जुम्ला ।जुम्लाबाट यस वर्ष ४१ करोडको स्याउ निर्यात भएको छ । आ.व. २०८२/०८३ मा जुम्लाबाट ४१ करोड २९ लाख ८९ हजार २७० रुपैया बराबरको स्याउ जुम्लाबाट निर्यात भएको हो ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार कुल चार हजार चार सय ९७ हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भएकोमा कुल उत्पादन १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । जसमा १० हजार मेट्रिकट जति स्याउ निर्यात हुने र ४० देखी ४५ करोड सम्म आर्थिक जुम्लामा भित्रिने अनुमान गरिएको थियो ।
तर स्याउ न्युन मात्र निर्यात भएपनि मुल्य बृद्वी भएकाले ४१ करोड बढीको स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । गत वर्षको तुलनामा स्याउको क्षेत्र विस्तार भएपनि असिना पानीले क्षति गरेपछि स्याउ उत्पादनमा गिरावट आएको थियो |
उनले भने,´असिनाले क्षति गरेपछि झण्डै १६ करोड बजारको क्षति भयो ।हजार बढी स्याउका विरुवा नष्ट भए । जसका कारण उत्पादन ह्ववात्तै घट्यो । तर सुखद कुरा उत्पादन घटेपनि मुल्य राम्रो पाएपछि स्याउबाट आम्दानी अनुमान गरिएअनुसारनै भएको छ ।`
कुल उत्पादन १८ हजार २४५ मेट्रिकटन भएकोमा निर्यात पाँच हजार ५९१ मेट्रिकटन मात्रै निर्यात भएको छ । न्युन मात्रामा स्याउ निर्यात हुँदा जुम्लाका किसानले आर्थिक लाभ राम्रै पाएको प्रमुख अधिकारीको भनाई छ । कुल उत्पादन मध्य ५ हजारबढी मेट्रिटक टन निर्यात हुँदा ४४ सय मेट्रिकटन जिल्लामै खपत भएको छ ।
२०२४ सालपछि स्याउको व्यवसासी उत्पादन गरिएको जुम्लामा अहिले प्रमुख आयस्रोतको माध्यम स्याउ खेती बनेको छ । उत्पादनदेखि बजारीकरणमा समस्या झेल्दै आएपनि जुम्लाको ठुलो हिस्सा नागरिक स्याउ खेतीमै निर्भर छन् । जुम्लाका २० हजार घरधुरीमध्य १९ हजार १५० घरधुरी स्याउ खेतीमा संलग्न रहेका छन् । जसले सिजनमा न्युनतम ५० हजारदेखि अधिकतम् १० लाख सम्म प्रति किसानले कमाउने गरेका छन् ।
गत वर्षको तुलनामा स्याउ उत्पादन कम भएपनि मुल्य पाउँदा किसान उत्साहित छन् । गत आ.व. २०८१/०८२ मा २० हजार ५१२ मेट्रिकटन स्याउ उत्पादन हुँदा निर्यात १८ हजार २४५ मेट्रिकटन भएको थियो । गत आवमा हालसम्मकै सबैभन्दा धेरै ६१ करोडबढीको स्याउ निर्यात भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गत वर्षको तुलनामा १२० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती विस्तार भएको छ । गत वर्षसम्म ४३ सय ७७ हेक्टरमा स्याउ खेती भईरहेकोमा आव २०८२/०८३ मा ४४ सय ९७ हेक्टर जमिनमा स्याउ खेती भईरहेको छ ।
क्षेत्र विस्तार भएपनि प्राकृतिक प्रकोपका कारण पछिल्लो वर्षमा उत्पादन घट्दै गएको छ । भने जुम्लाका ७ हजार ३५० किसान उत्पादनको विक्रि वितरणमा प्रत्यक्ष संलग्न छन् ।
जुम्लाको आर्थिक समृद्वी तथा किसानको आयस्तर बृद्वीको मुख्य स्रोतनै स्याउ भएपनि मल विउ, सिँचाई तथा ढुवानी र उचित मुल्य निर्धारणमा राज्य अनुदार भएका कारण जुम्लाले अझै अपेक्षाकृत लाभ लिन सकेको छैन् । किसानले आफ्नो उत्पादनको आफै मुल्य तोक्न पाउनु पर्ने माग वर्षौदेखि उठेपनि आफुखुसी मुल्य निर्धारणले पनि किसान मारमा छन् ।
सरकारी अनुदानमा पहुँचवालाकै हालीमुहाली हुने, वास्तविक किसान उपेक्षामा हुने र स्याउ ढुवानीका बेला सधै कर्णाली राजमार्ग अबरुद्व हुने जस्ता समस्याले किसान मर्कामा छन् । स्याउलाई सहज रुपमा बजारमा पुराउन कर्णाली राजमार्गको सुधारमा समेत ध्यान दिन किसानको माग छ ।



