रुकुमपश्चिममा एमाले कार्यकर्तामाथि कुटपिट

रुकुमपश्चिम – रुकुमपश्चिममा एमाले कार्यकर्तामाथि कुटपिट भएको छ । चौरजहारी नगरपालिका– ६ का नेकपा एमाले वडा कमिटी संयोजक तथा चुनाव प्रचार–प्रसार समिति उपसंयोजक २१ वर्षीय महेश बुढाथोकीमाथि कृटपिट भएको हो ।


माघ २६ गते आफु विरुद्ध गतिविधी गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सोही नगरपालिका–७ का २७ वर्षीय समीर केसी र वडा नम्बर– ६ का ३८ वर्षीय मानबहादुर बिक (प्रकाश) ले कुटपिट गरी घाइते बनाएको नेकपा एमाले जिल्ला कार्यालय सचिव गंगाराम रोकायाले बताए ।


घाइतेको माघ २६ गते नै चौरजहारी अस्पतालमा प्राथमिक उपचार गरी सोही दिन थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झपेन्द्र परियारले बताए ।
उनका अनुसार प्रहरीमा लिखित उजुरी नआए पनि घटनाको अनुसुन्धान भइरहेको छ । कुटपिटबाट पीडितको दाँया आँखा र टाउकोमा चोट लागेको छ ।


मानव अधिकारको न्युनत्तम मुल्य र मान्यताहरुको खिल्ली उडाउदै गरिएका गैर राजनीतिक क्रियाकलापमा संलग्न दोषीलाई तत्काल गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न स्थानिय प्रशासनसँग माग गर्दै नेकपा एमाले रुकुम पश्चिमले प्रेस विज्ञप्ती जारी गरेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस