मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले हरेक वर्ष जेठ ७ गते आयोजना गर्दै आएको सार्वजनिक सुनुवाइ तथा खुला सडक बहस कार्यक्रम यस वर्ष पनि सम्पन्न भएको छ ।
जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नगरपालिकाका कामको समीक्षा गर्ने उद्देश्यले गमगढी बजारस्थित खुला सडकमा कार्यक्रम आयोजना गरिएको हो । ‘समृद्ध छायाँनाथ रारा नगरपालिका, समृद्ध नगरवासी’ भन्ने नारासहित आयोजित कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन, विद्युत, रोजगार तथा सामाजिक क्षेत्रका उपलब्धिहरू सार्वजनिक गरेको थियो ।
कार्यक्रममा नगरप्रमुख भामले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही हुनुपर्ने मान्यता अनुसार हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको बताए । ‘जनताले हामीलाई दिएको जिम्मेवारीको हिसाब जनतामाझै दिनुपर्छ भन्ने सोचका साथ हरेक वर्ष सडक बहस गर्दै आएका छौँ’, नगरप्रमुख भामले भने ।
नगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरण अनुसार चार वर्षको अवधिमा ३२ स्थानमा विद्यालय पक्की भवन निर्माण गरिएको छ भने रारा क्याम्पस १२ कोठे भवन निर्माण, ३४ विद्यालयमा शौचालय निर्माण तथा विद्यालय व्यवस्थापन सुधार घेरावार कार्यक्रम सञ्चालन गरिएको बताए ।
त्यस्तै ‘एक घर एक धारा’ अभियानअन्तर्गत ४५ स्थानमा खानेपानी योजना सञ्चालन गरिएको, २६ स्थानमा कृषि योग्य तथा बाँझो जमिन सुधार गरिएको तथा कृषकलाई कृषि सामग्री र बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । पूर्वाधार विकासअन्तर्गत विभिन्न वडामा आरसीसी सडक, सिँढी, तटबन्ध, नदी नियन्त्रण, झोलुंगे पुल तथा मोटरेबल पुल निर्माण गरिएको छ ।
साथै १६ स्थानमा कोल्ड स्टोर निर्माण, खेलमैदान निर्माण, नगर बस सञ्चालन तथा श्रमदान अभियानमार्फत विभिन्न विकासका काम सम्पन्न गरिएको खुला सडक बहसमा प्रस्तुत गरिएको थियो । नगरप्रमुख रोजगार कार्यक्रममार्फत १२० जना युवालाई रोजगारी प्रदान गरिएको, कम्प्युटर तथा सीपमूलक तालिम सञ्चालन गरिएको तथा स्वरोजगारमूलक कार्यक्रम अघि बढाइएको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
खुला सडक बहसका क्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विषय उठाएका थिए । स्थानीयवासीहरूले विकास निर्माणका काम सकारात्मक रहेको उल्लेख गर्दै दुर्गम बस्तीमा सेवा विस्तार अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
स्थानीयहरुले युवालाई गाउँमै टिकाउने खालका दीर्घकालीन रोजगार कार्यक्रम आवश्यक रहेको बताए । अब युवालाई विदेशिन नपर्ने गरी गाउँमै रोजगारी सिर्जना गर्न थप योजना ल्याउनुपर्ने स्थानीयले बताए । खुला सडक बहसमा ४ वर्षमा १५ सय ७५ योजना निर्माण भएको नगरप्रमुख भामले बताए ।



