चिकित्सा शिक्षा अध्ययनको हब बन्दै जुम्ला, नयाँ शैक्षिक शत्रका १३० विधार्थीलाई स्वागत

एमबीबीएस,बिएनएस,विपिएच लगायतका विषय अध्ययन गर्न भारतका ५ जना सहित १३० जना विद्यार्थी जुम्ला पुगेका छन्

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह,अध्ययन तथा अनुसन्धानका क्षेत्रमा मात्र नभई चिकित्सा शिक्षा अध्ययनको केन्द्र समेत बन्दै गएको छ । पश्चिम नेपालकै स्वास्थ्य भरोसा बनेको कर्णाली प्रतिष्ठान पछिल्लो वर्षमा चिकित्सा शिक्षा अध्ययनको केन्द्र बन्दै गएको हो । 

देशका सुविधा सम्पन्न ठाउँहरु छोडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनका लागि सबैको रोजाई बन्न थालेको छ । नेपालका मात्र नभई अहिले जुम्ला भारतबाट समेत आएर डाक्टरी अध्ययन गरिरहेका छन् । 

जल,जमिन,जडिबुटि,जलविद्युत,पर्यटनको प्रचुर सम्भावनाका बीच पनि जुम्ला विकट क्षेत्रका रुपमा कहलिदै आएको छ । यहाँको विकटता देख्नेहरुले नदेखेको सम्भावना लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उजागर मात्र गरेको छैन् । कुनै समय शवको पोष्टमार्टम गर्न डाक्टर कुर्ने,समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य कर्णाली अहिले विशषज्ञ डाक्टर उत्पादनको थलो समेत बनेको छ । 

कर्णाली प्रतिष्ठानको नयाँ शैक्षिक शत्र २०८२ का लागि छिमेकी राष्ट्र भारतका ५ जना सहित नेपालका पूर्वमेचीदेखी पश्चिम महाकाली सम्मका गरेर १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेका छन् । 

जुम्लामा आएका विद्यार्थी र उनिहरुका अभिभावकलाई मंगलबार स्वागतसंगै अभिमुखीकरण गरिएको छ । जसमा एमबीबीएस तर्फ ५० जना, नर्सिङ तर्फ २० जना, बीएनएस तर्फ २० जना, बीपीएच तर्फ २० जना, बीएसी नर्सिङ तर्फ २० र बी–फार्मा तर्फ २० जना गरी १३० जना विद्यार्थी जुम्ला चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबल बहादुर धामीले बताए ।

मेडिकल काउन्सीलका विभिन्न लाईसेन्स परिक्षामा शत प्रतिशत उर्तिण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बलता स्थापित गरेकै कारण सुगम क्षेत्र छाडेर डाक्टरी अध्यायन गर्न जुम्ला आउनेको लर्काे बढि उनको भनाई छ । सिमित स्रोत साधन र राज्यको उपेक्षाका बीच पनि जुम्ला देशकै रोजाई बन्नु गौरबको विषय भएको उनको भनाई छ । 

गत वर्ष विभिन्न फ्याकल्टीमा १०४ भर्ना नयाँ भर्ना भएको प्रतिष्ठानमा यस वर्ष २६ जना बढेर १३० जना  एमबीबीएस,बीएनएस,बी फार्ममा,बीएसी नर्सिङ,विपीएच लगायत विषय अध्ययन गर्न जुम्ला आईपुगेका छन् । 

कर्णाली प्रतिष्ठानलाई विश्वास गरि अध्यायनको गन्तव्य बनाउन जुम्ला पुगेका देशभरका विद्यार्थीलाई स्वागत गर्दै देशकै अब्बल जनशक्ति बनाएर पठाउने अठोट गरेको प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले बताए । 

संघिय राजधानी काठमान्डौंको सुविधा सम्पन्न विश्वविद्यालय छोडेर कर्णालीलाई गरेको विश्वासले अध्यायन तथा अनुसन्धानका लागि कर्णाली प्रतिष्ठान थप जिम्मेवारी बोधसंगै गौर्भान्वित महसुश भएको उनको भनाई छ । 

किन जुम्ला रोज्दैनन् विद्यार्थी ?

गत वर्ष चिकित्सा शिक्षा अध्ययन गर्न १०४ जना विद्यार्थी जुम्ला पुगेकोमा यस वर्ष २६ जनाले बढेर १३० जना पुगेका छन् । वर्ष बित्दै जाँदा जुम्ला प्रतिको आर्कषण बढ्दै जानुले कर्णाली प्रतिष्ठान चिकित्सा शिक्षा अध्ययनको केन्द्र बन्दै छ । 

दाङबाट एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेका अमय आर्चायले सुनेको भन्दा देखेको जुम्ला निकै फरक रहेको बताए । ‘जुम्लामा राम्रो बाटो छैन्, भौगोलिक विकटता छ, दुर्गम छ भन्ने भ्रम फैलाइएको रहेछ’,उनले भने,‘जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्र मात्र होईन, राज्यले लगानी गरेको खण्डमा भाषा, साहित्य, सभ्यता,संस्कृति, जडिबुटि, प्राकृतिक सुन्दरताको अध्ययन तथा अवलोकनको समेत केन्द्र रहेछ । सुनेको भन्दा निकै राम्रो पायौ । अब ढुक्कले अध्ययन पूरा गरेर फर्किने छौ ।’

भारतको दिल्लीबाट आफ्नी छोरी रेन्जु सिंहलाई एमबीबीएस अध्ययनका लागि जुम्ला पुराउन आएका बुबा रागबेन्द्र सिंहले जुम्ला नेपालकै सुन्दर क्षेत्र रहेको बताए । भारतका सुविधा सम्पन्न यूनिभरसिटि छोडेर जुम्ला रोज्नुमा सुन्दर र शान्त वाताबरण, गुणस्तरीय शिक्षा मुख्य कारण रहेको उनको भनाई छ । 

भारतकी रेन्जु सिंह सहित विभिन्न फयाकल्टीमा धनुषाकी सुर्यकुमारी शाह, धरानकी सुरक्षा श्रेष्ठ,कैलालीकी पूर्णिमा भट्टराई,गुल्मीकी पुष्पा भण्डारी,पोखराका विकास पोखरेल,अमरकुमार महत्तो,विकास सिंजाल,मधेशका राजकुमार मल्लमाझी,पोखराकी भूमिका गुरुङ लगायतका जिल्लाबाट १३० जना विद्र्याथी जुम्ला पुगेका छन् । 

लमजुङका विष्णुलाल श्रेष्ठले कर्णालीको विकटता भित्र लुकेका सम्भावना बुझेर मेरी छोरीलाई चिकित्सा शिक्षा पढाउन जुम्ला रोजेको बताए । यहाँ विकटता मात्र होईन सम्भावना पनि छ भन्ने कुरा सबैलाई बुझाउन जुम्ला रोजेको उनको तर्क थियो ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कर्णाली प्रतिष्ठान पिछडिएको क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने एकमात्र स्वास्थ्य संस्था रहेको बताए । सिमित स्रोतसाधनका बीच देशकै अब्बल शैक्षिक संस्थाका रुपमा रहेको प्रतिष्ठानलाइ विश्वास गरेर चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला आएका सबै विद्यार्थीको शान्तिक सुरक्षा प्रहरी प्रशासनले गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस