जुम्ला । सडक डिभिजन जुम्लाले ठेकेदारको लापरबाहीका कारण वर्षौदेखी सडक अलपत्र पारेपछि पहिलो पटक चार वटा ठेक्का तोडेको छ । सम्झौताको मिति सकेर पनि पटक पटक म्याद थप गर्दा समेत निर्माण व्यवसायीले बेवास्ता गरेपछि सडक डिभिजनले निर्माण व्यवसायीलाई कारबाही सहित चारवटा ठेक्का तोडेको हो । ठेक्का लिई वर्षौ देखी चेनेज ओगटी काम नगरी अलपत्र पार्ने निर्माण व्यसायीहरुलाई कारवाही गरी ठेक्का अन्त्य गरिएको छ ।
डिभिजनको कार्यक्षेत्र कालिकोट, जुम्ला र मुगु जिल्लामा संचालित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक अन्तरर्गत स्तरोन्नतिको ठेक्का पाएको ठेकेदारले काम नगर्दा कारबाही सहित ठेक्का तोडिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताए ।
‘ठेक्का सम्झौता भई सम्झौता अनुसारको मितिमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा नभएको र पटक पटक म्याद थप गर्दा समेत म्याद समाप्त भईसक्दा पनि निर्माण सम्पन्न नगरेपछि बाध्य भएर ठेक्का तोडिएको छ,’ प्रमुख महताराले भने,‘निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक–पटक अनुरोध गरेका थियौ तर निर्माण व्यवसायीको चरम लापरबाही देखियो । एकातिर सडक सुधार नभएको जनगुनासो बढ्ने र अर्कोतिर निर्माण व्यवसायीले अटेरी गर्ने देखिएपछि निकास दिन ठेक्का तोडेका छौ ।’
जसमा जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ जोड्ने सडक आयोजना अन्तरर्गत सडक चौडा गर्ने, फुटपाट निर्माण गर्ने ठेक्का पाएको एमएस कश्यप निर्माण सेवा एण्ड सप्लार्यस प्रा.ली कलंकी काठमान्डौँको ठेक्का तोडिएको छ । भने नाग्म–गमगडी सडकको अन्तरर्गत चेनेज ७३ देखी ९३ प्लस सम्मको सडक स्तरोन्नतिको ठेक्का पाएको एमएस शंकरमाली निर्माण सेवा प्रा.ली काठमान्डौँ,कर्णाली राजमार्गको चेनेज १३२देखी २०५ भित्रको सडक स्तरोन्नति गर्ने, कर्णाली राजमार्गकै सेरीघाट सडक स्तरोन्नतिको दुई ठेक्का लिएकोे एमएस मान शाही निर्माण सेवा कालिकोटलाई कारबाही सहित ठेक्का तोडिएको प्रमुख महताराले जानकारी दिए ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) अनुसार ठेक्का सम्झौताको जीसीसीमा भएको व्यवस्था र निर्माण व्यवसायीहरूबाट ठेक्का सम्पन्न नहुने परिस्थिति देखिएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधारमा ठेक्का अन्त्य गर्न व्यवस्था अनुसार निर्माण व्यवसायीलाई कारबाही सहित ठेक्का तोडिएको प्रमुख महताराको भनाई छ ।
तत्काल निर्माण व्यवसायीले कार्यस्थल छोडेर जान समेत चेतावनी दिइएको छ । भुक्तानी हुन बाँकी रहेका केही कागजात भए कार्यालयमा आउने पनि अनुरोध गरेको छ । कर्णाली राजमार्गको अन्तरर्गत २ वटा,जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडकको एउटा ठेक्का र नाग्म–गमगडी सडकको एउटा गरी चार ठेक्का तोडिएको छ ।
कर्णाली समृद्धीको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग,नाग्म–गमगडी सडक लगायतका सडक आयोजनामा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि पहिलो पटक कारबाही सहित ठेक्का तोडिएको छ । अन्य सडक आयोजनाका ठेकेदारलाई दुर्त गतिमा काम गर्न समेत आग्रह गरिएको छ ।



