तिलाका चार वडालाई जोड्न रिङरोड निर्माण हुँदै

जुम्ला । भौगोलिक हिसाबले जिल्लाकै विकट जुम्लाको तिला गाउँपालिकाका चार वटा वडालाई जोड्ने रिङ रोड निर्माणलाई तिब्रता दिईएको छ । भूगोलमा हिसाबले विकट तिलाका चार वटाका वडाका दर्जनौ बस्तीलाई यातायातको पहुँचमा पूराउन रिङ रोड निर्माण गर्न थालिएको हो ।

सांसद विकास कोष र प्रदेशको क्रमागत बजेट अन्तरर्गत तिला गाउँपालिका वडा नं. ६,७,८ र ९ लाई कर्णाली राजमार्गसंग जोडिएको वडा नं. १ मा जोड्ने रिङ रोड निर्माण भईरहेको तिला गाउँपालिकाका प्रवक्ता जंग रोकायाले बताए । तिला–६ का वडाध्यक्ष समेत रहेका रोकायाले तिलाका दुर्गम बस्तीलाई यातायातको पहुँचमा जोड्न प्रयास भईरहेको उल्लेख गरे ।

उनले भने,‘भूगोल निकै ठुलो छ । बस्तीहरु पहाडका टुप्पा, डाँडापाखामा छरिएका छन् । ती बस्तीलाई यातायातको पहुचमा पुराउन सडक निर्माणनै आबश्यक छ । तिलाका चार दुर्गम वडालाई सडक पुराउनु सबैभन्दा बढी चुनौती थियो । अब त्यो चुनौती पार गर्दै छौ । छिटै तिलामा सबै वडा जोड्ने सडक बन्ने छ ।’

रिङ रोड अन्तरर्गतकै चालु आर्थिक वर्षमा घाडे–सुडि जोड्ने सडक निर्माण भईरहेको छ । वडा नं. ७ को घोडे वडा नं. ९ सुडि जोड्ने सडक निर्माण सुरु भएको छ । बाँकी वडाको सडक गत आर्थिक वर्षमै निर्माण भईसकेको । घोडे र सुडिको दुरी झण्डै ७ किलोमिटर बढी रहेपनि करिब ८ सय मिटर नयाँ ट्याक खोल्न मात्रै बाँकी रहेको र उक्त काम सुरु भएको प्रवक्ता रोकायाले जानकारी दिए ।

चार वडा जोड्ने रिङ रोड सडक निर्माणका लागि विभिन्न चरणमा बजेट आएको छ । जसमा आ.ब २०७९÷०८० मा ५० लाख, आ.व २०८१÷०८२ मा १ करोड, सुडिदेखि घोडे तर्फ निर्माण गर्न अघिल्लो वर्ष ४० लाख र चालु आवमा घोडेदेखी सुडि तर्फ निर्माण गर्न ५० लाख बजेट विनियोजन भएको थियो । अघिल्ला वर्षको बजेटले लक्ष्यअनुसारको काम भईसकेको छ ।

उक्त सडक निर्माणका लागि आ.ब.२०८१÷०८२ को संसद कोष बाट जुम्ला प्रदेश (ख)बाट निर्वाचित टेक राज पछाईले १ करोड छुटाएका थिए । भने बाँकी बजेट प्रदेश सरकार अन्तरर्गत क्रमागत रुपमा नियमित बजेट विनियोजन भईरहेको छ । भने हालसम्म उक्त सडक निर्माणका लागि प्रदेश क्रमागतको १ करोड ४० लाख र प्रदेश संसद विकास कोषको १ करोडले २ करोड ४० लाख बढी बजेट खर्च भएको छ ।

चार वटै वडामा ट्रयाक खोल्ने काम सकिएपछि सडक फिनिसिङको काम पनि संगै अघि बढाएर नियमित साना गाडी र मोटर साईकल सम्म गुड्ने वातावरण बनाउने योजना रहेको छ । सडक निर्माणपछि तिलाका दुर्गम बस्तीका उत्पादनले सहज रुपमा बजार पाउनुका साथै दैनिक आवतजावतमा पनि सहज हुने अपेक्षा गरिएको छ । सडक विस्तारले विरामी हुँदा, दैनिक खाद्यन्न ओसार पोसारदेखी विरामीलाई पिठ्युकै बोक्नु पर्ने बाध्यताको अन्त्य हुने तिलाबासीको अपेक्षा छ । सडक निर्माणका लागि वडाध्यक्षको सक्रियता प्रति स्थानीयबासीले धन्यबाद समेत दिएका छन् ।

स्थानीय भक्त रोकायाले सडक निर्माणलाई समयमै सकाउन र नियमित गाडी संचालन गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिए । भौगोलिक रुपमा विकट बस्तीमा सडक पुराएर मात्रै समृद्धी नहुने भएकाले नागरिकको सुविस्ताका लागि नियमित गाडी संचालन हुनु पर्ने उनको भनाई छ ।

उनले भने,‘गाउँ गाउँमा निर्माण भएका सडक प्रयोग विहिन छन् । तर तिलाको आबश्यकतानै सडक हो । अहिले तिला नदी माथि पक्की पुल पनि निर्माण भर्यसकेको छ । राराहुदै जुम्ला गाडी चलिरहेका छन् । सुडी– घोडे सडक पुगेपछि अब सबै वडामा यातायात पहुँच पुग्ने अपेक्षा छ ।’

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस