जुम्ला । जुम्लामा रैथाने अर्गानिक उत्पादनको बजारीकरणमा जोड दिन कृषि जैविक विविधता र खाद्य परिकार प्रर्दशनी मेला आयोजना गरिएको छ । रैथाले उत्पादन बृद्वि, उपभोग, बजारीकरण तथा किसानलाई उत्साहित गर्न रैथाने खाद्य परिकार प्रर्दशनी मेला संचालन गरिएको हो ।
मेलामा चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिकाका किसानले आफ्नो उत्पादन तथा परिकार प्रर्दशनीमा राखेका थिए ।
चन्दननाथ नगरपालिका र रेरास परियोजना अन्तर्गत ली-बर्ड र बिश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोग र कृषि विकास कार्यालय, जुम्लाको समन्वय र आयोजनामा रैथान खाध परिकार मेला संचालन भएको हो ।
जुम्लामा उत्पादन हुने अर्गानिक रैथानेबालीबाट बन्ने परिकार र यसको महत्वका बिषयमा उजागार गर्न कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेलाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
२०६४ सालमा चौधौ जिल्ला परिषदबाट नेपालकै पहिलो प्रांगारिक जिल्ला घोषणापछि जुम्लाको उत्पादनले बजार पाउन थालेको छ । पछिल्ला समयमा गाउँ गाउँमा सडक विस्तार हुनु, बढ्दो यूवा पलानय लगायतका कारण जग्गा बाझिदै गएपछि उत्पादन क्रमिक रुपमा गिरावट आएको छ।
प्रमुख आर्चायले भने,´परिकार प्रर्दशनी मेलाले किसानलाई उत्साह थपिएको छ । उत्पादन बृद्वी गर्ने कृषि केन्द्रित कार्यक्रम ल्याउन आबश्यक छ । भने उत्पादनको बजारीकरणको पनि ठोस नीति बनाउन जरूरी छ ।`
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले उत्पादन बृद्वीसंगै रैथाने बालीका परिकारको बनाउने र उपभोग गर्ने बानी बसाल्न मेला महत्वपूर्ण रहेको बताए ।
मेलामा सडक नाटक र देउडा खेलेर बालीको महत्व र पोषण अवस्थाको बारे सन्देश फैलाउने गरेकोमा यो पटक परिकारको प्रदर्शनी मेला गरेर स्वाद समेत चखाउने काम भइरहेको चन्दननाथ नगरपालिका कृषि विकास शाखा प्रमुख शरद पोखरेलले बताए ।

उनले भने, ‘जुम्लामा पोषिला खाद्य बस्तुहरु तनाम छन् । हामीले उत्पादन गरेका खाद्य बस्तु बाहिर पठाएर आयतित खाद्यान्न प्रयोग गरिरहेका छौं । अब आफैले उत्पादन गरेको परिकार खाने र बचेको बाहिर पठाउने सन्देश छर्न पनि मेलाको आयोजना गरिएको हो । भने रैथानेबालि बेचेर बजारको किनेर खाने प्रबृत्तिको अन्त्य गर्न समेत जरुरी छ ।`
प्रदर्शनी मेलामा १२ वटा स्टलमा स्थानीय बालीका बीऊ र खानाका परिकार राखिएको छ । फापरको रोटी, फापरको सेल, केक, कोदोको रोटी, कागुनोको खिर पनि राखिएको छ । ओखर, स्याउ, आलुबाट बनेका परिकार पनि प्रदर्शनीमा राखिएको छ ।
पछिल्लो समयमा लोप भइरहका बालीको बीऊ समेत प्रदर्शनीमा राखिएको छ । यो मेलाले किसान, उपभोक्ता र सरोकारवाला बीचको समन्वयलाई अझै बलियो बनाउने विश्वास गरिएको छ । सबैभन्दा महंगो र अधिक माग भएको मार्सी चामलदेखि सिमी र जिल्लाभर उत्पादन भइरहेका बालीबाट बनेका परिकार आकर्षणको केन्द्र बनेका छन् ।
उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले रैथाने खाद्य परिकार बजारमा पुर्याउन गुणस्तरीय उत्पादन र प्याकेजिङ र ब्रान्डिङ गर्न आवश्यक रहेको बताए । ‘अहिले निर्यात त भइरहेको छ । तर गुणस्तरको छैन । आफ्नो उत्पादनलाई हेला गर्ने र बाहिरको उत्पादनलाई बढावा दिने काम निरुत्साहित गर्न पनि यो मेला प्रभावकारी हुनेछ ।’



