आन्दोलित किसानले पाउने भए स्याउ बीमा रकम

जुम्ला – लामो समयसम्म आन्दोलित किसानले स्याउ बीमा रकम प्राप्त गर्ने भएका छन् । तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका किसानले स्याउ बीमा रकम प्राप्त गर्ने भएका हुन् । माघ २ गते शिखर इन्स्योरेन्स कम्पनीले गरेको स्याउ बिमा क्षति मुल्यांकनप्रति असन्तुष्टि जनाएका किसानले त्रिपक्षीय सहमतिपछि स्याउ बीमा रकम पाउनु भएका हुन् ।


तातोपानी गाउँपालिकाका स्याउ बिमा पीडित किसानहरूले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत शिखर इन्स्योरेन्स कम्पनी, थापाथली काठमाडौंलाई मंसिर २१ गते ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको पहलमा जिल्ला प्रशासन कार्यालय जुम्लामा पटक–पटक किसान, बीमा कम्पनीका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबीच वार्ता भए पनि सहमति हुन सकेको थिएन । स्याउ बिमा क्षति मुल्यांकन प्रति बिरुवा २४ मात्र तोकिएको विषयमा विवाद चर्किएपछि तातोपानी गाउँपालिकाका जनप्रतिनिधि तथा पीडित किसानसहितको प्रतिनिधि टोली पुस २४ गते काठमाडौं पुगेको थियो ।


पुस २६ गतेदेखि सुरु गरिएको धर्ना कार्यक्रमपछि नेपाल सरकार, कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको सक्रियतामा शिखर इन्स्योरेन्स, बीमा विकास बोर्ड, जल तथा मौसम विज्ञान विभाग र स्थानीय तहका प्रतिनिधिसहित चरणबद्ध वार्ता भएको थियो । माघ २ गते अन्तिम चरणको वार्ता भएपछि कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहबरमा सम्पन्न भई त्रिपक्षीय सहमति भएको छ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०८०/०८१ को स्याउ बिमा दाबी मुल्यांकन गर्दा प्रयोग गरिएको मौसम मापन केन्द्रको त्रुटिपूर्ण प्रतिवेदन संशोधन गरी तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकालाई मध्यम खडेरी क्षेत्रका रूपमा मुल्यांकन गर्ने सहमति भएको छ ।


यसअघि प्रति बिरुवा २६८ तोकिएको मुल्यांकन संशोधन गरी तातोपानी गाउँपालिकामा प्रति बिरुवा ४ सय रुपियाँ, पातारासी र कनकासुन्दरी गाउँपालिकामा प्रति बिरुवा ३५० कायम गर्ने सहमति भएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । उनले भने, नेपाल सरकारबाट प्राप्त हुने अनुदान पछि सोधभर्ना हुने गरी शिखर इन्स्योरेन्सले जुम्ला जिल्लाका सबै किसानले पाउने अनुदानसमेतको रकम एकमुष्ट उपलब्ध गराउने सहमति भएको छ ।


बीमा रकम पाउने भएपछि किसानले शिखर इन्स्योरेन्स कार्यालय जुम्लामा लगाएको तालाबन्दी तत्काल खुलाउने सहमति भएको छ । पुनमूल्यांकनपछि सहमतिपत्रमा हस्ताक्षर भएको मितिले बढीमा १५ दिनभित्र अपुग कागजात संकलन गरी किसानलाई चेकमार्फत दाबी रकम भुक्तानी गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।
यसअघि स्थलगत निरीक्षणमा मापदण्ड नपुगेको भन्दै अस्वीकार गरिएका बिरुवाको बीमा गर्दा कम्पनीले लिइएको प्रिमियम रकम पनि किसानलाई फिर्ता गर्ने सहमति भएको छ । सहमतिपछि आर्थिक वर्ष ०८०/०८१ (१ मार्चदेखि ३० अप्रिल २०२४) मा शिखर इन्स्योरेन्ससँग स्याउ बिमा गरेका तातोपानी गाउँपालिका करिब ५ सय ११ जना किसानका ९७ हजार २२० बिरुवाको बीमा रकम प्राप्त गर्ने भएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस