जुम्ला – जुम्लाको सिँजा गाउँपालिका – ६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न ०७९ माघ महिनामा स्वीकृत प्रदान गरेको हो । बहुप्राविधिक शिक्षालय स्थापनाको स्वीकृत पाएपछि पहिलो चरणमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख बजेटको भवन निर्माण हुन थालेको हो । बहुप्राविधिक शिक्षालयका लागि २४ वटा भवन निर्माण गर्नु पर्ने हो । जसको डिपिआरमा ७८ करोड बजेट खर्च लाग्ने उल्लेख गरिएको छ ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार बहुप्राविधिक शिक्षालयका लागि विगत तीन वर्षदेखि निरन्तर पहल गरी रहेका छौँ । उनले भने, भारतीय दुताबाससँग पनि डेढ वर्षदेखि १९ करोड बजेटका लागि पहल भएको छ । भारतीय दुताबासमा आवश्यक सवै कागजातसहित प्रस्ताव गरिएका छौँ । अब सम्झौताका लागि दिन कुरेर बसेका छौँ ।
भारतीय दुताबासले १९ करोड बजेट लगानी गरेपछि गाउँपालिकाले त्यो बजेटको ५ प्रतिशत अर्थात करिव तीन करोड बजेट लगानी गर्नपर्ने शर्त राखेको छ । सोही बमोजिम पहल भई रहेको गाउँपालिका अध्यक्ष धितालले बताए । उनले भने, बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि स्थानीय बासीले निशुल्क जग्गा उपलव्ध गराएका हुन् । जग्गा पास गर्दा पालिकाले राजश्वमा बजेट लगानी गरेका छ ।
गाउँपालिकासँग न्यून बजेट हुन्छ । पालिकाले नै लगानी गरी शिक्षालय स्थापना गर्न सक्ने अवस्था छैन । जनप्रतिनिधि र कर्मचारीका हैसियतले हामीले आवश्यक कागजात पु¥याउने र तत् तत् कार्यालय तथा मन्त्रालयमा भौतिक रुपमै पुगेर समन्वय गर्दै आएका छौँ, उनले भने ।
उनले भने, ‘भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुनेछ। त्यसका लागि भाडगाउँका स्थानीयले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनेछन् । सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुनेछ ।’
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाका अनुसार दुर्गम क्षेत्रमा बहुप्राविधिक शिक्षालय निर्माण हुनु र यहाँका विद्यार्थीले प्राविधिक शिक्षा प्राप्त गर्न पाउनु सुखद पक्ष हो । उनले भने, शिक्षालय निर्माणका लागि ठुलो बजेट आवश्यकता छ । यसको डिपिआर ७८ करोड बजेटको छ । तर बार्षिक रुपमा न्यून बजेट विनियोजन हुनुले लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ ।



