लेकबेशी नगरपालिकामा नगर स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी शैक्षिक फिल्ड अभ्यास सम्पन्न

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अन्तर्गत बीपीएच तेस्रो वर्षका विद्यार्थीहरूले लेकबेशी नगरपालिकामा ४५ दिने नगर स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी आवासीय फिल्ड अभ्यास कार्यक्रम सम्पन्न भएको छ । रोशन ताम्रकार को अध्यक्षतामा सोमबार लेकबेशी नगरपालिकाको सभाहलमा औपचारिक प्रस्तुतिकरण सहित कार्यक्रम सम्पन्न भएको हो।

यस शैक्षिक अभ्यासको मुख्य उद्देश्य नगरपालिकाको स्वास्थ्य प्रणालीको समग्र अवस्था अध्ययन गर्नु, उपलब्ध स्रोतसाधनको पहिचान गर्दै स्वास्थ्य व्यवस्थापनका विभिन्न पक्षहरूको समालोचनात्मक समीक्षा गर्नु, प्राथमिक स्वास्थ्य समस्याको पहिचान, मिनी एक्सन प्रोजेक्ट (MAP) सञ्चालन तथा प्राथमिकतामा आधारित पाँच वर्षे स्वास्थ्य योजना तयार गर्नु रहेको थियो भनेर बिद्यार्थी आनन्द कुमार सिंह ले प्रस्तुत गरेकाथिए।


फिल्ड अभ्यासका क्रममा विद्यार्थीहरूले लेकबेशी नगरपालिकाको जनसांख्यिक तथा स्वास्थ्य प्रोफाइल तयार गर्नुका साथै सुरक्षित मातृत्व कार्यक्रम, खोप कार्यक्रम, CB-IMNCI, HIV तथा STI नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमलगायत प्रमुख स्वास्थ्य कार्यक्रमहरूको अवस्था विश्लेषण गरेका थिए। साथै लेकबेशी नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइहरूको स्थलगत अवलोकन गरिएको भनेर अर्का बिद्यार्थी बैभव ठाकुर ले जन्कारी दिएका थिए।

कार्यक्रमको क्रममा सुन्दर नेपाल संस्था, नेपाल रेडक्रस सोसाइटी, CMC नेपाल, BNMT नेपाललगायत विभिन्न गैरसरकारी तथा सहयोगी संस्थाहरूको समेत भ्रमण गरिएको थियो। यी संस्थाहरूले स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, WASH, जीविकोपार्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा गरेका योगदानबारे जानकारी विद्यार्थी बिकाश महतो ले  आदानप्रदान गर्नुभएको थियो।

मिनी एक्सन प्रोजेक्टअन्तर्गत ‘स्वास्थ्य प्रणालीमा अभिलेखन तथा प्रतिवेदन’ विषयमा केन्द्रित भई लेकबेशी नगरपालिकाका स्वास्थ्यकर्मीहरूका लागि सहभागितामूलक अभिमुखीकरण तथा तालिम सञ्चालन गरिएको थियो। प्रि–टेस्ट र पोस्ट–टेस्टको नतिजाले अभिलेखन तथा प्रतिवेदनसम्बन्धी ज्ञान र सीपमा उल्लेखनीय सुधार आएको देखाएको छ। यसका साथै अभिलेखन तथा प्रतिवेदन सुधारका लागि समिति गठन गरिएको भनेर अर्को बिद्यार्थी दिलिप रावत ले प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी, लेकबेशी नगरपालिकामा पेटसम्बन्धी रोग (APD/Gastritis) विषयमा गरिएको महामारीशास्त्रीय अध्ययनले उक्त रोग पछिल्ला तीन आर्थिक वर्षदेखि नगरपालिकामा शीर्ष दुई ओपीडी रोगमध्ये एकका रूपमा रहेको, महिलामा बढी देखिएको तथा श्रावण महिनामा बढी देखिने प्रवृत्ति रहेको निष्कर्ष निकालेको छ।

फिल्ड अभ्यासको महत्वपूर्ण उपलब्धिका रूपमा सुरक्षित मातृत्व कार्यक्रमसम्बन्धी पाँच वर्षे योजना तयार गरिएको छ। योजनाले गर्भावस्थादेखि सुत्केरीपछिसम्मको सेवाको गुणस्तर सुधार, संस्थागत प्रसूति प्रवर्द्धन, समयमै ANC तथा PNC सेवा विस्तार, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि तथा तथ्यांकको प्रभावकारी प्रयोगमार्फत मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्य लिएको विद्यार्थी दिपेन्द्र चौधरी ले जानकारी दिए ।

विद्यार्थीहरूले तयार पारेको सुरक्षित मातृत्वसम्बन्धी पाँच वर्षे योजना, महामारीशास्त्रीय अध्ययन तथा स्वास्थ्य कार्यक्रमहरूको विश्लेषणले आगामी दिनमा हाम्रो योजना निर्माण र निर्णय प्रक्रियामा सहयोग पुग्ने विश्वास लिएका छौँ।जनस्वास्थय को लयब (lab) अथवा बगैंचा भनेको नै सामुदाय हो।  

यस प्रकारका शैक्षिक अभ्यासले विद्यार्थीहरूको क्षमता विकास हुनुका साथै स्थानीय तहको स्वास्थ्य प्रणाली सुदृढीकरणमा समेत सकारात्मक योगदान पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता यश पलिका का स्वास्थय प्रमुख जन सवास्थय अधिकृत निरन्जन चन्द जिउले व्यक्त गरे।

आज लेकबेशी नगरपालिकामा नगर स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी यो महत्वपूर्ण शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा  खुशी व्यक्त गर्दै विद्यार्थीहरूले गरेको अध्ययन, मिनी एक्सन प्रोजेक्ट र सुरक्षित मातृत्वसम्बन्धी पाँच वर्षे योजनाले हाम्रो नगरपालिकाको स्वास्थ्य सेवा सुधारमा सहयोग पुग्ने विश्वास लिनुभएको जन्कारी उप-प्रमुख बिमला खडलुकाले जानकारी दिईन् ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने KAHS जुम्ला, आदरणीय प्रोफेसरज्यू, स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी तथा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम संचालक विद्यार्थी लोकमणि बोहरा ले व्यक्त गरे ।

लेकबेशी नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाहरू, गैरसरकारी संस्था तथा सरोकारवालाको सक्रिय सहयोगमा सम्पन्न यस प्रकारका शैक्षिक फिल्ड अभ्यासले विद्यार्थीहरूको व्यावहारिक क्षमता विकास हुनुका साथै स्थानीय तहको स्वास्थ्य प्रणाली सुदृढीकरणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको कुरा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिषठान बाट पाल्नु  भएको प्रतिनिधि श्री निरन्जन चपाई ज्यु ले जनकारी गराए ।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस