मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा भिषण असिना पानी परेपछि स्याउ खेती र हिउदेबालीमा ठुलो पुराएको छ । शनिवार परेको असिनाले मुगुको अधिकांश क्षेत्रको स्याउ खेती, तरकारी तथा अन्य हिउँदे बालीमा क्षति पुगेको हो ।
शनिवार परेको एक घण्टा लामो असिनाले मुगुको अन्नभण्डार भनेर चिनिने छायाँनाथ रारा नगरपालिका र मुगम कार्मारोङ गाउँपालिका लगायतका क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत नै नष्ट गरेको छ । असिनाले भर्खर फूल फूलेर साना चिचिला लागेको स्याउ पुरै सखाप पारेको छ । किसानको मुख्य आम्दानी स्रोतमा रहेको स्याउमा क्षति भएपछि किसान चिन्तामा छन् ।
मुगम कार्मारोङ गाउँपालिका वडा नं ९ पापु गाउँमा भक्त बहादुर बढुवालले मुगुम क्षेत्रमा असिनाले स्याउ र हिउँदेबालीमा पुरैक्षति गरेको बताए । उनका अनुसार केहिदिन अघि सातवटा भेडा चिसोले कठ्याग्रिएर समेत मरेका छन । उनले भने,´मुगु कार्मारोङ क्षेत्र कृषिमै निर्भर छ । स्याउबाट पनि किसानले घर खर्च धान्दै आएका छन ।भने तरकारी तथा हिउँदे जौ बालीमा असिनाले क्षति गरेको छ । स्याउ झरिसकेका छन् । कृषि विमाको पहुँचनै नपुगेकाले राहत पाउने स्थिती पनि छैन् । किसान मर्कामा परेका छन् ।`
त्यस्तै छायाँनाथ नगरपालिका को ताल्चा, बाम, रोवा र शोभा लगायतका क्षेत्रमा असिनाले बढी क्षति पुर्याएको छ । स्याउ ठुलो क्षति भएपछि मुगुका किसान चिन्तित भएको र राहतको प्रतिक्षामा रहेको उनको भनाई छ ।
स्याउका बोटहरूमा फूल फुल्ने र साना चिचिला लाग्ने समयमै असिना परेपछि किसानलाई ठुलो घाटा भएको छ ।
स्याउ मात्र नभई भित्र्याउने तयारीमा रहेको हिउँदे बाली गहुँ र जौलाई पनि असिनाले भुइँमा झारिदिएर सोत्तर बनाएको छ । ´भित्र्याउनै लागेको गहुँ र जौ असिनाले सखाप पार्यो, अब वर्षभरि के खाने भन्ने चिन्ता थपिएको छ ।
यस्तै, व्यावसायिक रूपमा लगाइएको आलु, काउली, बन्दा, प्याज र लसुन जस्ता तरकारी बालीमा पनि ठूलो क्षति पुगेको छ । असिनाले तरकारीका बोटहरू भाँचेर कामै नलाग्ने बनाएको छ ।मुगुमा बर्सेनि यस्ता प्राकृतिक प्रकोपका कारण किसानले लाखौँको क्षति व्यहोर्नु परिरहेको छ ।
बाली बीमाको पहुँच नहुँदा र समयमा राहत नपाउँदा किसानहरू झन् मर्कामा परेका छन् । स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको वास्तविक विवरण संकलन गरी पीडित किसानलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग स्थानीयको छ ।
पछिल्लो समय कर्णालीमा बाली भित्र्याउने बेला असिना पानी पर्ने समस्या दोहोरिदै गएको छ । वर्षेनिक प्राकृतिक प्रकोपका घटना बढ्दै गएपनि किसानहरु सम्म कृषि बीमाको पहुँच विस्तार नहुँदा ठुलो क्षति व्यहोरेपनि किसानले राहत पाउन सकेका छैनन् ।
एकातिर बीमाको पहुँच विस्तार नहुनु र वर्षेनिक विमा नविकरण गर्न सामान्य किसानलाई मुस्किल हुने भएकाले स्थानीयतहले गरिब विपन्न किसानको कृषि बिमा गर्ने, व्यवसायीक कृषि गर्नेलाई सहुलियत ऋण अुनदान दिने नीति निर्माणमा कर्णालीका स्थानीयतहले ध्यान दिन जरुरी देखिएको छ ।



