कर्णालीमा वर्षको पहिलो हिमपात, कृषि क्षेत्रलाई राहत, हवाई सेवा ठप्प

जुम्ला ।  कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । कर्णालीका जुम्ला,सहित कालिकोट, मुगु,हुम्ला र डोल्पा,कालिकोट जिल्लामा हिमपात भएको हो । शनिवार  रातिदेखि भएको मौसम बद्लीसंगै कर्णालीका चार जिल्लामा हिमपात भएको छ । अहिले पनि कर्णालीमा हिमपात जारी छ । हिमपात संगै कर्णालीबासीले उत्साह मनाईरहेका छन् । 

हिमपातपछि ह्वात्तै चिसो बढेपछि कर्णालीको जनजीवन कष्टकर बनेको छ । भने कृषि क्षेत्रलाई राहत पुग्ने भएपछि लामो समय खडेरी झेलेका किसान हिमपातले उत्साहित भएका छन् । विगत वर्ष भन्दा पछिल्ला वर्षमा कर्णालीमा हिउँ ढिला गरी पर्न थालेपछि हिउदे बालीको उत्पादन घट्दै गएको छ । खडेरीले स्याउ तथा अन्यबालीमा समेत असर पर्न थालेको छ । 

हिउँपानीको भरमा उत्पादन हुने हिउँदे बाली जौ हिउँ नपरी सप्रिदैन् भने स्याउ बगैचा व्यवस्थापन गरेपनि, जग्गा चक्लाबन्दी गरी राखेपनि हिउँ नपरी स्याउलाई पनि प्रयाप्त सिँचाई नपुग्ने भएकाले किसान मारमा पर्दै आएका छन् । 

जौँ बालीलाई चाहिने आबश्यक सिँचाई हिउँले पुर्ति गर्ने भएकोले हिउँले कृषि क्षेत्रमा राहत पुराउने कृषि विज्ञ बताउँछन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले कर्णालीमा हिमपात र कृषि क्षेत्रको पारस्परिक सम्बन्ध रहेको बताए । 

‘खेताली तथा लेकाली क्षेत्रमा हिउँदमा लगाईएको बाली सिँचाई हिउँले मात्रै गर्छ,’उनले भने,‘पछिल्लो वर्ष हिउँ ढिला पर्दा स्याउ बगैचा व्यवस्थापनदेखी अन्य बालीनालीमा समस्या हुने गरेको छ । फागुनमा नयाँ स्याउका विरुवा रोप्नका लागि माटोमा चिस्यान कायम राख्न पनि हिउँ जरुरी छ ।’

भने सिँचाई सुविधा नभएको लेकालि क्षेत्रमा पनि हिउँ संकलन पोखरी निर्माण गरी स्याउ खेतीका लागि सिँचाई गर्ने किसानलाई समेत हिमपातले राहत गरेको छ । स्याउका खाल्डामा हिउँ हाल्ने, पोखरी बनाएर हिउँ जम्मा गरी राख्ने र त्यसपछि माटोमा पछि सम्म चिस्यान काम गरी सिचाइको काम गर्ने र हिउँदे बालीको उत्पादन बढाउन कर्णालीमा पुष माघ भित्र हिउँ अनिवार्य रहेको प्रमुख अधिकारीको भनाई छ । 

पहिलो हिमपातले चिसो बढेपनि कृषि क्षेत्रका लागि निकै राम्रो हुने जुम्लाका बरिष्ठ किसान रामकृष्ण बुढ्थापा बताए । उनले भने,‘पछिल्ला वर्षमा हिउँ पर्न छोडेको छ । गतवर्ष पनि समयमै हिउँ नपर्दा बालीनाली सप्रिन पाएन् । यो वर्ष ढिला भएर माघमै हिउँ पर्नु किसानका लागि खुसीको कुरा हो । अब उत्पादन बढ्ने अपेक्षा छ ।’ 

त्यस्तै,मुगुमा संचारकर्मी रतन रावलले मुगुका सबै क्षेत्रमा बाक्लो हिउ परेको बताए । कृषि उत्पादनले आत्मनिर्भर मानिने कार्मारोङ क्षेत्रमा हिउँ परेपछि मुगुका किसान खुसी भएका छन् । 

पछिल्लो वर्षमा जलवायू परिवर्तनका कारण समयमै हिउँ पानी नपर्ने र कृषि क्षेत्रमा असर पर्नुका साथै उत्पादन समेत घट्दै गएको छ । भने हिमपातपछि कर्णालीमा शनिवार हवाई सेवा समेत अबरुद्ध भएको छ । हवाई सेवा अबरुद्ध भएपछि धेरै यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

नेपालगन्जबाट जुम्ला,मुगु,हुम्ला र डोल्पामा हुने नियमित उडान बन्द भएका छन् । यदपी सडक यातायात भने संचालनमै रहेको छ । साथै हिमपातपछि कर्णालीका पर्यटकीय गन्तव्यमा आन्तरिक बाह्य पर्यटकको संख्यामा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । विशेषगरी कर्णाली राजमार्ग हुदै मुगुको राराताल तथा मुर्माटपमा हिउँ पर्यटक पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस