हिमाका २२ वटै सामुदायिक विद्यालयमा पक्की भवन, १२ सय घरमा धारा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले पालिका भरीका सबै सामुदायिक विद्यालयमा पक्की भवन निर्माण गरेको छ । शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर लगानी गर्दै आएको हिमाले साढे तीन वर्षको अविधमा पालिकाका २२ वटै विद्यालयमा पक्की भवन निर्माण गरेको हो ।

पूराना जीर्ण भवनमा जोखिम पूर्ण अवस्थामा पठन पाठन संचालन गर्दै आएका २२ वटै विद्यालयहरुमा पहिलो चरणमा पक्की भवन निर्माण गरिएको छ । मैत्री पूर्ण कक्षा कोठा, खानेपानी, शौचालय अभावले सरकारी विधालयमा बालबालिकाको आर्कषण घट्दै गएको अबस्थामा हिमाले शैक्षिक पूर्वाधार निर्माणमा लगानी बढाएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

पालिकाको कुलवार्षिक विकास बजेटको ४२ प्रतिशत बजेट शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरिएको अध्यक्ष शाहीले जानकारी दिए । उनले भने,‘शिक्षामा लगानी धेरै गर्ने जुम्लाका आठ पालिका मध्य हिमा पहिलो हो । शिक्षामा ४२ प्रतिशत बजेट छुट्याउदै आएका छौ । यो बजेटले हिमाका सबै विधालयमा आबश्यकता अनुसार भवन, खानेपानी, शौचालय निर्माण गरेका छौ । अब कक्षा कोठा अभावले खुला चौरमा पढ्नु पर्ने बाध्यता सधैका लागि अन्त्य भएको छ ।’

पहिलो चरणमा हिमाका २२ वटै विद्यालयमा पक्की भवन निर्माण भईसकेको अहिले आबश्यकता अनुसार भवन तथा शौचालय थप निर्माण गर्न बजेट छुट्याईएको अध्यक्ष शाहीले उल्लेख गरे । हिमाले शैक्षिक सुधारका लागि पूर्वाधार निर्माणसंगै बालबालिकाको पठन सिप विकास तथा गुणस्तर बढाउन हरेक वर्ष पालिका स्तरीय पढाई मेला समेत गर्दै आएको छ ।

एउटा विद्यालयमा भवन निर्माणका लागि १ करोड २० लाख सम्म लगानी हुने गरेको छ । सोही अनुसार गत वर्ष हिमा गाउँपालिकाको दुर्गम वडा नं ४ स्थित कैलाश आधारभूत विधालयमा डेढ २० लाख लगानीमा पक्की भवन निर्माण गरिएको छ । नवर्निमित विधालय भवनको पालिका अध्यक्ष शाहीले उद्घाटन गरेका छन् ।

२०८४ को निर्वाचनपछि आउने जनप्रतिनिधिले हिमाको खानेपानी सरफाई, सामुदायिक विधालयको पूर्वाधार विकासमा लगानी गर्नु नपर्ने गरी लगानी गरिरहेको अध्यक्ष शाहीको दाबी छ ।
१२ सय घरमा एकघर, एकधारा
हिमा गाउँपालिकाले करिब तीन वर्षको अवधिमा १२ सयबढी घरधुरीमा एकघर, एकधारा निर्माण गरेको छ । पालिकाका ७ वटै वडाका सबै बस्तीहरुमा माग र आबश्यकताका आधारमा स्वच्छ खानेपानी धारा निर्माण गरेको हो ।

हिमाको कुल जनसंख्या १२ हजार १९१ र जम्मा घरधुरी संख्या २ हजार १७६ रहेको छ । हाल सम्म हिमा गाउँपालिकाले एक हजार २ सय २३ घरधुरीमा एकघर, एकधाराको पहुँच पुगेको हिमा गाउँपालिका सुस्वा परियोजना संयोजक सुमिता शाहीले बताईन् ।

हिमाका आठ हजार ४१ जना नागरिक स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । अब हिमाका ९५३ घरधुरीका ४ हजार १५० जना नागरिक खानेपानी पहुँचबाट टाढा रहेका छन् । कुल जनसंख्याको ठुलो हिस्सा स्वच्छ खानेपानी पहुँचमा पुगिसकेकाले बाँकि घरधुरीमा धारा निर्माण प्रक्रिया चलिरहेको छ ।

चार करोड पाँच लाख ६६ हजार लगानीमा १४ वटा बृहत्त खानेपानी आयोजना निर्माण गरिएको छ । १४ वटा खानेपानी आयोजना निर्माणका लागि पाँच करोड ३५ लाख ४६ हजार विनियोजन गरिएको थियो । यदपी खर्च चार करोड मात्रै भएको थियो ।

पालिकाको प्रतिवेदन अनुसार हिमा–६ डाडाबाडामा ७६, वडा नं ५ बाजागाडमा १३६, वडा नं १ बड्कीमा १६६, वडा नं ७ धाँचुगाउँमा ६६, वडा नं ७ कै मर्ची गाउँमा ६६, वडा नं ५ बाजागाड खोलामा २१ वटा घरधुरीमा एकघर,एकधारा निर्माण गरिएको छ ।
त्यस्तै वडा नं ३ को चेमा गाउँमा ४५, वडा नं २ को ओदीमा १६०, वडा नं १ दियारगाउँ तल्लो बस्तीमा ७०, वडा नं ७ को माथि कुडुमा ७२, वडा नं ६ को खलढुंगामा ६८, वडा नं १ को आर्चायलिहिका ९९, वडा नं वडा नं २ को कोईरेलीमा ४४ र वडा नं ५ बाजागाडमा १३६ गरी १२ सय २५ घरधुरीमा एकघर,एकधारा निर्माण गरिएको हो ।

खानेपानी विकासमा जिल्लाकै अग्रपंतीमा रहेर काम गरिरहेको हिमाले चालु आर्थिक वर्षमा मात्रै करिब तीन सय घरधुरीमा एकघर एकधाराको निर्माण गर्ने लक्ष्य राखिएको छ । विगतमा खोलाको पानी पिउन बाध्य हिमाबासी घरघरमा धारा पुगेपछि उत्साहित छन् । बाजागाडकी छुमकली रोकाया विगतमा पानीका लागि खोलामा जानु पर्ने घण्टौ लाईन बस्नु पर्ने बाध्यता रहेकोमा अहिले निकै सुविस्ता भएको बताउँछन् । घरमै धारा पुगेपछि समयको बचत संगै तरकारीमा सिँचाई देखी सरसफाईमा समेत उल्लेखीय सुधार भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस