जुम्ला : सिंजा गाउँपालिकाकी एक १४ वर्षीया बालिकाले कलिलै उमेरमा विवाह गरिन् । विवाह गरेको अहिले एक वर्ष बितिसकेको छ । उनका पति १६ वर्षका छन् । प्रेम सम्बन्धपछि उनीहरू भागेर विवाह गरेका हुन् । ती बालिकाकी मिल्ने साथीले पनि १५ वर्षको उमेरमै विवाह गरेकी थिइन् । साथीको देखासिकी र लहैलहमा लागेर आफूले पनि बालविवाह गरेको उनी बताउँछिन् । साथीका पति–पत्नी भने हाल भारत गएका छन् ।
‘कक्षा ७ पास गरेपछि विवाह गरेकी हुँ । अहिले पढाइ पनि छोडिसकेँ । पतिले पनि पढाइ छोड्नुभयो । उहाँ घरमै घरायसी काम गर्नुहुन्छ,’ ती १५ वर्षीया बालिकाले भनिन्, ‘भागेर विवाह गरे पनि अहिले हामी सँगै बस्दैनौँ । उहाँ आफ्नै घरमा बस्नुहुन्छ, म मामाको घरमा बस्छु । उमेर पुगेपछि विवाहलाई निरन्तरता दिने सोच बनाएका छौँ ।’
उनका पतिले पनि कक्षा ८ मै पढाइ छोडे । ती बालिकाकी बहिनीको पनि १३ वर्षको उमेरमै विवाह भइसकेको छ । विपन्न परिवार, घरमा पढ्ने वातावरण नहुनु र बाबुआमा भारतमै बस्ने अवस्थाले पढाइ निरन्तर राख्न नसकेको उनी बताउँछिन् । ‘सानैमा विवाह गर्नु हुँदैन भन्ने सामान्य जानकारी हुँदाहुँदै पनि गाउँघरको वातावरण र साथीभाइको प्रभावले बाध्यता जस्तो पर्छ,’उनले भनिन् ।
उनका अनुसार अहिले भने सानै उमेरमा विवाह गर्नु गलत रहेछ भन्ने सोच आउन थालेको छ । ‘धेरै साथीहरूले पढाइ छोडेर भारत जानुपरेको देखेँ । शिक्षा लिएर आत्मनिर्भर बनेपछि मात्रै विवाह गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ,’उनले भनिन् ।
कानुनी प्रावधानअनुसार २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाइन्छ । सन् २०३० सम्म बालविवाह शून्य बनाउने नेपाल सरकारको दिगो विकास लक्ष्य रहे पनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको छ ।
समाजमा बालविवाह प्रशस्त देखिए पनि जिल्ला प्रहरी कार्यालय जुम्लामा भने बालविवाह सम्बन्धी उजुरी शून्य छ । उजुरी नआउँदा समाजमा बालविवाह नभएको जस्तो देखिए पनि स्वास्थ्य संस्थाका तथ्यांकले भने विपरीत चित्र प्रस्तुत गर्छन् । जिल्लाका धेरै प्रसूति गृहमा २० वर्षमुनिका सुत्केरीको संख्या उल्लेख्य छ ।
चन्दननाथ नगरपालिका–८ करकोटस्थित तलिउम स्वास्थ्य चौकीको प्रसूति गृहमा चालु आर्थिक वर्ष २०८२÷८३ को पुस अन्तिम सातासम्म २१ जना सुत्केरी भएका छन् । तीमध्ये ६ जना २० वर्षमुनिका छन् । यसमा १६ वर्षमुनिका दुई जना, १७ वर्षमुनिकी एक जना र १८ वर्षमुनिकी तीन जना रहेका छन् । सोही स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८१÷८२ मा २९ जना सुत्केरीमध्ये सात जना २० वर्षमुनिका थिए । आर्थिक वर्ष २०८०÷८१ मा ३८ सुत्केरीमध्ये ८ जना २० वर्षमुनिका रहेको तथ्याङ्क छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पुससम्म २० वर्षमुनिका १ सय ३ जना सुत्केरी भएका छन् । पातारासीमा १२, कनकासुन्दरीमा आठ, सिंजामा पाँच, चन्दननाथमा ४५, गुठीचौरमा १०, तातोपानीमा १०, तिलामा नौ र हिमा गाउँपालिकामा चार जना २० वर्ष नपुग्दै सुत्केरी भएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा भने २० वर्षमुनिका सुत्केरीको संख्या २ सय ७० पुगेको जनस्वास्थ्य नर्स टिका पुनमगरले जानकारी दिइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चालु आर्थिक वर्षको पुससम्म ३ सय ४० सुत्केरीमध्ये ४० जना २० वर्षमुनिका छन् । आर्थिक वर्ष २०८१÷८२ मा ८ सय ३२ सुत्केरीमध्ये १ सय १० जना र २०८०÷८१ मा ८ सय ४४ मध्ये १ सय १२ जना २० वर्षमुनिका रहेको मेडिकल रेकर्डर मेघराज बुढाले बताए । प्रतिष्ठानमा जुम्लासहित कालिकोट, मुगु र डोल्पाका सेवाग्राही बढी आउने गरेका छन् ।
स्वास्थ्य संस्थाका यस्ता तथ्यांकले प्रहरीमा उजुरी नपरे पनि समाजमा बालविवाह व्यापक रहेको पुष्टि गर्छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास भइरहेका छन् । पछिल्लो समय बालबालिका र अभिभावक सचेत बन्दै जाँदा केही वडा तथा बस्ती बालविवाहमुक्त घोषणा हुन थालेका छन् ।
जिल्लाका ८ स्थानीय तहका ६० वडामध्ये २१ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । हिमा गाउँपालिका (१–७), कनकासुन्दरी–२, ४, ५, पातारासी–५, तिला–४, ५, ६, ८, गुठीचौर–४ र सिंजा–२, ३, ४, ६ नम्बर वडा बालविवाहमुक्त घोषणा भएका छन् । केही वडा बालमैत्री तथा पोषणमैत्री घोषणासमेत भएका छन् ।
उमेर नपुगी विवाह गर्ने वा गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवानाको कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नविनबाबु रेग्मीले बताए । ‘प्रहरीमा बालविवाह सम्बन्धी उजुरी शून्य छ । त्रिवर्षीय प्रतिवेदनमा पनि यस्तो मुद्दा देखिएको छैन,’उनले भने ।



