मुगु । रारा राष्ट्रिय निकुञ्ज सुरक्षाम खटिएको नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिताको छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्
मंगलबार नेपाली सेनाको हनुमानध्वज गुल्म, हुटुले पत्रकारहरूसँगको अन्तरक्रियामा वैशाख ३० गते सञ्चालन हुने प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी दिएको हुन
हनुमानध्वज गुल्म हुटु राराका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन वैशाख १० गतेदेखि नाम दर्ता सुरु भइसकेको छ। पाँच वर्षअघि सुरु गरिएको ट्रेल रन प्रतियोगिताले कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार, स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखेको बताइएको छन
साथै प्रतियोगिताले स्थानीय समुदाय र नेपाली सेनाबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। ‘एकताको दौड, संरक्षणको बाटो’ भन्ने मूल नारासहित प्रतियोगिता रारातालवरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन गरिने छ।
बिहान ९ बजेदेखि सुरु हुने ट्रेल रनमा १८ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुष गरी ६ सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। १० देखि ६० वर्ष उमेर समूहका लागि पाँच किलोमिटर ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिनेछ।
प्रतियोगिताको प्रायोजन पिएलओ, एलिभेट इनर्जी, छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका तथा कार्की एग्रोफार्मले गरेका छन्। जिल्लाबाहिरबाट आउने खेलाडीहरूको एक रातको बसोबास तथा खानपानको व्यवस्था रारा क्षेत्रका होटेल व्यवसायीहरूले गर्नेछन्।
कार्यक्रमका अवसरमा नेपाली सेनाद्वारा फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा राष्ट्रिय लोकदोहोरी समाज मुगुले स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।
प्रतियोगिता अवधिभर प्रत्येक तीन किलोमिटरमा प्राथमिक उपचारका लागि मेडिकल टिम परिचालन गरिनेछ भने माथिल्लो मिलि क्षेत्रमा एम्बुलेन्ससहितको टोली तयारी अवस्थामा रहनेछ। साथै प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीका लागि एक लाख रुपैयाँबराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ।
प्रतियोगिताको कुल अनुमानित खर्च सात लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।



