मानवीय कमिकमजोरीका कारण प्राकृतिक स्रोत जोखिममा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

जुम्ला – पछिल्लो मानवीय कमिकमजोरीका कारण प्राकृतिक स्रोत नासिदै जान थालेका छन् । जल, जमिन र जंगल प्राकृतिक प्रमुख स्रोत हुन् । जथाभावी डोजरको प्रयोग, वन विनाश तथा अन्य मानवीय गतिविधिका कारण प्राकृतिक स्रोत जोखिममा परेका छन् ।


सुमात्रा परियोजना अधिकृत विनु चित्रकारका अनुसार पातारासी गाउँपालिकामा कुल ४९५ वटा पानीका स्रोत रहेको बताइन् । तीमध्ये १३८ वटा पानीका स्रोत मात्र प्रयोगमा रहेका छन् । बाँकी स्रोत प्रयोगविहीन अवस्थामा रहेका छन् । वडा नम्बर ७ अन्तर्गत रिनि र पटमारा गाउँमा मात्रै ५४ वटा पानीका स्रोत रहेको उनले जानकारी दिइन् । अभियान मार्फत गाउँका महिला तथा पुरुषलाई वातावरण संरक्षण, घरायसी सरसफाइ तथा वन–जंगल जोगाउने विषयमा सचेत गराइएको छ ।


पातारासी गाउँपालिका क्षेत्रका प्राकृतिक स्रोत संरक्षण गर्न सचेतना कार्यक्रम सञ्चालन गरिएको । जल, जमिन र जंगल संरक्षणका लागि स्थानीय गाउँ बस्तीमै पुगेर सचेतना अभियान सञ्चालन गरिएको हो । पातारासीका ७ वडाका २६ वटा गाउँ बस्तीमा पुगेर सचेतना कार्यक्रम गरिएको किर्डाक नेपाल जुम्लाका क्षमता अभिवृद्धि विशेषज्ञ श्रीवहादुर भण्डारीले बताए ।
नेदरल्याण्ड सरकारको सहयोग, मध्यपश्चिम विश्वविद्यालयको समन्वय र किर्डाक नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित ‘सुमात्रा’ परियोजना अन्तर्गत प्राकृतिक सचेतना अभियान सञ्चालन गरिएको हो ।

अभियानमा सामुदायिक वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, शिक्षक, सचेत युवा, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा प्राकृतिक स्रोत, वन तथा जडिबुटीको संरक्षण स्थानीय तहमै कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ । परियोजनाको मुख्य उद्देश्य पानीका मुहान तथा प्राकृतिक स्रोतको दिगो संरक्षण गर्नुपर्ने रहेको भण्डारीले बताए ।

पातारासी गाउँपालिका – ७ का वडाध्यक्ष वीरबहादुर बुढाले सचेतना कार्यक्रमले वन संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । जीविकोपार्जनका नाममा वनमा जथाभावी उत्खननले वन विनाश बढ्दै गएको उल्लेख गर्दै उनले वृक्षारोपण र वातावरण संरक्षणका लागि वडा सरकार तयार रहेको बताए । वातावरण संरक्षणबाट जल, जमिन र जंगल सबैको संरक्षण सम्भव हुने उल्लेख गर्दै वडाध्यक्ष बुढाले वनमा जाने महिलाहरूलाई जथाभावी आगलागी नगर्न समेत आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाँईले पातारासीमा पानीका स्रोत संरक्षणका लागि किर्डाक नेपालले गरेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् । उनले वनमा आधारित जीविकोपार्जन गर्ने समुदायलाई खाली ठाउँमा वृक्षारोपण गर्न, वनको कार्ययोजना निर्माण गर्न र नवीकरणका साथै पारदर्शिता कायम गर्न सुझाए ।
रिनी गाउँका महिला विमला खड्का, माया खड्का र जनमाया बुढाले वातावरण संरक्षणमा सक्रिय भुमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । वनमा महिलाको आवतजावत बढी हुने भएकाले आगलागी रोक्न र जथाभावी वन फँडानी नियन्त्रण गर्न अन्य महिलालाई पनि सचेत गराउने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८२ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस