मुगुमा इन्फ्लुएन्जा प्रकोप : तुरुन्तै विशेषज्ञ टोली पठाउन माग 

मुगु । मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप गम्भीर बन्दै गएपछि स्थानीय युवा आशिष देवकोटाको नेतृत्वमा गएको युवाहरूको समुहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष तत्काल विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन्। उनीहरूले मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानुदिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै आपतकालीन हस्तक्षेप अपरिहार्य भएको बताएका छन्।

स्थानीयका अनुसार हाल मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन्। तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन्। लामो समयदेखि X-ray मेसिन बिग्रिएको छ, आवश्यक औषधि र मेडिकल उपकरणको गम्भीर अभाव छ भने अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको अवस्था छ। यसले गर्दा गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या भइरहेको स्थानीयको गुनासो छ।

प्रकोपकै बीच १७ दिनभित्र राराछायानाथ नगरपालिका वडा नम्बर १२, बाम गाउँमा मात्रै ५ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये शिशु र साना बालबालिकासमेत रहेका छन्। यति गम्भीर अवस्था हुँदासमेत केन्द्र सरकारको स्पष्ट र प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै युवाहरूले प्रश्न उठाएका छन्।

युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र X-ray मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ। साथै हालको ५० शय्या क्षमतालाई आपतकालीन रूपमा ICU सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग पनि अघि सारिएको छ।

युवाहरूले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला/हैजाको महामारीको स्मरण गराउँदै समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन्। “कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,” उनीहरूको भनाइ छ।

मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै स्थानीयले ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस