जुम्ला – जुम्लामा प्रत्यक्ष र समानुपातिक तर्फ गरी तीन हजार ३७ मत बदर भएको छ । प्रत्यक्ष तर्फ एक हजार ७०५ मत र समानुपातिक तर्फ एक हजार ३३२ मत गरी तीन हजार ३७ मत बदर भएको हो । प्रत्यक्ष तर्फ यहाँका ७१ हजार ७३९ मतदाता हुन् । यस मध्ये ४० हजार ८७८ जना मतदाताले मात्रै मत खसालेका थिए ।
खसेको मत गणना गर्दा एक हजार ७०५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
यस्तै समानुपातिक तर्फ ७३ हजार ७३९ मतदाता हुन् । यस मध्ये ४१ हजार ४५१ मत मात्रै खसेको थियो । खसेको मत गणना गर्दा एक हजार ३३२ मत बदर भएको थियो ।
मत बदर हुनुमा निर्वाचन शिक्षा नपुगेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, सरकार, निर्वाचन आयोगले कुनै पनि चुनावमा निर्वाचन शिक्षाका विषयमा ध्यान दिने गरेको पाईदैन । निर्वाचन शिक्षा भन्ने मात्रै हुन्छ । तर त्यसको प्रभावकारिता देखिने गरेको छैन । जसका कारणले मत बदर हुने गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कडेलका अनुसार मत बदर हुनुमा मतदाता शिक्षाको मात्रै कारण होइन । मत बदर हुनुमा मतदाता शिक्षाका अलाभा थुप्रै कारण छन् । सदरमुकाम खलंगा चन्दननाथ नगरपालिका भित्रै बसोबास गर्ने शिक्षित मतदाताले बढी बदर गरेको देखिन्छ । उनले भने, एउटै मतपत्रमा एकदेखि बढी ठाउँमा छाप लगाएको देखिन्छ । हेल्च्क्रयाई गर्ने । राम्रोसँग ध्यान नदिने जस्ता कारण पनि मतपत्र बदर हुने गरेका हुन् ।



