जुम्लाबाट तलव खाएर काठमाडौँमा सेवा

जिल्ला प्रशासन कार्यालय जुम्लामा सरुवाको कागज पुग्यो तर कर्मचारी नपुगेरै काजमा

जुम्ला – शान्ति महत जिल्ला प्रशासन कार्यालय जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी हुन् । उनको ८ मंसिरमा जिल्ला प्रशासन कार्यालय जुम्लामा सरुवा भएको हो । उनी सरुवा भएदेखि जुम्ला पुगेकी छैनन् । उनको सरुवा कागज जिल्ला प्रशासन कार्यालय जुम्लामा पुग्यो तर मान्छे पुगिनन् । जुम्ला नपुगेरै काठमाडौँबाटै काज मिलाएर सिंहदवारको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उप सचिव, प्रवक्ता तथा सुचना अधिकारी पदमा कार्यरत छन् ।


यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्री पनि काजमा काठमाडौँ नै छन् । उनी असोज महिनामा जुम्ला सरुवा भई आए पनि अहिले कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत छन् । उनीहरु दुवै जनाको जिल्ला प्रशासन कार्यालय जुम्लामा दरवन्दी भएपनि काजमा काठमाडौँ छन् । दुवै जनाको सेवा सुविधा तलव जिल्ला प्रशासन कार्यालय जुम्लाले नियमित पठाउदै आएको छ ।


अधिकृत स्तरका कर्मचारी कागजमै सीमित हुँदा कार्यालयको दैनिक कामकाज र सेवा प्रवाह प्रभावित हुने गरेको छ । दरबन्दी जुम्लामा रहे पनि प्रमुख दुई कर्मचारी काठमाडौँस्थित सिंहदरबारमा काजमा बस्दा प्रशासनिक काममा असहजता बढेको हो ।
प्रशासन स्रोतका अनुसार अधिकृत स्तरका कर्मचारी नहुँदा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापन लगायतका दैनिक प्रशासनिक काममा प्रत्यक्ष असर परेको छ । सेवाग्राहीले समयमै सेवा नपाउँदा गुनासो बढ्न थालेको छ । कार्यालयभित्र कार्यभार बाँडफाँडमा पनि समस्या देखिएको छ ।


दरबन्दी जुम्लामा छ, तर कर्मचारी यहाँ छैनन् । यसले दैनिक कामकाजमा ठुलो असर परेको छ । काजमा रहेका कर्मचारीलाई दरबन्दी भएको कार्यालयमै फर्काएर काममा खटाउनु आवश्यक छ । दुर्गम जिल्लाबाट सेवा–सुविधा लिने तर बसाइँ सुगम क्षेत्रमा राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्न स्थानीयले माग गरेका छन् ।


यस्तो प्रवृत्तिले दुर्गम क्षेत्रका कार्यालयहरू कर्मचारी अभावले कमजोर बन्ने र सेवाग्राही मारमा पर्ने अवस्था सिर्जना हुन्छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा चुनौती थपिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार दरवन्दी अनुसारका कर्मचारी नहुदा सेवा प्रवाहमा समस्या भएको छ । उनले भने, अहिलेको सरकारले शासकीय सुधारका विषयमा कडाईका साथ लिन खोजेको छ । तर दरवन्दी अनुसारका कर्मचारी नहुदा कठिन हुने गरेको छ । कर्मचारी अभावका कारण बाहिरका महत्वपूर्ण बैठक पनि छुट्ने गरेका छन् । कतिपय बाहिरका महत्वपूर्ण बैठकमा जादा अपिस भित्रको कार्यसम्पादन निकै प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस