नेपाल आयल निगमले एलपी ग्यास सहजै पाइने दाबी गर्दै उपभोक्तालाई अनावश्यक ग्यास भण्डारण नगर्न आग्रह गरेको छ । निगमले शनिबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । साथै, ग्यास उद्योगलाई आफ्नो उद्योगबाट बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित प्रत्येक दिन १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पनि सूचनामा भनिएको छ । ‘निगम ग्यास उद्योगी तथा एलपी ग्यासका विक्रेतालाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ । निगमका अनुसार २९ फागुनदेखि आधा भरिएको सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
देशभर ग्यासको कृत्रिम अभाव हुन थालेको छ । पछिल्लो समय मध्यपूर्वको तनावले गर्दा ग्यास अभाव हुन थालेपछि स्थानीयले ग्यास ‘स्टक’ गर्न थालेका छन् भने व्यापारीले कृत्रिम अभाव देखाउँदै मौका छोपेर मूल्य बढाउन थालेका छन् । सुर्खेत, जुम्ला, कर्णालीलगायत देशभरका स्थानीय डिलरले ग्यासको अभाव देखाउन उपभोक्ताले गुनासो गरेका छन् ।
इरान र इजरायल–अमेरिका युद्धमा होमिएपछि इन्धनको अभाव हुन सक्ने भन्दै सरकारले आपूर्ति सहज बनाउन आधा भरिएको सिलिन्डर बिक्री गर्न सुरु गरिसकेको छ । जसका कारण सुर्खेतमा ग्यास लिनेको भिड नै लाग्न थालेको छ । ग्यासको अभाव हुने कुरा सुनेपछि दुईवटा खाली सिलिन्डर ग्यास भर्न लागेको वीरेन्द्रगर नगरपालिका– ३ का लक्ष्मी शर्माले बताइन् । ‘सामाजिक सञ्जालमा आएको समाचारका कारणले ग्यास भरेका हौँ,’ उनले भनिन्, ‘अरूको कुरा सुनेर र देखेर ग्यास भरेका हौँ ।’ तर, ग्यासको बजार अभाव नभएको भेरी ग्यासको सुर्खेत विक्रेता विनोद दाहाल बताउँछन् । यसैबिच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
जुम्लामा पनि उही अवस्था
हिमाली जिल्ला जुम्लामा पहिलो इन्धनका रूपमा दाउरा नै प्रयोग गरिन्थ्यो । कर्णाली राजमार्ग हुँदै ०६३ सालमा जुम्ला पनि सडक सञ्जालमा जोडिएपछि पेट्रोलियम पदार्थ र एलपी ग्यास पुग्यो । सडक सञ्जालसँगै इन्धनका रूपमा प्रयोग हुने दाउरा प्रयोग हुन छाड्यो । अहिले प्राय: सहरदेखि गाउँसम्म एलपी ग्यास नै प्रयोग गर्न थालेका छन् ।
तर, यतिवेला बाहिरबाट एलपी ग्यास कमै आउन थालेपछि जुम्लामा पनि एलपी ग्यास वितरण डिलरमा भिड लाग्ने गरेको छ । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि सहजै रूपमा ग्यास आपूर्ति हुँदै आएको जुम्लामा योपटक पाँच सय सिलिन्डर ग्यास लाइनमा बाँडिएको छ । जुम्ला बसपार्कस्थित सडकमा लाइनमा बसेर उपभोक्ताले ग्यास लिएका हुन् ।
जताततै ग्यास अभाव भइरहेकाले सीधै डिलरबाट लाइनमा वितरण गर्दा उपभोक्ता ठगिने सम्भावना कम हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । ग्यास बोकेर आएको ट्रकबाटै ग्यास वितरण भएको हो । पहिलो दिन पाँच सय सिलिन्डर बाँडिएको लगन स्टोर एन्ड सप्लायर्सका सञ्चालक पृथ्वीबहादुर शाहीले बताए । निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले आइतबार तीन सय ग्यास सिलिन्डर बाँडिने बताए । बुढा जनरल स्टोरले ग्यासको गाडी छुटाइसकेको छ । जुम्ला सदरमुकाम खलंगाका लागि मासिक दुई हजार सिलिन्डर आवश्यक पर्छ । डिलरमा प्रतिसिलिन्डर दुई हजार दुई सय रुपैयाँमा वितरण भइरहेको छ । तर, आधा भरिएको ग्यासको प्रतिसलिन्डर एक हजार दुई सय रुपैयाँ पर्नेछ । बिहानैदेखि ग्यास वितरण स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा शुक्रबार निमित्त प्रमुख जिल्ला अधिकारी रावलको अध्यक्षतामा बसेको बैठकले एलपी ग्यासको अभाव हुन नदिन अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने निर्णय गरेको थियो ।
ग्यास भण्डारण गरी जोखिम नबढाउन आग्रह
जिल्ला प्रशासन कार्यालय सिराहाले खाना पकाउने ग्यासको अतिरिक्त भण्डारण गरी जोखिम नबढाउन आग्रह गरेको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो केही दिनयता खाना पकाउने ग्यासको अतिरिक्त मूल्य लिई बिक्री–वितरण र अस्वाभाविक ढंगले भण्डार गर्नेजस्ता गुनासोका आधारमा त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् । साथै यसो गरे–गराएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
पोखराको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना
कास्कीमा ग्यास लुकाइछिपाइ भण्डारण गरी कृत्रिम अभाव खडा गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना तिराएको छ । १४.२ केजीका ४८ थान सिलिन्डर लुकाएर एउटाबाट अर्को सिलिन्डरमा ग्यास सार्दै गरेको अवस्थामा तीनवटा उपकरणसहित फेला पारेपछि जरिवाना गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
अनुगनमा क्रममा पाँच डिलरमध्ये तीन डिलरमा ग्यासको मौज्दात एवं अनुचित भण्डारण रहेको नपाइएको र एउटामा डिलरमा ७.१ केजीका तीन सय २४ थान सिलिन्डर झार्दै गरेको अवस्थामा फेला परेको थियो । साथै, अनुगमनका क्रममा ट्रेडर्समा फेला परेको सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने, कृत्रिम अभाव सिर्जना नगर्ने र आगामी दिनमा उपभोक्ता हित संरक्षणविपरीतका गतिविधि अब आउने दिनमा नगर्न अनुगमन टोलीले निर्देशन दिएको थियो । नयाँ पत्रिकाबाट



