजना अनिश्चितता तर्फ धकेलिएको छ । एकातिर पाईप खरिदको स्वीकृती नपाउनु, अर्कोतिर संघिय खानेपानी कार्यालय जुम्लाबाटै खारेज भएर गएपछि धौलिगाड खानेपानी आयोजना अलपत्र पर्ने संकेत देखिएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले बताए । उनका अनुसार आयोजना सफल बनाउन । खानेपानी कार्यायलय पुर्नस्थापना गर्न कसैको सक्रियता देखिएको छैन् ।



