जुम्लामा उच्च मुल्य कृषि वस्तु उत्थानशील कार्यक्रमको करिडोर कार्यालय उद्घाटन, ६ पालिकामा लागु हुने

जुम्ला । जुम्लामा उच्च मुल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (आर-एचभीएपी) करिडोर कार्यालयको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकार द्वारा संचालन हुने उक्त परियोजनाको कार्यालय कर्णाली प्रदेश सरकारका कृषि मन्त्री विनोद कुमार शाहद्वारा बुधबार उद्घाटन गरिएको हो ।

जुम्ला पुगेका कृषि मन्त्री शाहले बुधबार आयोजित एक समारोहका बीच तीन जिल्ला कार्यक्षेत्र हुने गरी जुम्लामा स्थापना भएको करिडोर कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् ।

कृषि मन्त्री विनोद कुमार शाहले नयाँ परियोजना संचालनले कर्णालीको तरकारी, फलफूल, पशुपालन, दुग्ध विकासका लागि उल्लेखीय काम गर्ने बताए । परियोजना सफल बनाउन र अपेक्षित उपलब्धी हासिल गर्न सबैको समन्वय, सहकार्य हुन जरुरी रहेकोम जोड दिए ।

प्रदेश सभा सदस्य देवेन्द्र शर्माले यस्ता परियोजना आउने जाने क्रम चलिरहने भएकाले स्याउ विकास बोर्ड गठनलाई पूर्णता दिन अनुरोध गरे । 

परियोजनाले अबको सात वर्ष जुम्लाका तातोपानी र गुठिचौर बाहेक ६ पालिकामा कृषि क्षेत्रमा काम गर्ने आ-एचभीएपी करिडोर कार्यालय जुम्लाका प्रमुख सन्तोष भारतीले बताए । उनका अनुसार जिल्लामा एक अभिमुखीकरण कार्यक्रम आयोजना गरी परियोजनाले गर्ने काम बारे विस्तृत जानकारी गराईने छ । 

कार्यालय उद्घाटन संगै कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाही, कृषि सचिव, जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, आरएचभीएपीका कर्णाली प्रदेश संयोजक र जुम्लाका सरोकारवालाको सहभागिता थियो । 

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस