मुगु । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट नेपाली कांग्रेसका तर्फबाट आशिष देवकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामो समयदेखि राजनीतिको नेतृत्वमा निरन्तर देखिँदै आएका समकालीन, हजुरबुबा उमेरका नेताहरू पुनः उम्मेदवार बन्ने अवस्था आएकाले समयको माग, परिवर्तनको चाहना र युवापुस्ताको अपेक्षा सम्बोधन गर्न आफूले उम्मेदवारी दिएको उनले बताए।
नेपालको संविधानले तोकेको मापदण्डअनुसार प्रतिनिधिसभा सदस्य बन्न आवश्यक २५ वर्षको उमेर पूरा गरिसकेको उल्लेख गर्दै देवकोटाले गत भदौ २२/ २४ गते सम्पन्न जेनजी आन्दोलन पश्चात् पार्टीले २८ वर्षमुनिका २० प्रतिशत जेनजी पुस्तालाई समेट्ने प्रतिबद्धता गरेको सन्दर्भमा उक्त प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुने विश्वासका साथ उम्मेदवारी घोषणा गरेको बताए।
नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रज नेताहरूको आशिर्वाद र युवाहरूको साथ सहयोगमा नेपाली कांग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा बोकेर आफू मुगुका जनताको सेवामा उभिने संकल्प लिएको उनले स्पष्ट गरे।
देवकोटा रामपुर कृषि क्याम्पसको २०८० सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सभापतिको उम्मेदवार पनि थिए र त्यहाँ पीडित पनि थिए।
देवकोटाले मुगु आफ्नो जन्मस्थल मात्र नभई त्यहाँका पहाड, हिमाल, खोला, बाटो र प्रकृतिसँग गहिरो आत्मीय सम्बन्ध रहेको बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार र विद्युतजस्ता आधारभूत पूर्वाधारमा देखिएका समस्याको समाधान आफ्नो पहिलो प्राथमिकता रहने उल्लेख गरे।
त्यसैगरी, छायानाथ मन्दिरलाई शिरमा राखी र रारा ताललाई केन्द्रमा राखेर दिगो पर्यटन विकासमार्फत रोजगारी सिर्जना र स्थानीय आम्दानी वृद्धि गर्ने स्पष्ट योजना रहेको उनले जानकारी दिए। अन्य क्षेत्रको विकासका लागि पनि विषयगत विज्ञहरूसँग सुझाव र परामर्श लिँदै अघि बढ्ने उनको प्रतिबद्धता छ।



