शिक्षालयलाई विश्वविद्यालय बनाउने एजेण्डाः तर ४३ वर्ष पुराना भवन उस्तै

जुम्ला । कर्णाली प्रदेशको जुम्ला स्थित देशकै जेठो कर्णाली प्राविधिक शिक्षालय स्तरोन्नति हुन सक्दा जीर्ण भवनमै संचालन भईरहेको छ । २०३७ सालमा स्थापना भएको मुलुककै जेठो प्राविधिक शिक्षालय राज्यको उपेक्षामाकै स्तरोन्नति हुन सकेको छैन् । सञ्चालनको करिब चार दशक बढी समय बित्दा पनि शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाको भरमा चलेको छ । प्राविधिक शिक्षा प्रति विद्यार्थीको मोह बढ्दै गएपनि स्तरोन्नति नहुँदा जीर्ण भवनमा संचालन भईरहेको हो ।

कर्णाली प्राविधिक शिक्षालयलाई राज्यले मात्र उपेक्षा गरेको छैन् । २०६४ साल यता निर्वाचन जितेका सबै प्रतिनिधिले बेवास्ता गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकीदै गर्दा चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
नेकपा एमालेको बाचापत्रको बुदाँ नंं ३ मा कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतिय विश्वविद्यालय निर्माणमा प्रथामिकता दिने उल्लेख छ ।

भने नेपाली काँग्रेसको प्रतिज्ञापत्रको बुदाँ नंं. २ मा शिक्षालयलाई प्राविधिक विश्व विद्यालय बनाउने पहल गर्ने उल्लेख छ । भने प्रलोपको सकंल्प पत्रको बुदाँ नं. ५ मा शिक्षालय सुधारको ठोस योजना बनाउने उल्लेख छ । अन्य सात जना उम्मेदवारको चुनावी घोषणापत्र आउन बाँकी छ । वर्षौदेखी जीर्ण भएका भवन पुर्ननिर्माण गर्ने, पठन पाठनलाई व्यवस्थित गर्ने कोठा थप गर्न पहल गर्ने कुरालाई प्रथामिकता दिनुको सट्टा शिक्षालयलाई विश्व विद्यालय बनाउने महोत्वकाँक्षी चुनावी एजेण्डा बनाएका छन् ।

२०६४ यताका निर्वाचनमा उठेका सबै उम्मेदवारले शिक्षालय सुधारको एजेण्डा नबाएका होईनन् । तर २०३७ सालमा स्थापना भएको शिक्षालयमा अहिले सम्म चुहिने जीर्ण भवन मर्मत हुन सकेका छैनन् । कार्यान्वयन गर्न सक्ने भन्दा, असम्भव राज्यको स्रोत साधानले समेत नधान्ने विश्व विद्यालय बनाउने कुराले शिक्षालय सुधारको सवालमा दलहरुको चुनावी एजेण्डामै सिमित हुने नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

उनका अनुसार शिक्षालयमा हाल प्रयाप्त भौतिक पूर्वाधारको खाँचो छ । तर ‘दलहरुले विश्व विद्यालय बनाउने कुरा गर्दै छन्, यस शिक्षालयको स्तरोन्नति हुनेमा शंका छ,’ उनले भने,बितेको चार दशकमा कर्णाली प्राविधिक शिक्षालयबाट ६ हजारबढी दक्षजनशक्ति उत्पादन भईसकेका छन् । शिक्षालयबाट उत्पादित झण्डै ४ हजार दक्ष जनशक्तिले राज्यका विभिन्न उच्च ओहोदामा मात्र रोजगार भएको शिक्षालयको तथ्यांक छ ।

तर ४३ वर्ष पुराना संरचनाकै भरमा शिक्षालय सञ्चालन हुन बाध्य छ । चुहिने छाना भित्रै छात्राबास चलेका छन् । हाल शिक्षालयमा ५८ वटा भवन छन् । त्यसमध्य अधिकांश भवन निकै पुराना जीर्ण अबस्थामा रहेका छन् । हाल शिक्षालयमा विभिन्न विषयमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । जसमा सिभिल तर्फ १३५ जना,फारमेसी तर्फ ११४ जना, एजी प्लान्ट साईन्स तर्फ १२८ जना, फरेष्टी तर्फ ७५ जना र एचए तर्फ ३८ जना गरि कूल ४९० विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख विकल अधिकारीले बताए ।

शिक्षालयका कुल ५८ वटा भवनहरु मध्य जीर्ण भएका संरचनाको पुर्ननिर्माणका लागि धेरै पटक पहल गरेपनि बजेट नजुट्दा मर्मत भएका छैनन् । ५८ भवन मध्य कर्मचारी आवास भवन २४ वटा,छात्राबास भवन ३ वटा छात्र भवन ९ वटा, शैक्षिक भवन ४ वटा लगायतका भवन रहेका छन् ।

शिक्षालयलाई विश्व विद्यालय बनाउने महोत्वकाँक्षी योजना जनतालाई बाड्नु भन्दा विपन्नका छोराछोरीले प्राविधिक शिक्षा आर्जन गर्न पाउने नीति, शिक्षालयको भौतिक संरचना सुधार,लगायतका कुरामा ध्या दिनुपर्ने जुम्लाबासीको सुझाव छ । यदपी जुम्लाका उम्मेदवारहरुले भने जनता माझ निकै महोत्वकाँक्षी योजना बाड्दै हिडेका छन् ।

‘शिक्षालयलाई विश्व विद्यालय बनाउने एजेण्डा स्वागत योग्य छ,’ शिक्षालय प्रमुख अधिकारी भन्छन,‘तर शिक्षालयमा भौतिक पूर्वाधारकै समस्या छ । पुराना संचरनाको मर्मत गर्नुपर्ने अबस्था छ । हरेक वर्ष सरकारले ल्याउने बजेटमा समेत देशको जेठो शिक्षालय उपेक्षामा पर्छ । अहिले एजेण्डा बनाउने तर पछि काम नहुने समस्या छ । शिक्षालय सुधारमा सबैको सहयोगको अपेक्षा छ ।’

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस