हुम्ला रिप गाउँ आगलागीः दम्पती घाइते, एकको अवस्था गम्भीर

मुगु। सर्केगाड गाउँपालिका–६ रिपमा भएको आगलागीमा एक दम्पती घाइते भएका छन्। घाइतेमध्ये श्रीमान् लैबा फडेराको अवस्था गम्भीर रहेको छ भने उनकी श्रीमती बम्बु फडेराको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सिमकोटले जनाएको छ।

आगलागीमा घाइते दुवै जनालाई आज बिहान करिब २ बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट ल्याइएलगत्तै उपचार सुरु गरिएको थियो। जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार लैबा फडेराको ५४ प्रतिशत शरीर जलेको छ भने बम्बु फडेराको १८ प्रतिशत शरीर जलेको छ।

लैबा फडेराको अवस्था जटिल भएकाले उनलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ। आज बिहान जहाज उपलब्ध हुनेबित्तिकै प्रदेश अस्पताल वा अन्य सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिएको जिल्ला अस्पतालले जनाएको छ।

हिजो राति करिब ११ बजे सुरु भएको आगलागीमा लैबा फडेरा, जयराम फडेरा र क्रान्ति फडेराका घर जलेर नष्ट भएका छन्। साथै अन्य केही घरका सामग्रीसमेत आगलागीमा जलेका छन्। आगो स्थानीयको प्रयासमा आज बिहान साढे २ बजे नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट भएको कुल क्षतिको विवरण भने अझै एकिन हुन बाँकी छ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस