जुम्ला-पर्यटकीय क्षेत्रका रूपमा जुम्लाले चर्चा बटुल्दै छ । यहाँको भूगोल प्राकृतिक रूपमै सुन्दर छ । समथर भूमिको बिच भागमा कञ्चन तिला नदी बगिरहेको छ । यो क्षेत्रमा आउन जोकोही व्यक्ति लालायित हुन्छन् । यहाँका मठमन्दिर, गुम्बा, सुन्दर डाँडापाखा, तालतलैया, सिञ्जा उपत्यका, उत्पादन हुने रैथाने अन्नबाली र स्याउ ओखरले पर्यटकलाई लोभ्याउने गर्छ । गुठीचौर उपत्यका, आकासे ताल, चेरे धिमीचौर, खाली पाटन, गिडीदह (ताल) शंकर झरना, पातारासी हिमाल, विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्युलो यहाँका प्राकृतिक पर्यटकीय क्षेत्र हुन् । कर्णाली प्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यहाँका शैक्षिक पर्यटकीय क्षेत्र हुन् । यिनै ठाउँमा देशभरका विद्यार्थी अध्ययनका लागि आउँछन् । सबैभन्दा गहिरो रारा तालको प्रवेशद्वार जुम्ला पनि भएकाले थप पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । पर्यटन प्रवर्द्धनको मेरुदण्ड सडक सञ्जाल पनि हो । देशभरका पर्यटक नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट हुँदै कर्णाली राजमार्गमार्फत जुम्ला पुग्ने गर्छन् ।
जुम्लामा पर्यटन प्रवर्द्धनका लागि सरकारी तथा निजी तवरबाट थुप्रै प्रयास भएका छन् । जुम्लामा २०२४ सालदेखि स्याउका बिरुवा रोपेर उत्पादन थालिएको हो । यहाँ ४२ सय हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित स्याउ नेपालका ठुला सहरमा पुग्ने गरेका छन् । विशेषगरी, साउन–भदौ स्याउको सिजन हुने भएकाले यहाँ आउने पर्यटक स्याउ बगैँचामा रमाउने गर्छन् । यहाँको विषादीरहित स्याउ ८०–८५ रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ । गत वर्ष ६१ करोड र यस वर्ष ४५ करोडको स्याउ बिक्री–वितरण भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । यहाँको प्रमुख आम्दानीका रूपमा रहेको स्याउको महत्व पर्यटकलाई बुझाउने र आकर्षण गर्नकै लागि चन्दननाथ नगरपालिका जुम्लाले स्याउको सालिक निर्माण गरेको छ । जसलाई एम्पल चोक भन्ने गरिएको छ ।
त्यस्तै, नगरपालिकाले खलंगामा कलात्मक गणेश मन्दिर निर्माण गरेको छ । धार्मिक पर्यटकीय सहर बनाउने उद्देश्यका साथ कलात्मक गणेश मन्दिर निर्माण गरिएको हो । ललितपुर महानगरपालिकाको २० लाख रुपैयाँको सहयोगमा चन्दननाथ नगरपालिकाले गणेश मन्दिर निर्माण गरेको हो । खलंगामै चन्दननाथ नगरपालिका–४ स्थित विशाल पहाडको भित्तामा बौद्ध धर्मावलम्बीहरूले डुडुल चैत्य गुम्बा निर्माण गरेका छन् । यो पनि एक धार्मिक पर्यटन क्षेत्र बनेको छ । बौद्ध धर्मावलम्बीले आफ्नै लगानी र केही सरकारको अनुदानमा एक करोडभन्दा बढी लगानी गरेर गुम्बा निर्माण गरेका हुन् ।
चारैतिरको रमणीय दृश्य देखिने छत्तेलचौर र भगवतीमाईको मन्दिरनजिकै नेपालको विशाल राष्ट्रिय झन्डा निर्माण गरिएको छ । त्यही दृश्य अवलोकन गर्न आन्तरिकदेखि बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । बिदाका दिन त्यहाँ बाक्लो भिड लाग्ने गरेको छ । त्यस्तै, त्यहाँ पहाडको टुप्पोसम्म पुग्ने पाँच सय ६७ फिट लामो रेलिङसहितको ४६५ सिँढी निर्माण गरिएको छ । सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० लाख र चन्दननाथ नगरपालिका–१ वडा कार्यालयको २० लाख गरी ७० लाख बजेटमा नयाँ पर्यटकीय गन्तव्य निर्माण भएको वडाध्यक्ष तिलक न्यौपानेले बताए । उनले भने, ‘दुई आर्थिक वर्षको अन्तरालमा यिनै पर्यटकीय संरचना निर्माण गरिएका छन् ।’
सिञ्जा गाउँपालिका–३, राइक्या डाँडामा पर्यटन प्रवर्द्धनका लागि नेपालको भौगोलिक नक्सा निर्माण गरिएको छ । पर्यटकिय गन्तव्य सिञ्जा उपत्यकालाई थप आकर्षित गर्न विशाल पहाडको भित्तामा नक्सा निर्माण गरिएको हो । सहरी तथा भवन निर्माण आयोजना, जुम्लाको एक करोड रुपैयाँको लागतमा नक्सा निर्माण गरिएको हो । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार यो नक्सा शैक्षिक, पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण छ । उनले भने, ‘केही काम बाँकी रहे पनि पहिलो फेजको काम सम्पन्न भएको छ । बजेट अभावले केही काम बाँकी छ । बजेट व्यवस्थापन गरेर नेपाली झन्डासहित नक्सा निर्माणले पूर्णता पाउनेछ ।’
तातोपानी गाउँपालिका–५ लाम्रा ऐरेनीका ४२ वर्षीय टक्क नेपालीले आफ्नै घरको छतमा राष्ट्रिय ध्वजावाहक हवाईजहाज बनाएका छन् । हेर्दा भर्खरै उड्लाजस्तो देखिने नेपाल एयरलाइन्सको हवाईजहाज आकर्षक देखिन्छ । उनले प्रयोगमा नआएका फलामका टुक्रा संकलन गरेर जहाज बनाएका हुन् । उनी चाइनाबाट सामान ल्याएर आकाशमै उड्ने जहाज बनाउने योजनामा पनि छन् । चाइनाबाट सामान पनि मगाएका छन् । उड्ने जहाजका लागि उनले झन्डै तीन लाखजति खर्चसमेत गरिसकेका छन् । घरको छतमा जहाजको प्रतिमा बनाउन करिब एक लाख रुपैयाँ खर्च गरेका छन् । जब घरको छतमा हावा चल्छ, तब त्यो जहाजको पंखा उड्लाजस्तै गरेर घुम्छ । त्यसमा कुनै इन्धन छैन । तर, वायु ऊर्जाले पंखा घुम्ने गर्छ । उनले कल्पना गरेरै जहाज बनाएका हुन् ।
पहिलोपटक चाइनाबाट सामान ल्याउने कम्पनीको ठगीमा परेर समयमै सामान आएन । दोस्रोपटक पुन: अर्काे कम्पनीमार्फत सामान मगाएका छन् । चाइनाबाट सामान आउन समय लाग्ने भएकाले घरकै छतमा पर्यटक लोभ्याउने हवाईजहाजको प्रतिमा बनाएका हुन् । कर्णाली राजमार्गको लाम्रा ऐरेनी सडक खण्डमा उनको घर छ ।
यस्तै, पर्यटकलाई लोभ्याउन तिला गाउँपालिका–३ कुडारी गाउँका दीपराज भट्टराईले आफ्नो घरको छतमा हेलिकोप्टर बनाएका छन् । कर्णाली राजमार्गको आडैमा उनको घर छ । त्यही घरको छतमा एक लाख ५० हजार रुपैयाँ खर्च गरेर हेलिकोप्टर बनाएका हुन् । भर्खरै उड्लाजस्तो देखिने हेलिकोप्टरभित्र बस्ने सिट पनि छ । सिमेन्ट, गिट्टी, बालुवाको माध्यमबाट दीपराजले हेलिकोप्टर बनाएका हुन् । कर्णाली राजमार्ग आवतजावत गर्ने जोकोही पर्यटकले घरको छतमा आकर्षक हेलिकोप्टर देखिपछि फोटो खिच्ने र रमाउने गरेको दीपराज बताउँछन् । उनले भने, ‘जुम्लालाई पर्यटकीय क्षेत्र बनाउन सहयोग पुर्याउने उदेश्यले घरको छतमा हेलिकोप्टर बनाएको हुँ ।’
सुक्खा सिजनमा चारैतिर उजाड देखिने जुम्ला यतिवेला कृत्रिम रूपमा निर्माण गरिएका हेलिकोप्टर, हवाईजहाज, स्याउको सालिक, नेपाली झन्डा, नक्साले आकर्षक देखिएको छ ।



