समन्वय प्रमुख आर्चायको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ती 

जुम्ला । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चालय समग्र पत्रकारिता क्षेत्रलाई लक्षित गरी दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आपत्ती जनाएको छ ।

मंसिर १९ गतेको एक ओैपचारिक कार्यक्रममा समन्वय प्रमुखले प्रसंग बिनै जुम्लाका पत्रकाहरु ठेकेदारहरु भनेर दिएको अभिव्यक्ति प्रति महासंघले आपत्ती जनाउदैँ विज्ञप्ति सार्वजनिक गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रम लगायत अन्य कार्यक्रमहरु ठेक्का जसरी पत्रकारले चलाउने गरेको भन्दै पत्रकार ठेकेदार हुन भन्ने अभिव्यक्ति दिएका थिए । दिगो पोष्ट सम्पादक लोकेन्द्रराज गिरीले विकास निर्माणबारे राखेको प्रश्नमा आक्रोसित हुदैँ जवाफ दिईरहेका प्रमुख आर्चायले प्रसंग मोडेर पत्रकार लक्षित कुरा गरेका थिए । पत्रकार ठेकेदार हुन भन्ने तथ्यहिन कुराको प्रमाणित गर्न समन्वय ज्युलाई नेपाल पत्रकार महासंघले चुनौती दिएको छ ।

यस्तो छ  प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्ला श्रमजीवि पत्रकारहरुको छाता संगठन हो । महासंघले पत्रकारहरुको पेशागत सुरक्षा र वकालत संगै नागरिकलाइ सुसुचित गर्ने, सार्वजनिक चासोका सवालमा पैरवी तथा वकालत गर्दै आएको कुरा सर्वविधिदै छ ।

संचार जगतले नागरिकलाई सुसूचित गर्नुका साथै सुशासनका लागि सरोकारवाला निकायलाई खबरदारी पनि गर्दै आइरहेको छ । तर, पत्रकारहरु हरेक क्षेत्रको समाचार लेख्दा होस वा बहस तथा पैरवी गर्दा विभिन्न हिसाबले असुरक्षित हुने गरेका छन् । समग्र पत्रकारिता पेशा माथि आँच आउने गरी बेला बेला आक्रमण भईरहेका छन् । 

त्यसको ज्वलन्त उदाहरण मंसिर १९ गते जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक ओैपचारिक कार्यक्रममा सोही कार्यक्रममा प्रमुख अतिथि तथा समन्वय प्रमुख गौरीनन्द आचार्यले सार्वजनिक ठाउँमै पत्रकारहरुलाई  ´ठेकेदार` को संज्ञा दिएका छन् । 

कार्यक्रममा पत्रकार दिगो पोष्टका सम्पादक लोकेन्द्र राज गिरीले जिल्लाको विकास निर्माणको अनुगमन र शुन्य परिणाम बारे सोधेको प्रश्न प्रति आक्रोसित हुँदै प्रमुख आचार्यपत्रकार माथिनै खनिए ।  प्रसंग विनै प्रश्नको जवाफ भन्दा पनि नियोजित रुपमा विषयान्तर गरी ओैपचारिक कार्यक्रममा पत्रकार  होईनन् ठेकेदार हुन् भनेर दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ जुम्लाको गम्भीर ध्यानकर्षण भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ अनुसार, सरकारी सेवाको गुणस्तर मापन, पारदर्शिता कायम, नागरिकको आवाज सुन्ने र प्रत्यक्ष जवाफदेहिता सुनिश्चित गर्न तेस्रो पक्ष मार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।  सोही व्यवस्थानुसार स्थानीयतह संग समन्वय गरी संचारगृहले सार्वजनिक सुनुवाई गरिरहेको तथ्यलाई मोडेर पत्रकार जगतलाई नै हेप्ने प्रवृत्ती देखाई नियोजित रुपमा ठेक्का जसरी कार्यक्रम चलाउने गरेको भनि लगाएको आरोप प्रति महासंघ गम्भीर आपत्ती प्रकट गर्दछ ।

कानुनी व्यवस्था नबुझी जिल्लाकै अभिभावक तथा जिम्मेवार व्यक्तिले हचुवाका भरमा दिने गैरजिम्मेवार अभिव्यक्तिले भ्रम फैलाउन मद्दत गरेको यसमा पत्रकार ठेकेदार हुन भन्ने तथ्यहिन कुराको प्रमाणित गर्न समन्वय ज्युलाई नेपाल पत्रकार महासंघ चुनौती दिन्छ । 

साथै आगामी दिनहरूमा  सार्वजनिक कार्यक्रममा होस् वा अरु बेला पत्रकारिता संग जोडिएका विषयमा तथ्यहिन  अभिव्यक्ति नदिन समेत सबैमा अनुरोध गर्दछौ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस