श्रमदानबाट समृद्ध बन्दै छायानाथ रारा

जुम्ला । कर्णाली प्रदेशको मुगु जिल्ला स्थित छायानाथ रारा नगरपालिकाले थालेको श्रमदान अभियान प्रभावकारी बन्दै गएको छ । राज्यको स्रोत बिनै जनशक्तिको परिचालन गरेर निःशुल्क रुपमा नगरपालिकामा विभिन्न पूर्वाधार बनाउने उदेश्यले थालिएको श्रमदान अभियान प्रभावकारी बन्दै गएको हो ।

साना योजनाका लागि पनि स्थानीय सरकारको मुख ताक्ने नागरिक र आफ्ना कार्यकर्ता रिजाउन टुक्रे योजनामा बजेट छर्ने कर्णाली अधिकांश स्थानीयतहका अगाडी छायानाथ रारा नगरपालिकाले उदारणीय रुपमा श्रमदानबाट दर्जनौ पूर्वाधार निर्माण गरेको छ ।

नगरप्रमुख विष्णु कुमार भामनै श्रमदान अभियानको नेतृत्व गरेर होमिएपछि स्थानीय नागरिकको दरिलो साथ पाउँदा छायाँनाथ रारामा श्रमदानबाटै लाखौका योजना निर्माण भएका छन् । श्रमबाटै नगरपालिका भित्र सुविधायुक्त प्रतिक्षालयदेखी, दर्जनौ खानेपानी धारा, सिँचाई कुलो, पाटी पौवा,मठ मन्दिर,वृक्षारोपण लगायतका पूर्वाधार निर्माण गरिएको छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए । बजेट बिना पनि साना पूर्वाधार बनाउन सकिन्छ भन्ने संस्कारको विकास गर्न र नागरिकलाई श्रमदानमा जोड्ने मुख्य उदेश्य हो ।

नगरप्रमुख भामले भने,‘नगरप्रमुख बनेपछि मेरो एक संकल्प थियो । विकासका ठुला सपनाभन्दा बाड्नु भन्दा जनतलाई भ्रमित गर्नुभन्दा जनताको श्रम मिसाउने स–साना काम गर्नुपर्छ । जनताको हातले बनेको विकास कहिल्यै भत्किँदैन, त्यो दिगो हुन्छ, स्थायी हुन्छ भन्ने मान्यताबाटै श्रमदान अभियान थालेका हौ । मुलत्त अहिले सफल भएको छ ।’


साथै श्रमदान अभियान अन्तरर्गत ‘१ मुख १० रुख’ अभियानबाट हालसम्म ५ हजार बिरुवा रोपिएको छ । वृक्षारोपण अभियानले नगरवासीको सो बदलेको छ । अहिले हरेक नागरिक आफ्नो घर वरिपरि सफा राख्न सचेत भएका छन् । साथै छायानाथ रारा नगरपालिका–३ को थापलचौडमा भर्खरै सुविधायुक्त प्रतिक्षालय निर्माण गरिएको छ । सवारी साधनको पर्खाइमा सधै भिडभाड भईरहने, उक्त स्थानमा बस्ने ठाउँ नहुँदा निकै अप्ठयारो थियो । नगरप्रमुख भामले त्या अप्ठायारोलाई अनुभति गर्दै अहिले श्रमदानबाट प्रतिक्षालय निर्माण भएको छ ।

त्यसैगरी नगरपालिका भरी श्रमदानबाटै ३६ वटा खानेपानी धारा निर्माण गरिएको छ । जुन पालिकाको बजेटबाट बनेको भए करोड बजेट खर्च हुन्थ्यो । तर नगरप्रमुख भामले बगिरहेको स्रोत र जनशक्तिको प्रयोग गरी निशुल्क रुपमा धारा बनाएका छन् । श्रमदानबाटै हरेक वडामा स्वच्छ पानीको पहुँच पु¥याउने लक्ष्य पुरा भएको उनको भनाई छ ।

उनी भन्छन,‘यहाँका दिदीबहिनीहरू बिहानै टुकी बालेर पानीका लागि निकै टाढा हिँड्थे । गाउँमा धारा नहुँदा भोगेको समस्या नजिकबाटै महसुश गरेको थिए । त्यो पीडा मेरो लागि केबल दया होइन, जिम्मेवारी थियो श्रमदान अभियान अन्तरर्गत खानेपानीलाई विशेष प्रथामिकता दियौ । ठेकेदार वा बाहिरी सहयोग होइन, श्रमदानको बाटो रोज्यौँ । जनताले आफैँ पाइप बोके, ढुंगा माटो बोके । आज त्यसैको नतिजा हो, नगरभित्र २६ वटा सार्वजनिक धारा निर्माण भएका छन् ।’

सार्वजनिक धारा निर्माणबाट सुरु भएको श्रमदान अभियान अहिले नगरकै पहिचान बनेको छ । थापलचौडको प्रतीक्षालयपछि सडक, नाला, विद्यालय, टोल र बजारसम्म श्रमदानको संस्कार विकास भएको छ । नगरका युवाहरूले आफ्नो गाउँ, टोल र समुदायमा एकजुट भएर काम गर्न थालेका छन् ।

ईच्छा शक्ति भएको खण्डमा बजेट बिना पनि दर्जनौ पूर्वाधार बनाउन सकिन्छ भन्ने उदाहरण समेत छायानाथ राराले दिएको छ । कर्णालीका ७९ वटा स्थानीयतह मध्य जुम्लाको तातोपानी गाउँपालिका र मुगुको छायानाथ रारा नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । अभियान विस्तारै प्रभावकारी बन्दै गएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस