जुम्ला । जुम्लाका अधिकांश गाउँमा मौसमी तथा बेमौसमी तरकारी तथा अन्य कृषि उपज अत्यधिक उत्पादन हुने गरेपनि बजार अभावले गाउँमै थन्कीने गरेको छ । बजारीकरणको अभावले केही उत्पादन गाउँमै थन्कीने र केही उत्पादन विक्री गर्न डोकोमा बोकेर बजारका गल्ली गल्ली चर्हानु पर्ने किसानको बाध्यता छ ।
जुम्लाको अन्न भण्डारका रुपमा चिनिने पातारासी क्षेत्रमा तरकारी देखी अन्य कृषि उपज अत्यधिक उत्पादन भएपनि बजार अभावले किसानले सास्ती पाईरहेका छन् । विहानको झिसमिसेमै डोकोमा तरकारी बोकेर बजारमा गल्ली गल्ली डुलाउनु पर्ने र सस्तो भन्दा सस्तो विक्री गरेर जानु पर्ने बाध्यता छ । जसले गर्दा किसानको श्रमको मात्र मरेको छैन् । लगानी पनि डुबेको छ ।
दातृ संस्था तथा स्थानीयतहको लगानीमा उत्पादनबृद्धिका कार्यक्रम संचालन भएपनि बजारीकरणमा चरम समस्या देखिएका बेला जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ९ उम्गाडमा कृषि उपज संकलन तथा विक्री केन्द्र स्थापना भएको छ । ग्रामिण बजारमा स्थापना भएको यो संकलन केन्द्रले बजारको सुनिश्चिता संगै आयआर्जन बृद्धि र डोकोमा बोकेर बजार डुलाउनु पर्ने वर्षौदेखीको बाध्यता अन्त्य भएको स्थानीय महिला तारा गिरी बताउँछन् ।
‘सिजन अनुसार तरकारी उत्पादन गर्दै आएपनि बजारको समस्या वर्षौदेखी भोक्दै आएका छौ’उनले भनिन,‘रेरास परियोजना र चन्दननाथ नगरपालिकाको संयुक्त लगानीमा संकलन तथा विक्री केन्द्र स्थापना भएपछि अब सहज भएको छ ।
अब हामीले एकाविहानै डोकोमा बोकेर तरकारी बोकेर बजार धाउनु पर्ने छैन् । भने कहिले काही विक्री नै नभएर रित्तै हात पनि फर्किनु पर्ने छैन् । दैनिकी संकलन केन्द्रमा राख्ने र त्यतैबाट विक्री गर्ने तयारी छ ।’
उम्गाड बजारमा संकलन तथा विक्री केन्द्र स्थापना भएपछि तारा गिरी जस्तै ग्रामिण क्षेत्रमा कृषि गर्ने सयौँ महिला किसान उत्साहित भएका छन् । उम्गाडमा स्थापना भएको कृषि उपज संकलन तथा विक्री केन्द्रको शनिवार चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले उद्घाटन गरेका छन् ।
नर्वे सरकार तथा युएनडीपीको आर्थिक सहयोगमा सन्चालित रेरास परियोजनाको सहयोग चन्दाननाथ नगरपालिकाको सहकार्य र समन्वयमा उमगाड कृषि उपज संकलन तथा बिक्री स्थापना भएको हो ।

मेयर राजुसिंह कठायतले संकलन केन्द्रलाई दिगो तथा व्यवस्थित गर्न स्थानीय सरकारले विशेष ध्यान दिने बताए । संकलन केन्द्रले गाउँमा मात्रै विक्री गर्ने नभई अपसिजनमा सुर्खेत नेपालगन्जका बजारमा तरकारी पुराउने गरी उत्पादन बृद्धिमा जुट्नु पर्ने उल्लेख गरे ।
गाउँ महिला बजारका चोक चोकमा डोकोमा तरकारी बेचेर बच्न आएका दृष्यले पनि संकलन केन्द्रको आबश्यकता महसुश गराएको र सोहीनुसार उम्गाडमा संकलन केन्द्र स्थापना भएको उनको भनाइ छ ।
उपमेयर रामदेवी खड्काले गाउँमै बजारमा स्थापना भएको संकलन केन्द्रले महिलाको आयआर्जन बृद्धि संगै कार्यबोझ पनि घटाएको बताईन् । नगर समृद्धीकमे आधार नै कृषि भएकाले उत्पादन बृद्धि, बजारीकरण तथा संकलन केन्द्र व्यवस्थापन नगरकै जिम्मेवारी रहेको उल्लेख गरिन् ।
नगरपालिकाले वार्षिक एक करोड १६ लाख बराबरको अर्गानिक दिवा खाजा खुवाउदै आएको छ । दिवा खाजा खुवाउने विद्यालयले अब अर्गानिक वस्तु खोज्न पनि भौतारिनु पर्ने नपर्ने देखिएको छ ।
कार्यक्रममा चन्दननाथ ८ र ९ का वडाध्यक्ष, कृषि कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष लगायतले संकलन केन्द्रको दिगो व्यवस्थापनमा किसान र स्थानीय सरकारनै सक्रिय हुनु पर्ने बताए ।
युएनडीपी /रेरास परियोजना जुम्ला क्लस्टर संयोजक ऋषिराज वलीले किसानको आयस्तर बृद्धि संगै बजारीकरणमा भोग्दै आएको झन्झटलाई अन्त्य गर्न संकलन केन्द्र कोेसे ढुंगा सावित हुने बताए । रेरास परियोजनाले काम गरेका पालिकाका सबै ग्रामिण बजारमा संकलन तथा विक्री केन्द्र स्थापनाको लक्ष्य राखिएको उनको भनाई छ ।
कृर्षक समुहका संयोजक तुलराज गिरीले चन्दनाथ ८ र ९ का सयौ महिलाहरु व्यवसायीक तरकारी खेतीमा होमिएकाले संकलन केन्द्रले उनीहरको आयआर्जनमा बृद्धि गर्ने बताए । हाल बनेको सानो आकारको संकलनलाई केन्द्रलाई बृहत्तर बनाउन पालिकाले सहयोग गनृ अनुरोध गरे । उम्गाड क्षेत्रमालाई कृषि उत्पादनको हब बनाउन विश्व खाद्य कार्यक्रम, किर्डाक, लिर्वड लगायतका दातृ संस्थाहरुले काम गर्दै आएका छन् । संस्था र पालिकाको सहयोगपछि किसान व्यवसायी कृषिमा होमिन समेत थालेका छन् ।



