Screenshot
जुम्ला । कर्णाली प्रदेशले पहिलो पटक संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाएपछि कर्णालीको पूर्वाधार विकासले गति लिने आशा गरिएको छ । दशकौदेखि उपेक्षामा परेको कर्णाली राजमार्ग, नाग्म–गमगडी सडकको स्तरोनन्तिदेखि पुल निर्माण, लगायतको विकासले गति लिने आशा गरिएको हो ।
वन तथा वाताबरण मन्त्री माधव प्रसाद चौलागाँईले सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी थपेको छ । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ५ घर भएका मन्त्री चौलागाँईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएपछि कर्णालीको समृद्वीसंग जोडिएको तर केन्द्र सरकारको उपेक्षामा परेको कर्णाली राजमार्ग सुधार हुने र अलपत्र आयोजनाले गति लिने आशा गरेका छन् ।
जुम्ला–सुर्खेत २३२ किमी सडक संचालनमा आएको दुई दशक भईसक्दा पनि पूर्ण रुपमा कालोपत्रे भएको छैन् ।बजेट अभावकै कारण धेरै योजना अलपत्र छन् । कर्णालीको पूर्वाधार विकासले गति लिने आशा गरिएको बेला मन्त्री माधव प्रसाद चौलागाँईले पदभार ग्रहण गर्दै कर्णालीलाई केन्द्रमा राखेर तीन महत्वपूर्ण निर्णय गरेका छन् ।
शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै जुम्लाको हाँकुमा बेलिब्रिज निर्माण गर्नेदेखि कर्णाली राजमार्ग सुधार गर्ने लगायतका तीन निर्णय गरेका हुन् । वन तथा वातावरण मन्त्री समेत रहेका मन्त्री चौलागाईंलाइ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

शुक्रबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतीका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय भएको छ ।
दोस्रो जुम्ला र कालिकोट जिल्लाको सिमाना नाग्म स्थित हिमा नदिमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ५ स्थित तिला नदिमा तातोपानी गाउँपालिका ४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय भएको छ ।
भने तेस्रोमा निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसुची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव शुसिलबाबु ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।
वडा नं ४ र ५ लाई जोड्न बेलिब्रिज निर्माण हुने भएपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले खुसी व्यक्त गरेका छन् । मन्त्री चौलागाँईबाट जुम्ला सहित समग्र कर्णालीको भौतिक पूर्वाधार विकासले फड्को मार्ने आशा गरिएको अध्यक्ष चौलागाँईले उल्लेख गरे ।
साथै मन्त्री समक्ष तातोपानी गाउँपालिकाको पर्यटन, तथा सडक पूर्वाधार विकासका लागि माग राखिएको तातोपानी गाउँपालिका प्रवक्ता अम्मर बहादुर रोकायाले बताए । कर्णालीको नयाँ पर्यटकीय गन्तव्य गिडिदहमा प्रबद्र्वन, सडक निर्माण, हाँकु बेलिब्रिज लगायतक माग राखिएको उनको भनाई छ । माग राखिएका मध्य हाँकुमा बेलिब्रिज बन्ने पक्का भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको पहिलो निर्णयका रुपमा जुम्लाको योजना समावेश हुँदा जुम्लाबासी खुसी समेत भएका छन ।
कर्णालीको समृद्वी संग जोडिएका कर्णाली राजमार्ग,कर्णाली करिडोर, नाक्चलाग्ना सडक, मनाङ मस्ताङ जुम्ला जोड्ने सडक, रारा राजमार्ग लगायतका सडक योजना अघि बढाउन एक ढिक्का भई माग गर्नु पर्नेमा जुम्लाका यूवा पूर्ण न्यौपानेले बताएका छन् । साथै कर्णालीका नागरिक अगुवाले एतिहासमा पहिलो पटक कर्णाली भौतिक पूर्वाधार मन्त्री पाएकाले कर्णालीका विकास मुद्वामा सबै दलहरु एकजुट हुनु पर्नेमा जोड दिए ।



