हुम्लाका ६८६ जना किशोरीलाई एचपिभी खोप लगाइने

नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारीको लिमी क्षेत्रमा भने एचपिभी खोप उमेर समूहका किशोरी छैनन्

हुम्ला – हिमाली जिल्ला हुम्लामा १० देखि १४ वर्ष उमेर समूहका ६८६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । यही चैत १५ गतेभित्र एचपिभी खोप लगाइने भएको हो । राष्ट्रिय खोप अभियानका क्रममा छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि जिल्ला स्तरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी जिल्लाका सबै ७ वटा गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।


स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार कक्षा ६ मा अध्ययनरत तथा सोही उमेर समूहका ६८६ जना किशोरीहरूलाई खोप प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका किशोरीलाई पनि कार्यक्रममा समावेश गरिने व्यवस्था गरिएको छ । गाउँपालिकागत रूपमा खोप लगाइने किशोरीहरूको संख्या खार्पुनाथमा ९५ जना, चङ्खेलीमा ७२ जना, सर्केगार्डमा १२७ जना, नाम्खामा २७ जना, ताँजाकोटमा ९५ जना, सिमकोटमा १६५ जना र अदानचुलीमा १०५ जना रहेका छन् ।

नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारीको लिमी क्षेत्रमा भने उक्त उमेर समूहका किशोरीहरू नभएको जानकारी दिइएको छ । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा आयोजित अभिमुखीकरण कार्यक्रममा सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजकहरू तथा शिक्षा, युवा र खेलकुद शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस