आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्छु : गगन थापा

 सारांश

  • गगनकुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणमा लाग्ने योजना बनाएका छन्।
  • उनले पहिले अवसरको सदुपयोग गर्न नसकेको स्वीकार्दै देशलाई दुर्घटना हुन नदिने बताए।
  • थापाले देश बनाउन सबै राजनीतिक दललाई मिलाएर लैजाने र कांग्रेसको एजेण्डा तल्लो तहसम्म पुर्‍याउने कुरामा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणमा लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् । बौद्धिक पेसाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले साे कुरा बताएका हुन् । 

यसअघि पटक पटक अवसर पाउँदा त्यसलाई सदुपयोग गर्न नसकेको भन्दै आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणमा लाग्ने योजनाका साथ अघि बढ्ने उनले बताए । 

सभापति थापाले पार्टीको प्रतिज्ञा पत्रमा समेत पाँच वर्षपछि परिणाम दिने योजना समेटिएको जानकारी दिए । इतिहासका विभिन्न घटनाहरूबाट प्रेरणा लिएर कांग्रेसले अहिलेको युवाहरूले खोजेको जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको उनले बताए । उनले देश बनाउन सक्ने सबैभन्दा पुरानो पार्टी कांग्रेस नै भएकाले कांग्रेसका एजेन्डाहरू तल्लो तहसम्म पुराउनुपर्नेमा जोड दिए ।

नेपाललाई अहिले सुधार चाहिएकाले सुधारको ग्यारेन्टी लिएर आफूहरू चुनावमा होमिएको उनको भनाइ छ । उनले देश बनाउन सबै राजनीतिक दलहरूलाई मिलाएर लैजानुपर्ने भएकाले यसको नेतृत्व कांग्रेसले गर्ने धारणा राखे ।

सभापति थापाले लोकतन्त्रलाई हाइज्याक हुने कुराबाट बचाउनका लागि, डेलिभरीका लागि र परिणामका लागि समेत बदलिएर आएको कांग्रेस सक्षम रहेको बताए । 

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस