जम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला स्थित उत्तरी छिमेकी देश चीनसंगको व्यापारीक नाका यारी भन्सार कार्यालय बन्द भएको छ । अत्यधिक चिसो बढेपछि हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द भएको हो ।
अत्यधिक चिसोका कारण व्यापार पनि न्युन हुने र कर्मचारीलाई बस्न समेत कठिन हुने भएपछि तीन महिनाका लागि भन्सार कार्यालयनै बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हुम्ला र चीनको सिमा क्षेत्र हिल्सामा रहेको चीनको ताक्लाकोट क्षेत्रबाट बाट चिसोका कारण व्यापारी र अन्य सामग्रीको आयात रोकिएपछि कारोबार शुन्यमा झर्दा तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको जनाइएको छ ।
पुग लागेसंगै यारी नाकामा व्यापार घट्दै गएको थियो । चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाटै यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोट झरेका छन् ।
भन्सार कार्यालयका प्रमुख रामराज जैसी चिसो बढेपछि चिनिया क्षेत्रबाट सामान पनि नआउने र स्थानीय उपभोक्ता तथा व्यापारीको चहलपहल नहुने भएपछि पुष दोस्रो साताबाट नाका बन्द गरिएको बताउँछन्।
‘अहिले हुम्ला सदरमुकाम सिमकोट स्थित सम्पर्क कार्यालयमा सबै कर्मचारी आएका छौ,’उनले भने,‘भन्सार विभागको समन्वयमा यारी नाका भन्सार बन्द गरेका छौ । पछि हिमपात भएपछि सदरमुकाम झर्न मुस्किल हुने समस्यालाई मध्यनजर गर्दै अहिलेनै झरेका हौ । अब तीन महिनापछि भन्सार कार्यालय खुल्छ ।’
चिसोले चीन र हुम्ला नागरिक बीच किनमेल तथा ओहोर दोहोर रोकिएपछि कार्यालय कुर्नु भन्दा बन्द गरेर कर्मचारी सदरमुकाम झरेको प्रमुख जैसीको भनाई छ । कर्णालीमा यस वर्ष हिमपात ढिला भएपनि गत कार्तिकमै परेको हिउँले बरफ जमेपछि उक्त क्षेत्रमा आउजाउमा समेत समस्या देखिएको छ ।
नेपाल तर्फको नाका बन्द गरिएपनि चीन तर्फको नाकालाई भने खुल्लै राखिएको छ । आगामी चैत दोस्रो सातापछि यारी नाका संचालनमा आउने छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखी यता हाल स्म्म यारी भन्सार कार्यालयले १८ लाख ६५ हजार राजस्व असुली गरेको छ ।
हुम्लाको उपल्लो क्षेत्रका नागरिकले नेपाली सामान भन्दा चीनकै सामान बढी प्रयोग गर्छन् । निश्चित समयको पास लिएर चीनमा जाने सामान ल्याउने गर्र्दै आएका छन् । कर्णालीलाई चीन संग जोड्ने यारीनाका, मुगुको नाक्चेलाग्ना नाका लगायतका क्षेत्रमा आबश्यक पूर्वाधार निर्माण गरेको खण्डमा कर्णालीको समृद्धी हेर्न धेरै समय कुर्न नपर्ने स्थिती छ ।
यदपी, चीन जोड्ने सडक तथा नाका क्षेत्रमा नेपाल तर्फको विकास निकै सुस्ती गतिमा हुँदा कर्णालीमा चीन संगको व्यापारिक सम्भावना हुँदा हुदैँ पनि लाभ लिन सकेको छैन् ।



