जुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–५ अन्तर्गत पर्ने नेप्का गाउँमा गएराति आएको प्राकृतिक विपत्तिले स्थानीय बस्ती प्रभावित बनेको छ। असिनासहितको वर्षापछि खसेको पहिरोले डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ भने खेतीयोग्य जमिन र पशुचौपाया राख्ने गोठसमेत प्रभावित भएका छन्।
स्थानीयका अनुसार पहिरोले वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पुरेको छ। गोठमा रहेका भेँडाबाख्रामा पनि क्षति पुगेको बताइएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण अझै संकलन भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले घटनाबारे जानकारी सङ्कलनका लागि प्रहरी टोली प्रभावित क्षेत्रमा पठाइएको बताए। दुर्गम भूगोलका कारण नेप्का गाउँ पुग्न लामो पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार तथा विवरण संकलनमा चुनौती देखिएको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार



