जुम्ला । आईतबार सम्पन्न तातोपानी गाउँपालिकाको १८ औँ हिउँदे गाउँसभाबाट केही कार्यविधि, खर्च विवरण तथा सार्वजनिक लेखा समिति प्रतिवदेन पारित गरिएको छ । जुम्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा तातोपानीले हिँउदे गाउँसभा सम्पन्न गरेको हो ।
विद्यान समितिका संयोजक अम्मर बहादुर रोकायाले टेबुल गरेका पाँच वटा कार्यविधि पारित गरिएको छ । जसमा तातोपानी गाउँपालिकाको कानुनी सल्लाहकार सम्बन्धि कार्यविधि–२०८२, तातोपानी गाउँपालिकाको कर्मचारी प्रोत्साहन कोष संचालन कार्यविधि–२०८२, तातोपानी गाउँपालिकाको सहुलियत कृषि ऋण लगानी तथा असुली सम्बन्धि कार्यविधि–२०८२ र तातोपानी गाउँपालिकाको अपांगता सम्बन्धि कार्यविधि–२०८२ र आकस्मिक प्रसुति जटिलता प्रेषण सञ्चालन सम्बन्धी कार्यविधि २०८२ गरी पाँच वटा कार्यविधि पारित भएको हो l
साथै सार्वजनिक लेखा समितिको प्रगती प्रतिवदेन २०८२ पनि पारित भएको छ । चालु आवमा कार्यान्वयन हुने गरी विनियोजन भएका तर अहिले संशोधन गर्न आबश्यक रहेका २८ वटा योजना र कार्यक्रम संशोधन गरिएको छ । १७ औँ गाउँसभामा ५३ करोड ५९ लाख ८२ हजारको बजेट प्रस्तुत गरेकोमा हाल बृद्धि ५३ करोड ८८ लाख ९० हजार पुगेको छ ।
भने चालु आवको हालसम्म चालु र पुँगीगत गरी ७ करोड २४ लाख ९० हजार खर्च भएको छ । भने पुँजीगत खर्च न्युन ५ लाख मात्र भएको देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले अत्याआबश्यक नीति पारितसंगै दैनिक कार्यसम्पानमा सहज हुने बताए । मुख्य समस्याका रुपमा रहेको बेरुजुने प्रक्रियालाई कडाईका साथ अघि बढाईनेमा जोड दिए ।
बेरुजु न्युनिकरण प्रथामिकतामा
जुम्लाको तातोपानी गाउँपालिकाले बेरुजु घटाउने अभियानको थालनी गरेको छ । सुशासनमा नमुना पालिका बनाउने लक्ष्य सहित स्थानीय सरकार संचालन भएदेखी थुप्रिएको बेरुजुलाई घटाउन अभियाननै थालिएको हो । बेरुजु फछ्र्यौट समिति गठन तथा सार्वजनिक लेखा समितिलाई सक्रिय बनाई बेरुजु न्युनिकरण गर्न तर्फ विशेष ध्यान केन्द्रित गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
जिल्लामै पहिलो बैशाखमै अन्तिम भुक्तानी दिएर योजना निर्माणको काम सक्ने स्प्रीडलाई कायमै राखेका छौ । उनले भने,‘विकास निर्माण, सेवा प्रवाह, सुशासन जवाफदेहीताका क्षेत्रमा सचेत भएरै काम गर्दा पनि बेरुजु बढीरहेको अबस्था छ । विगतका जनप्रतिनिधिको तुलनामा बेरुजु कम छ । तर पहिलादेखी थुप्रिएको, अहिले थपिएको सबै बेरुजुलाई सकेसम्म शुन्यमा झार्ने गरी सम्परिक्षणको कामलाई जोड दिएका छौ ।’

जिल्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा आईतबार हिउँदे गाउँसभा सम्पन्न गर्दै तातोपानीले बेरुजुमुक्त पालिका बनाउन सबै सयंन्त्र परिचालन गर्ने असुल उपरमा ढिलाई गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको छ ।
२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्ष अवधिमा कुल १९ करोड बेरुजु कायम रहेको थियो । २०७९ को निर्वाचनपछि आएको जनप्रतिनिधिको साढे तीन वर्षको बेरुजु ५ करोड बढी रहेको छ । पछिल्ला वर्षमा असुल उपर भन्दा सैदान्तीक, नियमित तथा कागजात नपुगेको बेरुजु बढी देखिन्छ । यदपी हाल सम्म असुल उपर गर्नुपर्ने ४२ लाख बेरुजु असुल भएको उल्लेख गरे ।
हिउँदे गाउँ सभापछि बेरुजु सम्परिक्षणका लागि सबै कर्मचारी परिचालन हुने छन् । त्यसपश्चात बेरुजु असुल उपरमा ढिलाई गर्ने, कागजात नबुझाउने, नियमित नगर्ने सेवा ग्राही तथा फार्मलाई पत्र पठाईने र अन्तिम समयमा अटेरी गरे सिधै कालोसुचिमा राखेर कुनै सेवा उपभोग गर्न नमिल्ने गरी कारबाहि गर्ने तातोपानीको तयारी छ ।

सार्वजनिक लेखा समितिका संयोजक रत्नचन्द्र उपाध्यायले आ.व २०७४÷०७५ देखी २०८१÷०८२ सम्म आठ वर्षको अवधिमा तातोपानीमा २७ करोड ३४ लाख ८० हजार बेरुजु रहेको बताए ।बेरुजु घटाउन समितिनै गठन गरेर काम भईरहेको गत वर्ष बेरुजु कम हुनेमा तातोपानी पहिलो पालिका बनेको उल्लेख गरे । उनले भने,‘समृद्धीको बाटोमा लम्कीएको तातोपानीको मुख्य चुनौती बेरुजु हो । तर हामी कडा रुपमा अघि बढ्दै छौ । लेखा समितिले पनि कडाईकम साथ काम गर्दै छ । सबैको साथको आबश्यक छ ।’



