मुगु । सुर्खेतमा सञ्चालन प्रदेशस्तरीय स्थानीय कर्मचारी क्रिकेट कप–२०८२ को उपाधी मुगुले जितेको छ । सोमबार भएको फाइनल खेलमा मुगुले कालिकोटलाई ४२ रनले पराजित गर्दै पहिलो पटकको सहभागितामै उपाधि जित्न सफल भएको हो ।
उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो। यो प्रतियोगिता मुगु जिल्लाको क्रिकेट इतिहासमै पहिलो औपचारिक सहभागिता हो। हालसम्म मुगुमा क्रिकेटसम्बन्धी ठूला गतिविधि नभए पनि, यो प्रतियोगितामार्फत मुगुले आफू सक्षम छ भन्ने कुरा प्रमाणित गरेको छ।
खेलमा सहभागी खेलाडी रबि धामीका अनुसार, सीमित स्रोतसाधनका बाबजुद पनि टोलीको मेहनत, एकता र लगनशीलताले यो सफलता सम्भव भएको हो। उनले आगामी दिनमा मुगुमा पनि क्रिकेट विकासका लागि पहल हुनुपर्ने आवश्यकता औंल्याए । मुगुको यो ऐतिहासिक जितले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह र सम्भावनाको ढोका खोलेको छ।



